ठेकेदरका कारण फास्ट ट्रयाक अलपत्र



कैलालीको खुटिया तथा डोटीको विपीनगर दिपायल जोड्ने दु्रतमार्ग (फास्ट ट्रयाक)को बिपिनगर स्थित कार्यालय ।

विमल विष्ट, डोटी । कैलालीको खुटिया– तथा डोटीको विपीनगर–दिपायल जोड्ने दु्रतमार्ग (फास्ट ट्रयाक) पछिल्लो समय ठेकेदारको लापर्वाहिका कारण अलपत्र परेको छ । फास्ट ट्रयाक निर्माणका लागि सरकारले गत वर्ष नै डोटीको विपीनगरमा छुट्टै डिभिजन कार्यालय स्थापना गरेपनि निर्माणको काम अझै पनि सुचारु हुन सकेको छैन ।

ठेकेदारले नियत बस काम अघि नबढाउँदा चालू आर्थिक वर्षमा सम्पन्न गर्न लिइएको लक्ष्य पूरा नहुने फास्ट ट्रयाक डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले बताउनु भयो । उहाँले भन्नु भयो ‘जतिसुकै चेतावनी र आग्रह गर्दा पनि ठेकेदारले काम अघि बढाइदिएनन्, काम सुरु गरेको भए अहिलेसम्म डोटीमा पर्ने सडकखण्डको ट्रयाक खुलिसकेको हुन्थ्यो ।’

डोटी क्षेत्रमा ट्रयाक खोल्ने ठेक्का पाएको सूर्य कन्ट्रक्सनले अहिले सम्म काम सुरु नगरेको डिभिजन प्रमुख साहको आरोप छ । यस भन्दा पहिला डोटी क्षेत्रमा पर्ने फास्ट ट्रयाक जोड्न सडक डिभिजन कार्यालय कुलपातेले दिपायलको राजपुर र विपीनगर दुबै तर्फबाट काम सुरु गरेको थियो । राजपुरबाट गड्सेरा अमौनडाडासम्म र विपीनगर कफलतडीसम्म ट्रयाक खुलेको छ ।

गड्सेराको अमौनडाडा र विपीनगरको कफलतडी सम्मको ७ किलोमिटरमा ठेकेदारले ट्रयाक खोल्न लापरवाही गर्दा काम रोकिएको डिभिजन प्रमुख साहले बताउनु भयो । उहाँका अनुसार सडक खन्ने ठाउमा चट्टान परेकाले ठेकेदार (कम्पनी) ले फोडेर ट्रयाक खोल्न आनाकानी गरिरहेको छ ।
यसअघि, सडक कताबाट लैजाने भन्ने विषयमा स्थानीय वासिन्दाबीच नै विवाद हुँदा काम रोकिएको थियो । ६ वर्षअघि राष्ट्रिय योजनामा परेको सडक न्यून बजेट, ठेकेदारको लापरवाही र स्थानीय उपभोक्ताको विषयमा भएको विवादका कारण अलपत्र पर्दै आएको थियो । फास्ट ट्रयाक अहिले प्रयोग भइरहेको धनगढी–अत्तरिया–डडेल्धुरा–दिपायल सडकभन्दा १ सय १० किलोमिटर छोटो दुरीकोे छ । निर्माण पश्चात् डोटी सहित अछाम र बाजुरावासीलाई सहज हुनेछ ।

फास्ट ट्रयाक निर्माणका लागि आर्थिक वर्ष २०६४÷०६५ मा जिल्ला समन्वय समिति डोटी र कैलालीमा १÷१ करोड रुपैयाँ बजेट आएको थियो भने २०६५÷०६६ मा सडक डिभिजन महेन्द्रनगर र दिपायलमा ५०÷५० लाख रुपैयाँ छुट्याइएको थियो । घट्दै आएको बजेट २०६६÷०६७ मा भने ३६÷३६ लाख रुपैयाँमा झ¥यो ।

सो सडक निर्माणका लागि गत वर्ष भने विपीनगरमा छुट्टै सडक डिभिजन स्थापना गरेर तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उदघाटन गर्नु भएको थियो । यद्यपी डिभिजन सडक कार्यालयले अझैं काम अघि बढाउन सकेको छैन । खुटिया–विपीनगर–दिपायल सडक डिभिजन कार्यालय विपीनगरले कैलालीको ५ किलोमिटर र डोटीको ८ किलोमिटरमा ट्रयाक खोल्नका लागि छुट्टाछुट्टै टेण्डर खोलिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्