कामनाको श्रीवृद्धिमा गीत–संगीतका महारथीहरूको हात



 

गीतसंगीतको श्रीवृद्धिका लागि सम्पूर्ण जीवन अर्पित गर्ने स्रष्टाहरूको नेपालमा कुनै कमी छैन । समय सन्दर्भअनुसार ती स्रष्टाहरूको योगदानलाई कामनाले गर्दै आएको सम्मानबाट सम्भवतः कोही अपरिचित पनि छैनन् अब । कामनाले पुनः एकपटक नेपाली गीतसंगीतलाई योगदान दिने यस्तै स्रष्टाहरूको सम्मानमा समर्पित गरेको छ, तपाईंको हातमा रहेको यो कामनाको विशेष सांगीतिक अंक । कामनाले सांगीतिक स्रष्टाहरूका लागि गरेको योगदान मात्र हैन, कामनाको श्रीवृद्धि गर्नमा संगीत महारथीहरूको पनि त्यत्तिकै ठूलो हात रहेको कुरालाई कामनाले बिर्सन सत्तैmन । यसरी कामनाको श्रीवृद्धि गर्नमा प्रत्यक्षअप्रत्यक्ष रूपमा योगदान पुर्याएर जानुभएका नेपाली संगीतका यस्तै केही महारथीहरूको योगदानलाई यो सानो लेखमार्पmत् सम्झने प्रयास गरेको छु ।

अम्बर गुरुङ

त्यति बेला कामना प्रकाशनको कार्यालय म जन्मेकै घर अट्कोनारायणस्थानको छिँडीमा थियो । कर्मचारीको नाममा मसमेत जम्मा तीन जना मात्र भएकाले त्यो दिन अपराह्न १ बजेसम्म कार्यालयमा कोही आएका थिएनन् । खाना खान माथि गइरहेको बेलामा कार्यालयको फोनको घण्टी लगातार बजिरहेको थियो ।

बज्यैले खाना पस्किसक्नुभएको थियो । उठेर हिँड्न पनि मन लागेन । तैपनि जरुरी फोन होला भनी हतार–हतार खाना खाएर तल ओर्लिंदा फेरि फोनको घण्टी बज्न थालिहाल्यो । फोन संगीतकार अम्बर गुरुङको रहेछ । फोन उठाउनेबित्तिक्कै उहाँले भन्नुभयो– म अम्बर गुरुङ बोलेको प्रज्ञा प्रतिष्ठानबाट, को बोलेको पुष्कर भाइ हो? भाइको अफिस बन्द हो कि क्या हो? अघि पनि धेरै पटक गरें, फोन उठिरहेको थिएन ।’

‘म पुष्कर हुँ’ भनेपछि उहाँले फोन नउठेको बारे मेरो स्पष्टीकरण सुन्नुअघि नै फेरि आफैं बोल्नुभयो– भाइलाई फुर्सद छ भने आज ३ बजेतिर एकपल्ट एकेडेमी आउनुहोला । तपाईंलाई केही सल्लाह दिन मन लागेको छ । देशका यति ठूला र वरिष्ठ संगीतकारले आफैं टेलिफोन गरी भर्खरका सिकारु पत्रकारलाई सल्लाह दिन बोलाएको मौका छोड्ने कुरै थिएन । म त्यति बेलाका सबै अग्रज कलाकारहरूलाई अंकल भनी सम्बोधन गर्ने भएकाले उहाँलाई पनि हुन्छ अंकल, म समयमै आउँछु भनी फोन राखें ।

कता–कता, म अलि नर्भस पनि भइरहेको थिएँ । के सल्लाह दिन खोज्नुभएको होला, उहाँको सल्लाह मानेर काम गर्न सकिने पो हो कि होइन ? भन्दै म ठीक समयमै प्रज्ञा प्रतिष्ठान पुगें ।

मलाई याद भएसम्म त्यो २०४२ जेठ–असारतिर हुनुपर्छ । उहाँ बस्ने कोठा थाहा नभएकाले त्यहाँका तीन–चार जना कर्मचारीहरूलाई सोध्दै म उहाँको कोठामा पुग्दा उहाँ मलाई नै कुरेर बसिरहनुभएको रहेछ । एउटा अगाडिको कुर्सीमा बस्ने इसारा गर्दै, हातमा रहेको सुर्तीको बट्टा खोलेर पहिले सुर्ती मोल्दै मुखमा राखिसकेपछि मात्र मसँग बोल्न थाल्नुभयो ।

