पुष्करलाल श्रेष्ठ

चेक गणतन्त्र भ्रमण गर्नुअघि अस्ट्रिया, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, बेलायत, इटली, डेनमार्क, स्विडेन, नर्वेजस्ता युरोपका थुप्रै विकसित मुलुक घुमिसकेको थिएँ। यी देशका विकासबारे कुरा गर्दा चेक गणतन्त्र घुमिसकेका विदेशी साथीहरूले यो मुलुकको भ्रमण गरेको हो कि नाइँ भनी सोधिरहने भएकाले यसपटकको युरोप भ्रमणमा यसलाई पहिलो प्राथमिकतामा राखेर नेपालबाट हिँडेको थिएँ।

तीन महिना युरोप भ्रमणको योजना बनाएर भियना पुगेको भोलिपल्टै युरोप भ्रमणको तालिका बनाउने क्रममा शुरूमै चेक गणतन्त्रको नाम अगाडि राखेको थिएँ। तर, युरोप भ्रमणको सबै आतिथ्यता मिलाउने भाइ प्रभु श्रेष्ठको कार्यालय बिदासँग भ्रमण तालिकाको संयोजन गर्नुपर्ने भएकाले स्लोभाकिया र स्विजरल्यान्डपछि मात्र चेक गणतन्त्र जाने संयोग मिल्यो।

९ मे २०१७ मा स्विजरल्यान्ड भ्रमण सकेर फर्केलगत्तै केही दिन भियनामा आराम गरी १६ मेका लागि चेक गणतन्त्र जाने ट्रेनको टिकट बुक गर्यौं। अस्ट्रियाको राजधानी भियनाबाट मात्र ४ घण्टा ट्रेनमा हिँडेपछि चेक गणतन्त्रको राजधानी प्राग पुग्न सकिन्छ। यसभन्दा अघि चार पटक भियना पुगेर पनि विभिन्न कारणले चेक रिपब्लिक जाने अवसर जुट्न सकिरहेको थिएन।

पश्चिममा जर्मनी, दक्षिणमा अस्ट्रिया, पूर्वमा स्लोभाकिया र उत्तर–पूर्वमा पोल्यान्डद्वारा च्यापिएको मध्ययुरोपको नेपालजस्तो भूपरिवेष्टित देश चेक गणतन्त्र कुनै बेला विश्वकै १० विकसित देशभित्र पर्छ भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्छ। इतिहास पढ्दा सन् १९१८ सम्म पनि चेक गणतन्त्र विश्वका १० विकसित देशभित्रै पर्दो रहेछ।

पहिलो विश्वयुद्धमा १ लाख ५० हजार सेना गुमाएको चेक गणतन्त्र लामो समयसम्म जर्मनीको अधिनमा नपरेको भए त्यहाँको विकास हेर्दा अहिले पनि मै हुँ भन्ने विकसित देशहरूले यसको मुकाबिला गर्न नसक्ने देखिन्छ। यो मुलुकलाई दोस्रो विश्वयुद्धपछि अमेरिका र रुसको संयुक्त प्रयासमा जर्मनीबाट मुक्त गरेको थियो।

भियनाबाट बिहान ठीक ८ बजे हिँडेको हाम्रो ट्रेन चेक गणतन्त्रको राजधानी प्राग स्टेसनमा रोकिँदा डट १२ बजेको थियो। युरोप र जापानमा गुड्ने ट्रेनको समय हेरेर हामीले निश्चिन्त भई आफ्नो घडीमा नमिलेको समय मिलाउन सक्छौं। यहाँको ट्रेनमा सफर गर्दा नेपालमा चल्ने सार्वजनिक यातायातमा यस्तो समयको अनुशासन कहिले देख्न पाइने होला भन्ने मनमा लागिरहन्छ ?

