पिसाबबाट हाइड्रोजन इन्धन बनाउने प्रविधि



वासिङ्गटन, (एजेन्सी)

विश्वमा कुनै पनि चिज बेकार छैन। शरीरमा बढी भएको पानी र खनिज पदार्थ निस्कासन हुने माध्यम पिसाबको प्रयोग यसअघि पनि विभिन्न प्रयोजनमा भएको देखिन्छ। हालै मात्र वैज्ञानिकहरूको ताजा खोजले पिसाबको अद्भूत उपयोग हुन सक्ने प्रमाणित गरेको छ।

ती वैज्ञानिकहरूले एल्युमिनियम नेनो पाउडरको विकास गरेका छन्, जसले पिसाबलाई तत्काल हाइड्रोजनमा परिणत गर्छ र त्यसलाई इन्धनका रूपमा ब्याट्रीलाई ऊर्जा दिन र स्वच्छ ऊर्जाका रूपमा प्रयोग गर्न सकिनेछ।

अमेरिकाको सैन्य अनुसन्धान प्रयोगशाला (एआरएल) का वैज्ञानिकहरूले यसअघि उनीहरूले विकास गरेको नेनो गेल्वेनिक एल्युमिनियम नेनो पाउडर पानीको सम्पर्कमा आएपछि शुद्ध हाइड्रोजन उत्पादन गर्न सक्ने घोषणा गरेका थिए।

सोधकर्ताहरूले पानीको समिश्रण भएका कुनै पनि तरल पदार्थमा उक्त पाउडर मिलाएर रसायनिक क्रिया गरेका थिए। उनीहरूले उक्त पाउडरमा पिसाब मिलाउँदा सामान्य पानीसँगको रसायनिक प्रतिक्रियामा भन्दा धेरै हाइड्रोजन उत्सर्जन गरेको पाए।

एआरएल शोधकर्ता क्रिस्टोफर डार्लिङले भने– ‘सैन्य वैज्ञानिकका रूपमा हाम्रो कार्य त्यसतो सामग्री र प्रविधिको विकास गर्नु हो जसले सैनिकलाई सीधा फाइदा पुगोस् र उनीहरूको क्षमता बढोस्। हामीले त्यस्तो प्रविधिको विकास गर्यौं जसले तत्काल पानीबाट हाइड्रोजन उत्पादन गर्न सक्छ।

ब्रह्माण्डमा प्रचुर मात्रामा पाउने हाइड्रोजनलाई इन्धनबाट चल्ने ब्याट्रीलाई ऊर्जा दिन र भविष्यमा सैनिकलाई ऊर्जा उपलब्ध गराउने क्षमताका रूपमा उपयोग गर्न सकिनेछ। शोधकर्ताहरूका अनुसार इन्धन सेलले बिनाप्रदूषण बिजुली उत्पादन गर्छ। इन्धन सेल ज्वलनशील इन्धनका तुलनामा ऊर्जाले भरिपूर्ण हुन्छ। त्यसलाई ऊर्जा दिनमा प्रयोग गरिने हाइड्रोजन विभिन्न स्रोतबाट प्राप्त हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्