बोल्दा धेरै भूमिका बाँध्ने उहाँको बानी थिएन । त्यसैले ‘के भन्देखिन्’ भन्दै उहाँले कामना पत्रिकाको हरेक अंकमा एउटा नेपाली गीतको नोटेसन छाप्न सल्लाह दिनुभो । नेपाली गायक–गायिकाहरूले नोटेसनमा पटक्कै ध्यान नदिने भएकोले गीत–संगीतको स्तर बढ्न नसकिरहेकोमा उहाँ अलि चिन्तित देखिनुभएको रहेछ । नोटेसनलाई राम्ररी सुरक्षित गरेर राख्न सकियो भने राम्रा गीतहरूबाट गीतकार, संगीतकार, वाद्यवादक र गायकहरूले भविष्य पर्यन्त धेरै कुरा सिक्न सकिने उहाँको ठम्याइ रहेछ ।

यस्तो राम्रो सल्लाह नमान्ने भन्ने त कुरै आउँदैन । तर, आफैंलाई नोटेसनबारे केही ज्ञान नभएकाले हरेक अंकमा राम्रा गीतहरूको नोटेसन कसले बनाइदिन्छ भन्ने चिन्ता गर्न नपाउँदै फेरि उहाँले नै समस्याको समाधान पनि गरिदिनुभयो । केही समयका लागि पुष्कर भाइलाई म आफैं नोटेसन तयार गरेर दिन्छु । गीतचाहिँ तपाईंले नै छानेर मलाई दिनुहोला । यसले तपाईंको पत्रिका कामनालाई माथि उठाउन पनि धेरै सहयोग पुग्ने देख्छु । कलाकार मात्र होइन कि संगीतका पारखीहरूले पनि तपाईंको पत्रिका संकलन गर्न थाल्नेछन् । यति वरिष्ठ र महान् संगीतकारको यो अविश्वसनीय प्रस्ताव सुनेर म त्यस बेला निक्कै भावुक बनेको थिएँ । तत्कालै उहाँप्रति आभार व्यक्त गर्दै शुरूमा उहाँले नै संगीत दिनुभएको गीतबाट स्तम्भको शुरुआत गर्ने प्रस्ताव राख्दा उहाँ पनि खुसी हुनुभयो । हामीबीच सल्लाह भएको दुई हप्तापछि उहाँले नै संगीत दिनुभएको त्यस बेलाका सुपरहिट नेपाली चलचित्र जीवनरेखाको चर्चित गीतकार किरण खरेलले लेख्नुभएको तथा प्रसिद्ध गायक प्रेमध्वज प्रधानले गाउनुभएको हाँस्ने रहरहरू बोलको गीतसहित नोटेसन बनाएर दिनुभयो ।

यति मात्र नभई पछि उहाँले नेपाली र पश्चिमेली संगीतबारे कामनामा लामो समयसम्म प्रश्नोत्तर कार्यक्रम नै चलाइदिनुभएर कामनालाई नेपाली जनमानसमा लोकप्रिय बनाउनमा महङ्खवपूर्ण योगदान पुर्याउनुभएको थियो ।

तारादेवी

२०४२ सालतिरकै कुरा हो । स्वर साम्राज्ञी तारादेवीको एउटा अन्तर्वार्ता लिन प्रयास गरिरहेको थिएँ । अहिले जस्तो मोबाइल थिएन । घरमा फोन गरे कहिल्यै नभेटिने । रेडियो नेपालमा भेट्न जान सिंहदरबार छिर्नै नसकिने । अहिले जस्तो सूचना विभागको पासको व्यवस्था पनि थिएन । त्यो पनि मासिक पत्रिकालाई केको पास ? अहिले जस्तो त्यो बेलाको शासन व्यवस्था मिडिया मैत्री थिएन । धेरै प्रयासपछि बल्लतल्ल एकपल्ट भेट हुँदा गरिएको अनुरोधलाई उहाँले खासै
महत्व दिनुभएन ।