ट्रेनबाट ओर्लेर श्रीमतीसँग कुरा गर्दै यसो के अघि बढेको थिएँ, पछाडिबाट एउटी महिलाले ‘दाइ…दाइ… ⁄ तपाईंहरू नेपालबाट आउनुभएको हो ?’ भनी सोध्दा एकछिन् त अलमल नै परियो। यस्तो देशमा पनि कहाँबाट नेपाली स्वर आएको होला भनी पछाडि फर्केर हेर्दा एउटी अपरिचित नेपाली चेली रहिछन्। हामी श्रीमान्–श्रीमती नेवारी भाषामा कुरा गर्दै हिँडिरहेकाले नेपाली भएको अनुमान लगाउँदै बोल्न हतार गरेकी रहिछन्।

उनले भारतबाट आएका केही मित्रलाई लिन रेल स्टेसनमा आएको बताइन्। हामीले पनि आफ्नो परिचय दियौं। कुरा गर्दै जाँदा हामीसँगै भ्रमणमा रहेका भाइ प्रभुका नजिकका मित्र रुद्र चुडालसँग ती महिलाको राम्रो सम्पर्क रहेछ। एकछिन् रमाइलो कुरा गरेर हामी आफ्नो होटलतिर लाग्यौं। विदेशमा जोसुकै नेपाली भेटे पनि चिन्नै पर्ने हुँदो रहेनछ। त्यसै आत्मीयता भइहाल्ने। शरणार्थीको रूपमा आएका थुप्रै नेपालीलाई युरोपका विभिन्न शहरमा भेटे पनि उनीचाहिँ अध्ययनका लागि केही वर्षअघि मात्र यहाँ आएकी रहिछन्। भन्दै थिइन्– ‘राम्रो देशमा घुम्न आउनुभएको रहेछ।’

भर्खरै चुनाव जित्नुभएका राजधानी काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई चुनावपछि यस्तै विकसित देशहरूमा घुम्दै फुर्सद छैन। दशैंको मुखमा राजधानीबासीलाई फोहोरको पहाड उपहार दिएर उहाँ स्पेनको म्याड्रिड शहरमा घुम्न व्यस्त हुनुहुन्थ्यो। धन्न, विगतमा जस्तो दशैंमा खाएको मासु र जमेको फोहोर मिलेर राजधानीमा महामारी रोग फैलिन पाएन। व्यवस्थित, सफा र सुन्दर राजधानी प्राग हेरेपछि मेयर शाक्यले पनि प्रागका मेयर पाभेल बेनसँग क्लास लिएर धेरै कुराहरू सिक्न सक्नुहुन्छ जस्तो लाग्यो।

जसको मुखबाट पनि राम्रो देश भन्ने सुनिसकेपछि होटल पुगेर लामो थकाइ मेट्न अधैर्यताले गर्दा सकिनँ। हतार–हतार हातमुख धोएर फ्रेस हुँदै बाहिर निस्किहाल्यौं। हामीभन्दा पहिले भाइ प्रभुले यो मुलुकको भ्रमण गरिसकेकाले हाम्रो उत्सकुता देखेर होला शुरुमै राम्रो ठाउँमा लिएर गए। अनुभवी भएकाले उनले प्रागको मुटुमै पर्ने होटल बुक गरेका रहेछन्। होटलबाट १५ मिनेट हिँड्नेबित्तिकै प्रागको सबैभन्दा बढी पर्यटक ओइरिने चाल्र्स ब्रिजमा पुग्दा हामी बूढाबूढी दुवैको मुखबाट एकैचोटि निस्केको एउटै शब्द थियो– वाह ⁄ प्राग पुलमा पाइला राख्ने ठाउँ थिएन। यत्रो मानिस कहाँबाट मात्र आएका होलान् ? छक्कै पर्ने। बेलुकी होटल फर्कंदा मात्र थाहा पाइयो, प्राग शहरको गाइड बुकमा स्पष्ट लेखिएको रहेछ– ‘यो ठाउँमा आरामले घुम्ने भए मर्निङ वाकमा हिँड्नु राम्रो हुन्छ, अन्यथा दिउँसोको भीडमा तपाईं हराउन पनि सक्नुहुन्छ।’ नभन्दै हामीलाई एउटा तस्वीर खिच्न पनि पर्यटकहरूको भीडले कम्तीमा दुई⁄चार मिनेट कुरिरहनुपर्ने।

त्यहाँको मनै लोभ्याउने सुन्दर दृश्यहरू देखेर पर्यटकहरू उफ्री–उफ्री नाचिरहेका थिए। कस्तो अचम्मको भू–बनोट होला। हेरेको हेर्यै हुने रहेछ। पुलको तल विशाल नदी। नदीमा ठूला–ठूला जहाजहरू आ–आफ्नो गन्तव्यमा हिँडिरहेका। वरिपरि ठूला–ठूला अत्यन्त आकर्षक चर्च र क्यासलहरू। सन् १३४८ मा बनेको मध्ययुरोपकै सबैभन्दा पहिलो चाल्र्स विश्वविद्यालय, राष्ट्रपति भवन, पुरानो सुनौलो राजदरबार अनि विश्वसम्पदा सूचीमा अंकित गिनिज बुक अफ द वल्र्ड रेकर्डअनुसार संसारकै सबैभन्दा ठूलो र सुन्दर प्राग क्यासल पनि यही पुलमा उभिएर धित नमरुञ्जेल हेर्न सकिन्छ।

