कर्मचारीद्वारा भत्ता रकम नपाएपछि प्रदर्शन



 

सञ्जय कार्की, रौतहट
तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भइसक्दा समेत रौतहटका ३ सय ३० जना कर्मचारीले भत्ता रकम पाउनबाट वञ्चित भएका छन्। भत्ता रकमको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले आइतबार प्रदर्शन गरेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन गराउन स्वास्थ्यसंस्था, विद्यालय, नगरपालिका र गाउँपालिकाका कर्मचारी गरी २ हजार ५ सय ८५ जना कर्मचारी खटाए पनि उनीहरूमध्ये ३ सय ३० जना कर्मचारीले अझै भत्ता नपाएको भन्दै विरोध गरेका छन्। काममा खटाएवापत्को रकम लिन कर्मचारी दिनदिनै सदरमुकाम गौर धाउँदा भने कार्यालयको कामसमेत प्रभावित भएको छ।

रौतहटका विभिन्न स्थानीय तहको २ सय ७७ मतदानस्थलको ४ सय ३४ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन भदौ ३१, असोज १ र २ गते खटाइएका कर्मचारीमध्ये ३ सय ३० जनाले भत्ता नपाएको गुनासो गरेका छन्। निर्वाचनको समयमा नाम सिफारिस भएका कर्मचारी अनुपस्थित भएपछि उनीहरूको बदलामा खटाइएका कर्मचारीले भत्ता नपाएका हुन्।

परिचयपत्र वितरण गर्दा आर्थिक नियमबाट सहायक मतदान अधिकृतलाई दैनिक १ हजार ६००, सहायक कर्मचारीलाई १ हजार ३०० र कार्यालय सहयोगीलाई १ हजार यस्तै मतदान केन्द्रमा खटिने मतदान अधिकृतले १४ हजारदेखि १८ हजारसम्म, सहायक मतदान अधिकृतले १२ हजारदेखि १४ हजारसम्म, कर्मचारीले ९ हजारदेखि १२ हजार र सहयोगीले ५ हजारदेखि ९ हजारसम्म दूरीको हिसाबले पाउनुपर्ने नियमविपरीत बोल्न नसक्ने अधिकांश कर्मचारीलाई कम रकम दिएको खुल्न आएको छ।

निर्वाचनमा खटाइएका कर्मचारीलाई तत्कालै भत्ता रकम उपलब्ध गराउनुपर्ने भए पनि भत्ता नदिइकनै खटाइएको पाइएको छ। निर्वाचनमा खटिँदा भत्ता रकमबाट नै उनीहरूको खाना र बासको प्रबन्ध गर्नुपर्ने हुन्छ। गढीमाई नगरपालिकाको धरमपुरस्थित मठ मतदान केन्द्रमा खटेका कर्मचारी बुद्धिराज नेपालीले अझैसम्म भत्ता नपाएको दुखेसो गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्