पहिलेको एउटा अर्को कुरो याद आयो । त्यस्तै २०३८⁄३९ सालतिरको कुरा होला । मैले पत्रकारिता शुरू गरेकै थिएन । श्रीमतीले रेडियोमा स्वरपरीक्षा दिने प्रयास गरिरहेकी थिइन् । स्वरपरीक्षाका लागि श्रीमतीलाई संगीतकार तथा गायक द्वारिकालाल जोशीले गीत सिकाइरहनुभएको थियो । उहाँ पनि रेडियो नेपालमै काम गर्नुहुने भएकाले स्वरपरीक्षा गर्ने दिनको सूचना प्रकाशित भएको पनि उहाँले नै जानकारी गराउनुभयो । यो सँगै उहाँले भन्नुभएको कुरा अहिले पनि झलझली सम्झना आइरहन्छ । उहाँ त्यस बेला भन्दै हुनुहुन्थ्यो– यसपालि राजेश्वरीको स्वरपरीक्षा एकदम गाह्रो हुने भो । स्वरपरीक्षाको निर्णायक मण्डलमा नरराज ढकाल, नातिकाजी, तारादेवीजस्ता अत्यन्त कडा निर्णायकहरू पर्नुभएको छ । अरूभन्दा पनि तारादेवी त झन् महिला गायिकाहरूका लागि अत्यन्त संवेदनशील हुनुहुन्छ । ताल र सुरमा त उहाँले कसैसँग सम्झौता नै गर्नुहुन्न ।

उहाँको कुरा सुनेपछि श्रीमतीले बेला–बेलामा टाइमिङ बिगार्ने भएकाले मैले पनि आश मारिसकेको थिएँ । तैपनि द्वारिका दाइले हामीसँग केही समय छ, म टाइमिङमा विशेष ध्यान दिएर राजेश्वरीलाई अझ कडा अभ्यास गराउँछु भन्दै एक हप्ता साँच्चिकै कडा अभ्यास गरेर स्वरपरीक्षाका लागि उहाँले नै हामीलाई रेडियो नेपालमा लिएर जानुभयो । देशभरिबाट झन्डै ३ सय २५ भन्दा बढी गायक–गायिकाहरूले स्वरपरीक्षा दिन आएका थिए । सबै एक से एक ।

केही दिनको प्रतीक्षापछि स्वरपरीक्षाको नतिजा पनि प्रकाशित भयो । जम्मा १४ जना मात्र उत्तीर्ण भएका रहेछन् । त्यसमा श्रीमतीको नाम एक नम्बरमा निस्केको थियो । यसरी शुरूमा स्वरपरीक्षामा उत्तीर्ण हुने गायकहरूलाई ‘ग’ श्रेणीको प्रमाणपत्र दिँदा रहेछन् । एक नम्बरमा नाम निक्लेकैले होला श्रीमतीलाई छिट्टै गीत रेकर्डिङका लागि रेडियो नेपालमा पनि बोलाइयो । पहिलो गीत भएकाले म आपूm पनि श्रीमतीसँगै रेडियो नेपाल गएको थिएँ ।

पहिलो गीत भजनबाटै शुरू गर्नुपर्छ भनी द्वारिका दाइकै सल्लाहअनुसार श्रीमतीले त्यस बेलाका सुप्रसिद्ध भजनगायक रत्नमानसँग युगल भजन गीत रेकर्डिङ गर्न लागिरहेकी थिइन् । गीत रेकर्डिङ हेर्न तारादेवी पनि स्टुडियोमा आउनुभएको थियो । सायद आफैंले स्वरपरीक्षा लिएकी गायिकाको पहिलो गीत सुन्न उहाँ पनि उत्सुक हुनुभएको होला । त्यही बेला मैले आदर भावले दुई–तीन पटक नमस्कार गर्दासमेत उहाँले मतिर पटक्कै ध्यान दिनुभएन । पछि द्वारिका दाइले नै उहाँसँग मेरो परिचय गराइदिनुभयो । त्यस बेला मेरो परिचय भनेको पुष्कर अहिले भर्खर गीत गाउन लागेकी राजेश्वरीका श्रीमान् हुन्, बस ।