राजधानी प्रागमा देखिएको सबैभन्दा ठूलो विशेषता भनेको आधा दिन जति हिँड्न सक्ने हो भने प्रागभित्र हेर्नुपर्ने प्रायः सबै महत्त्वपूर्ण ठाउँहरू भ्याउन सकिने रहेछ। थाहा नहुने पर्यटकहरू यति कुरा हेर्न महँगो मूल्य तिरेर सिटी टुर गर्दा रहेछन्। काठमाडौं, पाटन र भक्तपुरको दरबार स्क्वायर घुमेजस्तै चाल्र्स ब्रिजबाटै प्रागको पुरानो दरबार स्क्वायर, संसारभरिकै समय हेर्न सकिने दाबी गरिएको एस्ट्रोनोमिकल घडी, पुरानो टाउन हल, प्राग क्यासल, गोल्डेन रोड, चाल्र्स विश्वविद्यालय अनि धरै पुराना सुन्दर चर्चहरू आदि थुप्रै कुराहरू हेर्न सकिने रहेछ।

पर्यटकहरूको सुविधाका लागि यस क्षेत्रभित्र प्यालेस गार्डेनजस्ता थुप्रै सुन्दर बगैंचामा आराम गर्न सकिने भएकाले खासै थकानको पनि महसुस नहुने रहेछ। फेरि यी ठाउँहरूको दृश्यावलोकन गर्दागर्दै थाकेमा बाटोमा आराम गरेर खास गरी बियर पिउने थुप्रै रेस्टुरेन्ट छन्। जनघनत्वको हिसाबमा संसारमै सबैभन्दा बढी बियर पिउने यो देशको मीठो बियरको स्वाद नलिइकन फर्कने सायदै कोही पर्यटक होलान्। यहाँको चिया–कफी पनि अत्यन्त स्वादिलो लाग्यो। बियर पारखीहरूका लागि स्वर्ग कहलिएको यो मुलकमा हरेक वर्षको मे महिनामा १७ दिनसम्म लगातार बियर खाएर मनाउने संसारकै सबैभन्दा ठूलो बियर पर्व नै चल्ने रहेछ। सन् ९९३ मै बियर उत्पादन गरिसकेको संसारकै पुरानो बियर उत्पादन गर्ने यस देशको टोल–टोलमा महिनैपिच्छे चलिरहने स–साना बियर जात्राहरू त गनेर साध्यै नहुने।

एस्ट्रोनोमिकल घडी । यो घडी हेर्न पनि दैनिक लाखौं पर्यटक ओइरिने गर्छन्

चेक गणतन्त्रको सबैभन्दा आकर्षण केन्द्र कोभिस, नेदर डिस्ट्रिक्ट, पिलग्रिमेस, चर्च अफ सेन्टजोन अफ नेपोमुक, चेल्की, क्रमलब, मध्ययुरोपको सबैभन्दा ठूलो वाटर पार्क सेस्लिट्स, लेट्निस, भ्यालिस एरियालगायत यहाँका सुन्दर आर्किटेकले बनेका पुराना चर्च, महल, दरबार, क्यासलहरू हेरेपछि पो बल्ल थाहा पाइयो, यो मुलुकलाई त्यत्तिकै युरोपको मुटु भनेको रहेनछ। चेक गणतन्त्रभरि २ हजारभन्दा बढी क्यासल रहेका छन्। प्राग, युरोपका विश्वप्रसिद्ध शहरहरू लन्डन, पेरिस, इस्तानबुल र रोमपछि विश्वमा सबैभन्दा बढी पर्यटकहरू ओइरिने शहर हो।

