सशस्त्र प्रहरी वरिष्ठ अधिकृत सम्मेलन शुरू



????????????????????????????????????

 

नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री जनार्दन शर्माले ‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन २०७४’ को सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उद्घाटन गर्नुभयो।

दुई दिवसीय उक्त सम्मेलनमा सशस्त्र प्रहरी बल नेपालका देशभर रहेका बाहिनी तथा प्रशिक्षण केन्द्रका प्रमुखलगायत प्रधान कार्यालयका वरिष्ठ अधिकृत सहभागी रहेका छन्।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री शर्माले सशस्त्र प्रहरी बल नेपालले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यदेखि विपद् व्यवस्थापन, सीमा तथा औद्योगिक क्षेत्रको सुरक्षालगायत राज्यले सुम्पेको कार्यादेश र उद्देश्यमा आधारित रही जनता र राष्ट्रप्रति उत्तरदायी भएर महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

संघीय संरचनाबमोजिम मुलुक अगाडि बढिरहेको चर्चा गर्नुहुँदै गृहमन्त्री शर्माले सशस्त्र प्रहरी बल नेपालले आगामी दिनमा समेत आफ्नो दायित्व निर्वाहमा उत्कृष्ट योगदान पुर्याउने उल्लेख गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा सुरक्षा चुनौती र सशस्त्र प्रहरी बल नेपालको भूमिका, संगठनमा सञ्चालित तालिमलगायतका विविध विषयमा विस्तृत अन्तरक्रिया एवं छलफल गरी ठोस कार्ययोजनाका साथ तार्किक र समयसापेक्ष निष्कर्षमा पुग्न सम्मेलन सफल रहने उल्लेख गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाहीले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै संगठनको काम कारबाहीलाई कसरी अझै परिणामुखी र प्रभावकारी बनाउने तथा परिवर्तित समयअनुसारको तालिम रणनीति, सुरक्षा चुनौती एवं संघीयतामा सशस्त्र प्रहरी बल नेपालको भूमिकालगायतका विविध विषयमा नीति निर्माण एवं कार्यान्वयनका लागि सम्मेलन उपयोगी रहने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्