पुरानो कुरा सम्झेपछि तारादेवी भन्ने गायिका साँच्चिकै घमण्डी हुन् कि भन्ने पनि लाग्यो । तर आपूmले अठोट गरिसकेपछि पछि नहट्ने स्वभावले मैले हिम्मत हारेको थिइनँ । गायक प्रकाश श्रेष्ठ मैले पत्रकारिता गर्नुअघिदेखि नै नजिकको मित्र हुनुहन्थ्यो । झट्ट उहाँलाई सम्झेपछि उहाँकै सहयोगमा उहाँसँगै एक दिन रेडियो नेपालमा गएर तारादेवीसँग अनौपचारिक कुराकानी गरें । प्रकाश श्रेष्ठसँग पहिले नै अन्तर्वार्ताका लागि नभनीकन प्रकाशसँगै कुरा गरेजस्तो गरी तारादेवीबाट कुरा फुत्काउने सल्लाह गरेर गएको फाइदा भयो । छोटकरीमै भए पनि तारादेवीको संगीत यात्राबारे केही कुरा आएपछि त्यसलाई अन्तर्वार्ता नभनी उहाँको व्यक्तित्वको रूपमा प्रकाशित गर्ने निर्णय गरें । पछि तस्वीर माग्दा उहाँले दिन मान्नुभएन । अहिले जस्तो गुगल सर्च गरेर त्यस बेला कसैको फोटो उपलब्ध गर्न सकिँदैनथ्यो ।

एक महिनाको प्रयासपछि उहाँको घर पत्ता लगाएर एकाबिहानै बानेश्वर पुगें । घरसम्मै आएपछि उहाँलाई पनि फर्काउन अप्ठ्यारो परेछ क्यारे । भित्र बोलाएर भेट्न आउनुको कारण सोध्नुभयो । सबै बेलिविस्तार सुनेपछि तस्वीर नराखीकन छाप्न स्वीकृति दिनुभयो । मैले मनोरञ्जनप्रधान पत्रिका भएकाले फोटोविनाको प्रस्तुति राम्रो हुँदैन भनें । फकाएर हुन्छ कि भनी ‘तपाईं त नेपालको लता मंगेसकर नै हुनुहुन्छ, पाठकले तपाईंको तस्वीर हेरेपछि नेपालको लता मंगेसकर यस्तो हुनुहुँदो रहेछ भनी दंग पर्छन्’ मात्र के भनेको थिएँ उहाँ त झन् मसँग निकै रिसाउनुभयो। म झन् नर्भस भएँ । क्षमा माग्दै बिदा हुन खोजिरहेको थिएँ, खै एकैछिनमा के भो उहाँलाई भित्तामा टाँगिएको एउटा फ्रेमसहितको तस्वीर निकालेर दिनुभयो । पछि उहाँलाई थाहै नदिई त्यही तस्वीरलाई हाम्रा कला निर्देशक अशोक मानसिंले निकै आकर्षितरूपमा बनाएको स्केच उहाँको व्यक्तित्वसँगै पत्रिकामा छाप्यौं । पत्रिका प्रकाशित भएपछि हामीले त्यो स्केच फ्रेममा राखेर उहाँलाई पत्रिकासँगै उपहारका रूपमा दियौं । सायद उहाँलाई पनि आफ्नो स्केच निकै मन परेकैले होला, पछि तारादेवीसँग महिनाको एकपल्ट घरमा भेट्ने रुटिनजस्तै बन्यो । उहाँका समकालीन कलाकारहरूसँग अन्तर्वार्ता लिनुअघि उनीहरूको पृष्ठभूमिबारे जानकारी लिने मेरो प्रमुख स्रोत नै तारा दिदी हुनुभयो । त्यस बेलाका संगीतका हस्तीहरू नारायण गोपाल, नातिकाजी, शिवशंकर, फत्तेमान, कोइलीदेवी, माणिकरत्न आदिसँग भलाकुसारी गर्नुअघि सबै प्रश्नहरू तारा दिदीकै सहयोगमा बनाएको थिएँ । तारा दिदीले बलिउडका कलाकारहरूलाई मात्र होइन, नेपाली कलाकारहरूलाई अझ खास गरी नेपाली गीत–संगीतमा लागिपर्ने कलाकारहरू सबै क्षेत्रबाट पीडित र अपहेलित भएकाले कामनाले यस क्षेत्रका कलाकारहरूलाई पनि प्राथमिकतामा राखेर कलम चलाउनुपर्छ भनी शुरूमै नभनिदिनुभएको भए, नेपाली चलचित्र उद्योगको विकासको उद्देश्य लिएर प्रकाशित भएको कामना आज गीत–संगीत क्षेत्रमा पनि त्यत्तिकै लोकप्रिय हुने थिएन ।

 