संसारकै ४९औं ठूलो अर्थतन्त्र भएको यो देशको सबैभन्दा ठूलो आम्दानीको स्रोत पनि पर्यटन उद्योग नै हो। पर्यटन उद्योगबाट मात्र यो देशले वार्षिक १ खर्ब १८ अर्ब डलर कमाउँछ भन्दा पत्याउनै गाह्रो पर्छ। यस उद्योगले ११ लाख चेकहरूलाई रोजगारी दिएको छ। आफ्नो वार्षिक बजेटमा पर्यटन ठूलो आम्दानीको स्रोत भएका कारण यो उद्योगको प्रवद्र्धनका लागि पनि यो मुलुकले त्यत्तिकै मेहनत, महत्त्व र प्राथमिकता दिएको देखिन्छ। संसारभरबाट पर्यटक ओसार्न यो मुलुकले वार्षिक १ करोड ६० लाख हवाई यात्रु ओसार–पसार गर्न सकिने ४६ वटा अन्तर्राष्ट्रियस्तरका विमानस्थल बनाएको छ। स्वदेशभित्र छिरिसकेका पर्यटकहरूलाई सुविस्तापूर्वक घुमफिर गराउन वार्षिक १ करोड ८० लाख यात्रुलाई गुडाउन सक्ने ५ हजार ५ सय किलोमिटर लामो रेल ट्रइक बिछ्याइएको छ।

प्रचुर मात्रामा पर्यटन उद्योगको सम्भावना भएको देश नेपालले यो मुलुकबाट धेरै कुरा सिक्न सक्छ। भर्खरै चुनाव जित्नुभएका राजधानी काठमाडौंको मेयर विद्यासुन्दर शाक्यलाई चुनावपछि यस्तै विकसित देशहरूमा घुम्दै फुर्सद छैन। दशैंको मुखमा राजधानीबासीलाई फोहोरको पहाड उपहार दिएर उहाँ स्पेनको म्याड्रिड शहरमा घुम्न व्यस्त हुनुहुन्थ्यो। धन्न, विगतमा जस्तो दशैंमा खाएको मासु र जमेको फोहोर मिलेर राजधानीमा महामारी रोग फैलिन पाएन। व्यवस्थित, सफा र सुन्दर राजधानी प्राग हेरेपछि मेयर शाक्यले पनि प्रागका मेयर पाभेल बेनसँग क्लास लिएर धेरै कुरा सिक्न सक्नुहुन्छ जस्तो लाग्यो।

यसभन्दा अघि लेखेको भियनासम्बन्धी युरोप यात्राको स्मरणमा पनि यो स्तम्भकारले नवनिर्वाचित मेयरहरूलाई प्राग घुम्न सुझाव दिइसकेको छ। प्रागका वर्तमान मेयर बेनले प्रागमा आउने पर्यटकको बगली मारेको र राजधानी प्रागमा चल्ने ट्याक्सीहरूले काठमाडौंमा जस्तै यात्रुहरूलाई ठग्ने गुनासो सुन्नेबित्तिकै एउटा कानुन नै बनाएर शुरू गरेको कारबाहीपछि अहिले यो गुनासो हटेको मात्र नभई अपराधको प्रतिशत नै शून्यमा झरेको छ। रिपोर्टस् विडाउड बोर्डरले विश्वको पाँचौं राम्रो देश भनी दिएको उपाधिसँगै चेक गणतन्त्र अहिले विश्वकै १३औं राम्रो स्वास्थ्य सुविधा भएको देश कहलिसकेको छ। चेक गणतन्त्र आफ्ना रोगी जनताको उपचारका लागि मरिमेट्ने विश्वकै पहिलो देश हो भन्दा नेपाललाई गिज्याएजस्तो लाग्न सक्छ।

चेक गणतन्त्रलाई यति सुन्दर, शान्त, स्वस्थ र विकसित बनाउन यहाँको शिक्षा प्रणालीले पनि निकै राम्रो भूमिका खेलेको देखिन्छ। यहाँका जनताले कम्तीमा ९ वर्ष अनिवार्यरूपमा अध्ययन गर्नै पर्छ। युरोपमै सबैभन्दा बढी ९० प्रतिशत चेक जनता हाइस्कुल परीक्षा उत्तीर्ण छन्। प्रायः शतप्रतिशत जनता साक्षर भएकाले पनि यहाँका जनता सभ्य, सौम्य र अनुशासित देखिन्छन्। हामी रातको १२ बजे शहर घुम्दा पनि पूर्णरूपमा सुरक्षित महसुस गरेका थियौं। बाटो भुलेर प्रहरी गुहार्दा उनीहरू होटलसम्मै पुर्यादिउँ किजस्तो गरी सहयोग गर्न हतारिन्छन्।
नेपालमा जस्तो मठ–मन्दिर सायद भारतबाहेक संसारमै अन्य कतै होला। ३३ कोटी देवताहरू बसोबास गर्ने देश भएर पनि संसारको सबैभन्दा दुःखी जनता हामी नै हौं कि जस्तो लाग्छ। आश्चर्यको कुरा त के भने, चेक गणतन्त्रका अधिकांश जनता भगवान्लाई विश्वास गर्दैनन्।

