राप्तीको बगरमा भेटियो ग्यास



 

नरेन्द्र केसी, दाङ
दाङको देउखुरीस्थित राप्ती नदीको बगरमा ‘पेट्रोलियम ग्यास’ निस्केको छ। केही दिनदेखि ग्यास निस्केको स्थानीयले बताएपछि खानी तथा भू–गर्भ विभागले स्थगलत अध्ययन गरेको छ।

अवलोलनपछि बगरमा ग्यास निस्केको सत्य भए पनि मिथेन या पेट्रोलियम कुन ग्यास हो थप अध्ययनपछि मात्र थाहा हुने विभागका उपमहानिर्देशक सुधीर रजौरेले जानकारी दिनुभयो।

‘स्थलगत रूपमा अवलोकन गरेका छौं, राप्ती नदीको बगरमा जमिनमुनिबाट ग्यास निस्किएको सत्य रहेछ, यो मिथेन हो कि पेट्रोलियम ग्यास हो, अध्ययनपछि मात्रै भन्न सकिन्छ’, उहाँले भन्नुभयो– ‘काठमाडौंमा निस्किएको जस्तै हो भने मिथेन, मिथेन होइन भने दैलेखमा निस्किएको जस्तै पेट्रोलियम ग्यास हुन सक्छ।’

खानी तथा भू–गर्भ विभागबाट मंसिर महिनामा अध्ययनका लागि थप टोली पठाउने उहाँले बताउनुभयो। ‘नेपालको तराई र चुरे पर्वतको शृंखलामा पेट्रोलियम ग्यास पाइने क्षेत्रको रूपमा चिनिन्छ, यस्तै भौगर्भिक इतिहास भएको भारतको आसाम र पाकिस्तानको पतुवारमा ग्यास उत्पादन भइरहेको छ’, उहाँले भन्नुभयो– ‘राप्ती नदीको किनारबाट जुन ग्यास निस्किएको छ, अनुमान गर्दा पेट्रोलियम ग्यास हुन सक्छ, कति मात्रामा ग्यास छ यसको विस्तृत अध्ययनबाट मात्रै पत्ता लगाउन सकिन्छ।’

ग्यास जमिनमुनि दरार परेर निस्किएको विभागले जनाएको छ। तर, यसको केन्द्र कहाँ छ भन्ने बारेमा ड्रिल गरेर अध्ययनबाट बताउने सकिने उहाँले जानकारी दिनुभयो। ग्यास उत्खनन गर्न ठूलो लगानी चाहिने र त्यो लगानी ग्यासको मात्राको आधारमा जम्मा गर्न सकिने उहाँले बताउनुभयो।

राप्ती नदीको बगरमा ग्यास निस्किएर आगो बल्ने गरेको असोजको पहिलो साता स्थानीयले फेला पारेका थिए। गढवा गाउँपालिका–७ झारबैरा, लमही नगरपालिका वडा नं ५ कोलही र लमही–६ लंगडीको बीच भागमा पर्ने राप्ती नदीको बगरबाट ग्यास निस्कने गरेको छ।

स्थानीय हरिबहादुर डाँगीले भन्नुभयो– ‘हाम्रो गाउँको बगरमा ग्यास रहेको कुरा थाहा भयो तर, कति मात्रामा छ, यो कुन ग्यास हो, सरकारले यसको अध्ययन गर्नुपर्छ। ग्यास निस्किएको थाहा पाएर सबै खुसी त छौं तर यसले केही हानिनोक्सानी त गर्ने होइन भन्नेमा हामी चिन्तित छौं।’
भू–गर्भविद्हरूले जहाँ कमजोर भाग हुन्छ, त्यहाँबाट ग्यास निस्कने गरेको बताएका छन्। विभागका महानिर्देशक रजौरेले भन्नुभयो– ‘झारवैरा गाउँको किनारमा थोरै मात्रामा ग्यास निस्किएको देखिएको छ।’

प्रतिक्रिया दिनुहोस्