नारायण गोपाल

जुन बेला गीत सुन्ने र बुभ्m्ने भएको थिएँ, त्यस बेलादेखि नै म नारायण गोपालको प्रशंसक थिएँ । एकपटक नारायण गोपाल देख्न पाए हुन्थ्यो जस्तो लागिरहन्थ्यो । समय परिस्थितिले कामना पत्रिकाको सम्पादक बनाइसकेको थियो । यो स्थितिमा मलाई कलाकार भेट्नु त्यति गाह्रो थिएन । तर कामना प्रकाशित भएको लामो समयपछि पनि नारायण गोपालसँग भेट्ने अवसर जुटिरहेको थिएन ।

एक दिन एउटा सांगीतिक कार्यक्रममा कलाकार हरिहर शर्माले उहाँसँग परिचय गराइदिनुभयो । कामनाको सम्पादक भनेर परिचय गराएपछि उहाँले मलाई एकटकसँग हेरिरहनुभयो । सायद मेरो उमेर देखेर पनि होला । भर्खर २३–२४ वर्षको ठिटो के खाएर सम्पादक हुनु भन्ने परेको हो कि ? कार्यक्रम सकेपछि उहाँले नै बोलाउनुभयो । नाम के रे ? मैले आफ्नो नाम भनेपछि उहाँले पत्रिका चलाउन त गाह्रो छ भाइ, कहिलेसम्म चलाउने भनेर सोध्नुभयो । सायद उहाँलाई आपूmले आफैं सम्पादक भएर चलाएको बागिनाको याद आएको हुनुपर्छ ।

त्यो दिन उहाँले मेरो कार्यालयको फोन लिएर बिदा हुनुभयो । त्यस्तै एक महिनापछि होला, उहाँले आफैंले फोन गरेर घरमा बोलाउनुभयो । म उहाँले बोलाएको दिनमा बिहान आठै बजे महाराजगन्ज नारायण गोपाल निवास पुगें । म अत्यन्तै हर्षित थिएँ त्यो दिन । आफूmले मन पराएको यति ठूलो गायकको निम्तोमा उहाँकै निवासमा म उहाँकै कोठामा उहाँसँगै साक्षात्कार गरिरहेको थिएँ । नारायण गोपालले त्यस दिन मलाई बोलाउनुको उद्देश्य बागिनालाई पुनः प्रकाशित गर्न सकिने सम्भावना र त्यसको बजारबारे सल्लाह गर्नु रहेछ । त्यस बेला कामनाले निकै छोटो समयमा बजार लिइसकेको थियो ।

नारायण गोपालजस्तो हस्तीलाई सल्लाह दिने मसँग त्यति ठूलो हैसियत बनिसकेको थिएन । डराई–डराई आफ्नो बुद्धि र विवेकले भ्याएसम्म स्पष्ट कुरा राखिदिएँ । मैले सीधै भनें– कामना र बागिनाको विषयवस्तु फरक भएकाले अझै पनि बागिना कामनाजस्तो नचल्न सक्छ । सँगै उहाँले बागिनालाई कामनाको टिमबाट प्रकाशित गर्न सकिन्छ कि भन्ने आशयको कुरा पनि राख्नुभयो । त्यसमा पनि आपूm भर्खर पत्रकारितामा आएको हुँदा आफैंले धेरै कुरा सिक्न बाँकी रहेको र कामना आफ्नो पनि नयाँ प्रोजेक्ट भएको हुँदा यो स्थापित नभएसम्म अरूमा हात हाल्न नसकिने बताएपछि यो पनि आफूजस्तै स्पष्टवादी भन्ने लाग्यो कि के हो, त्यसपछि हाम्रो घेटघाट हप्तामा तीनपटक हुन थाल्यो ।

हामीबीचको सम्बन्ध झन्–झन् घनिष्ट हुँदै गइरहेको थियो । त्यस बेला केही समय कामनाको कार्यालय विशाल बजारस्थित बुबाको पसलपछाडि पनि राखेको थिएँ । नारायण दाइ प्रायः विशाल बजारको त्यो कार्यालयमा आइरहनुहुन्थ्यो । पुग्नेबित्तिकै लालमोहन मगाउन भन्नुहुन्थ्यो । उहाँलाई मधुमेह रोग भएकाले म मानिरहेको हुँदैनथें । रिस देखाएर उहाँ कतिपटक मसँग नसोधीकनै फर्किनुहुन्थ्यो । केही दिन बिराएर फेरि आउनुहुन्थ्यो । मेरो आफ्नो बुबा पनि मधुमेहको बिरामी । उहाँले गुलियो नबारेकै कारण बुबाको किड्नी बिग्रिसकेको थियो । यस्तो दुःख नारायण दाइले भोग्नु नपरोस् । उहाँ देशको अमूल्य सम्पत्ति हो जस्तो लाग्थ्यो मलाई । बुबा त अझ मदिरा पिउनुहुँदैनथ्यो, नारायण दाइ त त्यो
पनि नबार्ने । आखिर नारायण दाइको मुख नबार्ने जिद्दीले नै उहाँ बुबाभन्दा २० वर्षअघि किड्नीको समस्याले यो संसारबाट बिदा हुनुभयो । उहाँको निधन देश र करोडौं संगीतप्रेमी नेपालीका लागि अपूरणीय क्षति बन्यो ।