भगवान्लाई हल्का मात्र विश्वास गर्ने पनि मुस्किलले १९ प्रतिशत होलान् कि भन्छन् यहाँ। तैपनि यो मुलुक विश्वको ४९औं ठूलो अर्थतन्त्र भएको देश हुनुमा यहाँका इमानदार नेता र लामो समयसम्म परिश्रम गर्ने चेक जनता नै हुन् भन्ने कुरा रिपोर्टस् विडाउड बोर्डस्जस्ता थुप्रै अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका अध्ययन र विश्लेषणबाट साबित भइसकेको छ।

१ करोड ६ लाख जनसंख्या र ३० हजार ४ सय ५० वर्गकिलोमिटर क्षेत्र ओगटेको मध्ययुरोपको यो भूपरिवेष्टित देशमा डिसेम्बर महिनामा सबैभन्दा जाडो हुने र जुलाई महिनामा सबैभन्दा गर्मी हुने भएकाले यसलाई छलेर यात्रा गर्नु बुद्धिमानी हुन्छ। अरू बेला यहाँको मौसम धेरै हदसम्म नेपालसँग मिल्दोजुल्दो नै देखिन्छ।

यहाँको राजनीतिक व्यवस्था पनि करिब–करिब नेपालसँग मिल्दोजुल्दो छ। यहाँ हामीकहाँ जस्तै कम्युनिस्ट पार्टीदेखि राष्ट्रवादीसम्मका थुप्रै राजनीतिक पार्टी भए पनि चेक सोसल पार्टी र सिभिक डेमोक्रइटिक पार्टी यहाँका सबैभन्दा ठूला पार्टी हुन्। यहाँ जनताबाट ५ वर्षका लागि सीधै राष्ट्रपति चुनिन्छन्। राष्ट्रपति हेड अफ स्टेट भए पनि उनलाई सीमित मात्र अधिकार दिइएको छ। नेपालमा जस्तो संसद्बाट चुनिने प्रधानमन्त्री नै देशको कार्यकारी प्रमुख हुन्छ। नेपालसँग चेक गणतन्त्रको दौत्य सम्बन्ध भए पनि नेपालमा यसको राजदूतावास छैन। उद्योगपति विष्णु अग्रवाल अहिले नेपालका लागि अवैतनिक राजदूत हुनुहुन्छ। चेक गणतन्त्रमा जानका लागि भने नेपालीले भिसा लिन नयाँ दिल्लीमै धाउनुपर्छ।

खेलकुदमा रुचि राख्ने नेपाली पाठकहरूलाई चेक गणतन्त्र विकासमा मात्र नभई खेलकुद क्षेत्रमा पनि उत्तिकै माथि छ भन्ने कुरा थाहा नहुन सक्छ। सन् १९३४ र १९६२ मा गरी दुईपटक विश्वकप फुटबलको उपविजेता बनिसकेको चेक गणतन्त्रले लगातार ८ पटक विश्वकपमा सहभागिता जनाइसकेको छ। सन् १९७६ मा युरोपियन च्याम्पियन बनेको चेक गणतन्त्रले सन् १९८० मा भएको ओलम्पिक फुटबल खेलमा स्वर्णपदक जितेको थियो।

लेखक श्रीमती राजेश्वरीसँग प्रागमा।

आइस हकी, फुटबल र टेनिस यहाँको सबैभन्दा लोकप्रिय खेल हुन्। अहिले नेपालमा पनि टेनिस खेलप्रति रुचि राख्ने धेरै खेलप्रेमीहरू भइसकेकाले १८ वटा ग्रान्ड स्लाम टेनिस प्रतियोगिता जितिसकेकी मार्टिना नभ्रातिलोभा र ८ वटा ग्रान्ड स्लामको उपाधि उचालिसकेका इभान लेन्डल दुवै चेक खेलाडी हुन् भनी प्रस्ट्याइरहनु नपर्ला। त्यसबाहेक अहिलेका जल्दाबल्दा टेनिस खेलाडीहरू टोमस बर्डिच, क्यारोलिना पिल्सकोभा र महिला विम्बल्डन हात पारिसकेकी पेत्रा विभोटा र हाना नोभोत्ना पनि चेक गणतन्त्रकै खेलाडीहरू हुन्।

