क्याटालोनियाको स्वतन्त्रता घोषणा कार्यान्वयन हुँदैनः प्रम रेजोय



 

मेड्रिड, (एजेन्सी)
स्पेनका प्रधानमन्त्री मारियानो रेजोयले क्याटालोनियाले गर्ने स्वतन्त्रताको घोषणा कार्यान्वयन हुन नदिने बताउँदै उक्त क्षेत्रको स्वायत्तताको अधिकार निलम्बन गर्न सक्ने सम्भावनालाई आफूले अस्वीकार नगर्ने चेतावनी दिएका छन्।

एल पाइस अखबारलाई दिएको एक अन्तरवार्तामा रेजोयले उक्त संकट समाधानका लागि कुनै प्रकारको मध्यस्थतालाई अस्वीकार गरे। शनिबार राजधानी मेड्रिडमा स्पेनको एकताका लागि हजारौं नागरिकले र्याली निकालेका थिए। गत हप्ताको विवादास्पद जनमत संग्रहलाई लिएर बार्सिलानामा पनि एकताका पक्षधरहरूले र्याली निकालेका थिए।

स्पेनको समृद्ध उत्तरपूर्वी क्षेत्रमा भएको उक्त जनमत संग्रहको अन्तिम नतिजाले २३ लाख जनतामा ९० प्रतिशतले स्वतन्त्रता पक्षमा मतदान गरेको देखाएको छ। उक्त चुनावमा ४३ प्रतिशत मत खसेको थियो।
मतदानका क्रममा धेरै अनियमितता भएको उजुरी परेको थियो भने कयौं मतपेटिका स्पेनिस प्रहरीले कब्जामा लिएको थियो। स्पेनको अदालतको आदेशअनुसार मतदान प्रक्रिया रोक्ने प्रयासमा मतदातालाई तितरवितर पार्न बल प्रयोग हुँदा प्रहरीसँगको मुठभेदमा करिब ९ सय नागरिक घाइते भएका थिए। ती घटनामा ३३ प्रहरी पनि घाइते भएका थिए। एल पाइसलाई दिएको अन्तरवार्तामा रेजोयले भने– ‘स्वतन्त्रताको कुनै पनि घोषणा निरर्थक पार्न सरकार कतिबद्ध छ।’

कुनै पनि स्वायत्त क्षेत्रमाथि हस्तक्षेप गर्न सक्ने राष्ट्रिय संसद्लाई संविधानले दिएको अधिकार प्रयोग गर्ने तयारीका बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भने– ‘कानुनसम्मत कुनै पनि कदम चाल्ने विषयलाई म अस्वीकार गर्दिनँ।’

क्याटोलोनिया संकट अन्त्य नभएसम्म जनमत संग्रहअगाडि त्यस क्षेत्रमा थप प्रहरी तैनाथ गर्ने आफ्नो योजना रहेको प्रधानमन्त्रीले जानकारी दिए। राजनीतिक संकट गहिरिएकाले आफूले मध्यावधि चुनाव आह्वान नगर्ने पनि उनले थपे।

क्याटालान राष्ट्रपति काल्र्स पैजमोन्टले मंगलबार क्षेत्रीय संसद्लाई सम्बोधन गर्ने अनुमान गरिएको छ। यसअघि स्पेनको सम्वैधानिक अदालतले सोमबार बस्ने भनिएको क्याटालन संसद् सत्रमाथि रोक लगाएको थियो। संसद्को आगामी बैठकले सर्वसम्मतबाट स्वतन्त्र घोषणा गर्ने अनुमान गरिएको छ। क्याटालान शहर बार्सिलोनामा भएको प्रदर्शनमा आयोजकहरूले राजनीतिक वार्ताका आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्