तर, नारायण दाइसँगको सामीप्यताले कामनालाई वाद्यवादकहरूसँग निकै नजिक बनाइदियो । उहाँ सधैँ भन्नुहुन्थ्यो– जबसम्म नेपालमा क्षमतावान् वाद्यवादकहरू हुँदैनन् तबसम्म श्रोताले स्तरीय नेपाली गीत–संगीतको रसास्वादन गर्न पाउँदैनन् । स्तरीय गीतका लागि सधैँ भारतको कलकत्ता र बम्बई गएर कहिले नेपालमा संगीतको विकास हुन्छ ? म त मरे पनि मेरो घरलाई वाद्यवादकहरूको विद्यालय बनाएर जान्छु । नारायण गोपालको यो सपनालाई संगीतप्रेमी वसन्त चौधरीले साकार पार्ने प्रयास गरिरहनुभएको छ । म उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु । नारायण दाइको यही भनाइ सुनिसकेपछि मात्र कामनाले आफ्नो पत्रिकामा वाद्यवादकहरूलाई पनि स्थान दिनुपर्छ भन्ने कुरा बुझेको थियो । वाद्यवादकहरूको महङ्खव बुझेको थियो ।

नातिकाजी–शिवशंकर

नेपाली संगीतमा नातिकाजी र शिव त्यस बेला बलिउडका प्रख्यात संगीतकार जोडीहरू शंकर–जयकिशन, लक्ष्मीकान्त–प्यारेलाल, कल्याणजी–आनन्दजीसँग तुलना गरिन्थ्यो । हुन पनि त्यस बेला नातिकाजी–शिवशंकरको जोडीले संगीतबद्ध गरेका चलचित्र, रेडियोमा रेकर्डिङ गरेका प्रायः सबै गीतहरू सुपरहिट हुन्थे । नेपाली संगीतका यी दुवै महान् हस्तीसँग रेडियो नेपालमा मेरो सँगै परिचय भएको र नजिकै बसेर लामो समय सँगै नहिँडेकाले गर्दा उहाँहरूको विषयमा धेरै बोल्ने लेख्ने कुरा छैन । तर, भेटेकैपिच्छे उहाँहरू दुवै जनाले कामनाको अवस्था बुभ्mन भने कहिल्यै बिर्सनुहुँदैनथ्यो र दुवै जनाले कामनाको प्रकाशनपछि कलाकारहरूको समाजमा ठूलो इज्जत बढेको बताउन कहिल्यै छोड्नुहुँदैनथ्यो । त्यो बेलामा बहुला तालले लागिरहेको मजस्तो मान्छेलाई यति ठूला कलाकारले बोलेका कुराले निकै ठूलो ऊर्जा प्रदान गर्दथ्यो । खास गरी शिवशंकर दाइले नेपालमा बनेको पहिलो नेपाली चललित्र आमा जसको उहाँ नायक पनि हुनुहुन्थ्यो, बारे बुभ्mनुपर्दा कहिल्यै पनि नाइनास्ती गर्नुहुँदैनथ्यो ।

कामनाको कार्यालयबाट उहाँको घर कालिमाटी नजिक भएकाले म प्रायः बाटो पर्दा उहाँको घरमा गइरहन्थें । भेटैपिच्छे उहाँले मलाई नेपाली गीत–संगीतको इतिहास, कामनामा कुनै कलाकारका बारेमा गलत कुरा छापिएका भए गल्ती औंल्याइदिनेदेखि नेपाली गीत–संगीतमा कामनाले नदेखेका विषय र लेख्न छुटिरहेका कलाकारहरूबारे जानकारी गराइदिनुभएर निकै ठूलो गुन लगाउनुभएको छ । त्यस बेला आपूmले नामै नसुनेका बटुकृष्ण ज्वाला, उस्ताद भैरवबहादुर थापा, मेलवा देवी, रत्नमान, मास्टर रत्नदास प्रकाशजस्ता संगीतका हस्तीहरूको विषयमा खोजीनीति गर्न कामनालाई शिवशंकर दाइले नै प्रोत्साहित गर्नुभएको हो ।