पत्रकारिताबारे खोज्दै जाँदा यो देशको कानुन पनि प्रेसमैत्री नै भएको पाएँ। नाजीबाट अत्यन्त पीडा भोगिसकेकाले होला, नाजीको समर्थन र देशको कानुनको खिलाफमा बाहेक अरू सबै क्षेत्रमा यहाँका प्रेसले स्वतन्त्ररूपमा कलम चलाउन सक्ने रहेछन्। दैनिक १ करोड १५ लाख पाठक भएको दाबी गर्ने दैनिक ब्लेस्क सबैभन्दा बढी चल्ने अखबार भएको थाहा पाइयो। टेलिभिजनको हकमा नोभा नामको टिभी च्यानल सबैभन्दा लोकप्रिय भएको पाएँ। रिपोर्टस् विडाउड बोडर्सको रिपोर्टमा चेक गणतन्त्र संसारकै १३औं प्रेस स्वतन्त्रता भएको देश भनी लेखिएको छ।

यस स्तम्भकार पत्रकारितामा आइसकेपछि देखेको पहिलो सपना आफ्नै अफसेट प्रेस किन्ने र त्यो पनि चेक गणतन्त्रमा बनेको डोमिनेन्ट नामको अफसेट प्रेस नै। यस स्तम्भकार सम्पादक रहेको सिने मासिक कामना छाप्ने कान्तिपथमा रहेको मोर्डन प्रिन्टिङ प्रेसको मेसिन पनि यही डोमिनेन्ट नै भएकाले होला, शुरूमा यो मेसिन किन्ने सपना देखेपछि प्रेसमा पुग्नेबित्तिकै धेरै बेर यो मेसिनलाई सुमसुम्याएर बस्ने गर्थें। जुन दिन कामना प्रकाशनले यो मेसिन चेक गणतन्त्रबाट झिकाएर भीमसेनस्थानस्थित कामना प्लाजामा जडान गरेको थियो, त्यो बेला यो स्तम्भकारलाई संसारै जितेको जस्तो अनुभूति भएको थियो।

यसबाहेक बिजुली, स्टिल, ग्यास र मोटर पनि चेक गणतन्त्रको सबैभन्दा ठूलो आम्दानीको स्रोत हो। चेक गणतन्त्रले युक्रेन हुँदै रुससम्म र यता जर्मनी हुँदै नर्वेसम्म ग्यास निर्यात गर्छ। काठमाडौंमा गुड्ने गरेको स्कोडा कम्पनीको गाडीको उत्पादन पनि चेक गणतन्त्रमै हुन्छ। स्कोडा कम्पनी मध्ययुरोपकै सबैभन्दा धेरै कार उत्पादन गर्ने कम्पनी हो। चेक गणतन्त्रको अर्थतन्त्रमा ठूलो मद्दत गर्दै आइरहेको यो कम्पनीले वार्षिक १० लाख ३७ हजार गाडी निर्यात गर्छ। कम्पनी सन् २०१८ सम्ममा यसलाई दोब्बर बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको छ।

यति कुरा लेखिसकेपछि स्वदेशी मात्र नभई विदेशीले समेत किन यो मुलुक घुम्न सिफारिस गरेका होलान् भनी अब प्रस्ट्याइरहनु नपर्ला। सुन्दा, हेर्दा पनि अचम्म लाग्ने गरी हाम्रो जस्तै भूपरिवेष्टित राष्ट्र भएर पनि चेक गणतन्त्रले गरेको विकास हेर्दा यति सुन्दर देश भएर पनि नेपाल र नेपालीले कहिलेसम्म अरूको विकास हेर्दै मर्नुपर्ने हो। त्यसो त गणतन्त्र आएपछि नेपाल पनि स्वर्ग हुन्छ भनी नेताहरूले हामी जनतालाई सपना नबाँडेका होइनन्। तर, यसको ठीक उल्टो देशलाई नर्कजस्तो बनाइए पनि राजनीतिक पार्टी, नेता र कार्यकर्तालाई भने देश स्वर्गजस्तै बनेको छ।

LEAVE A REPLY