चर्चित ब्रान्डका असली रूप



विश्वको चर्चित ब्रान्डका सवारीसाधन नेपाल भित्रने प्रतिस्पर्धा केही समय यता चलेको छ। नेपालमा विभिन्न चर्चित ब्रान्डका निजी साना सवारीसाधन खरिद गर्नेको संख्या नेपालमा दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ। नेपालमा ती चर्चित ब्रान्डमा सवारी भित्त्याउने कम्पनीहरूले विभिन्न अफर दिएर साना सवारीसाधन बिक्रीवितरण गर्ने गरेको भए पनि यस्ता सवारीसाधनमा आउने खराबीका बारेमा भने उनीहरूले सकेसम्म ढाकछोप गरिरहेको पाइन्छ। यसपटकको दशैं अफर भनेर फक्सवागनले आकर्षक पुरस्कार र बम्पर योजना सार्वजनिक गरेको थियो।

फक्सवागनले ६ लाखसम्मको नगद छुट, ३२ इन्चदेखि ६४ इन्चसम्मको हात खाली नजाने पानसोनिक टिभी उपहार र २ तोला सुनको बिटल कारको घोषणा गरेर जनता आकर्षित गर्न खोजेको थियो। त्यस्तै निसान कार कम्पनीले पनि आफ्ना सवारीसाधनमा आएको प्राविधिक गडबडीलाई छोप्न विभिन्न स्किम ल्याएको थियो। उनीहरू जनताको सुरक्षाभन्दा पनि आफ्नो व्यक्तिगत फाइदालाई बढी ध्यान दिइरहेको पाइन्छ।

निसानद्वारा १२ लाख कार फिर्ता


योकोहामा, जापान, (एजेन्सी)
विश्व चर्चित जापानी कार निर्माण कम्पनी निसानले हालै करिब १२ लाख बजारमा गइसकेका कार फिर्ता लिने घोषणा गरेको छ। अन्तिम निरीक्षणमा ती कारले आन्तरिक मापदण्ड पूरा गर्न नसकेका कारण ती कार फिर्ता लिन लागिएको कम्पनीले जनाएको छ। टोकियोमा निसानको शेयरको मूल्यमा ह्वात्तै घटेको छ। कर्मचारीहरूले तिनीहरूको परीक्षणपछि तयार गरेको प्रतिवेदनमा ती कारको गुणस्तर जापान सरकारले तोकेको मापदण्डसँग मेल नखाएको जनाइएको छ।

शुरूमै शेयर मूल्य घट्दै गएको निसानको उक्त घोषणापछि प्रति शेयर मूल्य २ दशमलव ६९ प्रतिशत अर्थात् ९ अमेरिकी डलरले घटेको थियो। कम्पनीको टोकियो नजिकको योकोहामास्थित प्रधान कार्यालयमा निसानका अध्यक्ष हिररोतो साइकावाले सञ्चारकर्मीसँग भन्नुभयो– ‘सरकारी कनिष्ठ कर्मचारीले ती कारको निरीक्षण गरिरहेका छन्। उनीहरूसँग उक्त काम गर्ने अधिकार छैन र यो निकै गम्भीर समस्या हो। कहाँ, कहिले र कसरी यो घटना शुरू भयो यो पदमा बस्ने म आफैंले भन्न सकेको छैन। म आफैं पनि यस विषयको पिँधसम्म पुग्न चाहन्छु।’ निसानले यसरी समस्याग्रस्त भनिएका कारहरू सन् २०१४ को अक्टोबरदेखि २०१७ को सेप्टेम्बरबीचमा निर्माण गरेको जानकारी दिएको छ। ती कार फिर्ता गर्दा करिब २२ करोड २० लाख डलर खर्च लाग्ने भएको छ।

४८ लाख ६० हजार फक्सवागन फिर्ता लगिने

बेइजिङ, (एजेन्सी)
फक्सवागनले चीनमा बिक्री गरिसकेका करिब ४८ लाख ६० हजारवटा सवारी फिर्ता लिने भएको छ। ती साधनमा जडित एयरब्यागमा आएको खराबीका कारण बजारबाट फिर्ता लान लागेको हो। ती एयरब्याग जापानको ताकाता कम्पनीले बनाएको हो।

यो समस्याका कारण जर्मन कार निर्माता फक्सवागनलाई एसियाली मुलुक चीनमा कार बिक्रीमा ठूलो अवरोध आएको छ। चीनको उपभोक्ता अनुगमन ब्युरोले बाहिरबाट झिकाइएका र चीनमै निर्मित तथा सन् २००५ देखि बिक्रीवितरण हुँदै आएका ती कार फिर्ता लान लागेको बताइएको छ। यो काम सन् २०१८ को मार्चदेखि शुरू हुने पनि बताइएको छ। आफ्नो गल्तीका कारण केही समय १ अर्ब अमेरिकी डलर जरिवाना तिरिसकेको ताकाता कम्पनी टाट पल्टिसकेको छ। फक्सवागनले गत वर्ष मात्र चीनमा ४० लाखवटा सवारी बेचेको थियो।

होन्डा र टोयोटा कम्पनीले पनि यो समस्या भोगिरहेका छन्। अहिलेसम्म ताकाता कम्पनीको प्राविधिक त्रुटिपूर्ण एयरब्यागको कारण अन्तर्राष्ट्रिय बजारबाट आफ्ना कार फिर्ता लैजाँदा अहिलेसम्म ती कम्पनीलाई १३ अर्ब डलरको घाटा भइसकेको छ। फ्युल पम्पिङ समस्याका कारण फक्सवागन कम्पनीले चीनबाट थप १८ लाख कार पनि फिर्ता लाने निर्णय गरेको छ। थुपै्र कार कम्पनीले आफ्ना कार मर्मतका लागि ताकाताबाट पैसा लिन नसक्ने अवस्थालाई ध्यानमा राख्दै त्यसका लागि आफैंले पैसा छुट्याएको छ। विश्वभर फक्सवागन गाडीमा समस्या आउन थालेपछि यस ब्रान्डप्रति विश्वास घट्दै गइरहेको छ।

प्रतिक्रिया दिनुहोस्