२०४५ सालमा आएको भूकम्पबाट पीडितलाई सहयोग गर्नका लागि कामनाले आयोजना गरेको कलाकारहरूको च्यारिटी फुटबल खेलमा नेपाली संगीत क्षेत्रका कलाकारहरूलाई संयोजन गर्न संगीतका यी दुई महारथीहरूले गरेको सहयोगलाई पनि कामनाले कहिल्यै पनि भुल्न सक्दैन ।

गोपाल योञ्जन

गोपाल योञ्जनसँग पहिलोचोटि नारायण गोपाल दाइले परिचय गराइदिनुभएको थियो । प्रकाश श्रेष्ठसँग कलकत्तामा गीत रेकर्डिङ गर्न जानुअघि प्रकाशसँगै गोपाल योञ्जनको घरमा पुगेको र त्यस बेला उहाँसँग अलि लामो गफ भएपछि भने बाक्लो भेटघाट हुन थाल्यो । तर, अरू कलाकारहरूसँग जस्तो उहाँसँग अन्तरंग कुराकानी भने कहिल्यै हुन पाएन । उहाँसँग अलि अजीवको कुराकानी हुन्थ्यो । भेटैपिच्छे उहाँले शुरूमा कामनालाई फिल्मफेयर, स्टारडस्टजस्तो रंगीन कलेबरमा प्रकाशित गर्न भनिरहनुहुन्थ्यो भने रंगीन कलेबरमा आइसकेपछि कागजको गुणस्तर सुधार्न सुझाव दिइरहनुहुन्थ्यो । उहाँसँग गीत–संगीतको कुरा हुँदा प्रायः सधैँ लोकगीतलाई प्राथमिकतामा राखेर कुरा गर्नुहुन्थ्यो, उहाँले आफ्ना गीतहरूमा नेपाली लोकसंगीतको भाकालाई प्राथमिकता दिएजस्तै । उहाँको यही कुराले कामनाले लोकगीत–संगीतलाई पनि प्राथमिकता दिन थाल्यो ।

गोपाल दाइको देशको कुनाकाप्चामा गएर लोक–संगीत संकलन गर्नेहरूलाई कभरेज दिनुपर्ने कुरालाई भने कामनाले अहिले पनि पूरा गर्न सकिरहेको छैन । नेपाली संगीतमा आर.डी. बर्मनको शैलीमा संगीत दिन खप्पिस गोपाल योञ्जनले धेरै नेपाली चलचित्रहरूलाई उत्कृष्ट संगीत दिएर जानुभएको छ । उहाँ प्रायः भनिरहनुहुन्थ्यो– पुष्कर भाइ, तपाईंले नेपालमा स्तरीय गीत रेकर्डिङ गर्ने स्टुडियोहरू बन्नुपर्छ भनी लेखिरहनुपर्यो । सधैँ विदेश धाएर साध्य हुँदैन । देशमै स्तरीय स्टुडियो बन्न थाल्यो भने नेपाली गायक–गायिका, संगीतकार र वाद्यवादकहरूले पनि धेरै काम पाउँछन् । राष्ट्रिय गीतमा पनि प्रशस्त योगदान गरिसक्नुभएका गोपाल योञ्जनले नेपाली मिडियामा राष्ट्रिय गीतको चर्चा नभएकोमा भने सधैँ गुनासो गरिरहनुहुन्थ्यो ।

२०४५ सालको भूकम्पपीडितको सहयोगार्थ कलाकारहरूको च्यारिटी फुटबल खेल्न उहाँलाई पनि अनुरोध गरेको थिएँ । उहाँले हुन्छ पनि भन्नुभएको थियो । त्यसै बेला उहाँलाई युरिक एसिडले सताएछ । खेल हुनु दुई दिनअघि उहाँले मलाई फोन गरेर घर बोलाउनुभयो । विशालनगरस्थित उहाँको घरमा पुग्दा उहाँ बाटामा भरेर राखेको तातो पानीमा खुट्टा डुबाएर बसिरहनुभएको थियो । मैले के भो गोपाल दाइ भनी सोध्न नभ्याउँदै उहाँले आपूm यो स्थितिमा रहेको कारण च्यारिटी फुटबलमा सहभागी हुन नसक्ने र भाइलाई धोका होला भनी पहिले नै खबर गर्न बोलाएको भन्नुभयो । ठूलै कार्यक्रम गर्न लागेको हुनाले त्यस बेला म निकै व्यस्त पनि थिएँ । यति कुरा दाइले फोनमै भन्नुभए पनि हुन्थ्यो नि भन्दा कामनाजस्तो लोकप्रिय पत्रिकाले कलाकारहरूलाई यत्रो इज्जत दिएर गर्न लागेको कार्यक्रममा सहभागी हुन नसकेकोले भाइसँग म आफैं क्षमा माग्न यहाँ बोलाएको भन्नुभयो । उहाँजस्ता हस्तीहरूले कामनालाई गरिँदै आएको सम्मान नै हो कामनाको ३४ वर्षीय अविरल यात्रा ।

अरुणा लामा

नेपाली संगीत क्षेत्रले बिर्सन नहुने अर्की संगीत हस्ती हुन् गायिका अरूणा लामा । प्रवासमा बसेर पनि निरन्तररूपमा कालजयी गीतहरू दिई निधन अघिसम्म नेपाली संगीतको श्रीवृद्धिमा लागिपर्नुभएकी यी गायिकासँग कामनाको पनि गहिरो सम्बन्ध थियो । लामो समय दार्जीलिङमै बस्ने र यदाकदा मात्र काठमाडौं आउनुहुने हुँदा बाक्लो भेटघाट नहुने भए पनि काठमाडौं आउनुहुँदा भने प्रायः सम्झेर फोन गरिरहनुहुन्थ्यो । धेरैजसो भाइलाई छुर्पी ल्याइदिएको छु भनेर बोलाउनु पनि हुन्थ्यो ।

पहिले उहाँ आउनुहुँदा प्रायः गीतकार ईश्वर बल्लभ दाइको थापाथली डेरामा बोलाउनुहुन्थ्यो । त्यहीँ हामीले लामो कुराकानी गथ्र्यौं । एकपटक कामना साँझ हुँदा दिदीलाई किन नसम्झेको, बोलाएको भए आइहाल्थें नि भनी गुनासो गर्नुभएको थियो । अरूणा दिदीले कामना त्यस बेला दार्जीलिङ, सिक्किम र कालिम्पोङमा समेत प्रख्यात भएको र त्यहाँ पनि थुप्रै पाठकहरू भएकाले उताका कलाकारहरूलाई समेत समेट्न सुझाव दिइरहनुहुन्थ्यो ।

अरूणा दिदीकै सुझावअनुसार कामनाले त्यस बेला संगीतकार शान्ति ठटालदेखि डेजी बराइलीसम्मका कलाकारहरूलाई समेटेर थुपै्र अन्तर्वार्ता, लेखहरू प्रकाशित गरेको थियो । अरूणा दिदीले उपलब्ध गराउनुभएका टेलिफोनमार्पmत कामनाले त्यस बेला नेपाली चलचित्रमा योगदान पुर्याउने निर्देशक प्रताप सुब्बादेखि विश्व हिङमाङसम्मलाई खोजेर उनीहरूका अन्तर्वार्ता प्रकाशित गरेको थियो ।

सधैँ शान्त, कसैको आलोचना नगर्ने, शिष्ट स्वभावकी धनी अरूणा दिदीले मसँग सधैँ त्यो पनि घुमाउरो पाराले रेडियो नेपालले प्रवासी कलाकारहरूलाई कहिल्यै पनि प्राथमिकता नदिएको गुनासो गरिरहनुहुन्थ्यो । आफ्ना पनि कैयौं राम्रा गीतहरू रेडियोले नबजाउने, कार्टेज नै हरायो भनिदिने भएकाले यस विषयमा कामनाले कुरा उठाउनुपर्ने सुझाव दिइरहनुहुन्थ्यो । उहाँलाई त्यस बेला रेडियो नेपालमा हर्ताकर्ता भएर बसेकी गायिका तारादेवीप्रति पनि केही शंका नभएको भने होइन । अरूणा दिदीको यो पीडा २०४३ सालको असार महिनामा कामनालाई दिएको अन्तर्वार्तामा रेडियो नेपालको प्रशासनिक संगठन नै परिवर्तन हुनुपर्छ भन्ने कुरालाई जोड दिएबाट पनि अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्