झलनाथ खनाल
वरिष्ठ नेता, नेकपा एमाले

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीको बीचमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने ६ बुँदे सहमति भएको छ। सहमतिअनुसार चुनावी तालमेलसँगै पार्टी एकताको प्रक्रियासमेत अगाडि बढेको छ। वामपन्थी गठबन्धन निर्माण भएसँगै सत्तारूढ दल नेपाली कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धन बनाएको छ। एमाले र माओवादी केन्द्रबीच भएको सहमतिले राजनीतिमा नयाँ तरंग नै ल्याएको छ। संविधानमा उल्लेख भएको समाजवादउन्मुख समाज निर्माणको सपना साकार पार्नका लागि एउटै कम्युनिस्ट पार्टी निर्माणको अभियानमा २ मुख्य दल जुटेको बताएका छन्। कम्युनिस्टहरूबीच एउटै पार्टी निर्माण गर्ने सहमतिसँगै बदलिएको राजनीतिले नयाँ बहस जन्माएको छ। यसै विषयमा वामपन्थी शक्तिहरूलाई चुनावी तालमेलसँगै पार्टी एकताको प्रक्रियासम्म ल्याउन भूमिका खेल्नुभएका पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग एउटै कम्युनिस्ट पार्टीको औचित्य, पार्टी एकीकरण, आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वामपन्थी गठबन्धनको अवस्थालगायतका विषयमा केन्द्रित रहेर नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः–

निर्वाचन अघि नै वामपन्थी शक्तिका बीचमा चुनावी तालमेल कसरी सम्भव भयो ?

कुनै पनि बेलामा विभाजित भएका कम्युनिस्ट र राजनीतिक समूह एकताबद्ध हुनुको पछाडि दुईवटा कारण हुन्छन्। पहिलो कारण वस्तुगत परिवेशमा खोज्नुपर्छ। दोस्रो कारण आत्मगत चिन्तनमा खोज्नुपर्छ। हाम्रो देशको वस्तुगत परिवेश अहिले नयाँ ऐतिहासिक चरणमा आइपुगेको छ। त्यो नयाँ चरण भनेको २००६ सालबाट शुरू भएको लोकतान्त्रिक क्रान्तिको जुन युग हो, २०६२⁄०६३ को परिवर्तन आएर अन्त्य भयो।

हामीले जनवादी क्रान्तिको फललाई संस्थागत गर्नका लागि १० वर्ष लगाएर नयाँ संविधान बनायौं। यो लोकतान्त्रिक संविधान हो। यो संविधान कार्यान्वयनपछि देश विकास निर्माण र समृद्धिको बाटो हुँदै हामी समाजवादको लक्ष्यतिर अगाडि बढ्नेछौं। समाजवादको बाटोमा अगाडि बढ्न अत्यन्त कठिन, दीर्घकालीन र गौरवमय ऐतिहासिक चरणमा हामी हिँडेका छौं। यो वस्तुगत परिवेशले हामीलाई शक्तिशाली राष्ट्रव्यापी, जनव्यापी, गतिशील, प्रभावकारी लोकतान्त्रिक कम्युनिस्ट पार्टीको माग गरिरहेको छ। यो मागलाई हामीले आपूर्ति गर्न खोजेका छौं।

देशमा विभिन्न कालखण्ड पार गर्दै आउने सिलसिलामा संविधानसभाको निर्वाचनपछि दुईवटा ठूला कम्युनिस्ट पार्टी संविधानसभामा प्रकट भए। दुवै पार्टीले संविधान निर्माणमा ऐतिहासिक भूमिका खेलेका छौं। नीति सिद्धान्त, दृष्टिकोण, कार्यक्रम, लक्ष्य, कार्यशैली, कार्यपद्धति, मार्गदर्शक सिद्धान्त, राष्ट्रिय⁄अन्तर्राष्ट्रिय परिस्थितिका विश्लेषणमा मतभिन्नता पनि छ र साथसाथै संविधान निर्माण गरेर मुलुक निर्माणका ऐतिहासिक चरणमा आइपुग्दा हाम्रो बीचमा कार्यनीतिक कार्यदिशाका विभिन्न सवालमा महत्त्वपूर्ण एकरूपता पनि प्रकट भएका छन्।

यी एकरूपता र मतभिन्नता दुवै कुरालाई अगाडि बढ्दा अब हाम्रो बीचमा एकता प्रक्रियालाई अगाडि बढाउन बाधक बन्ने चीज कमजोर छन्। एकतालाई अगाडि बढाउने चीज सबल छन् भन्ने निष्कर्षमा हामी पुगेका हौं। निकै अगाडिदेखि यो एकता प्रक्रिया अगाडि बढाउन चाहिरहेका थियौं। संविधानसभामा मैले माओवादीसँग कार्यगत एकता गरेर सरकार निर्माण गरें। उहाँहरू सबैभन्दा ठूलो पार्टी बनेर आउनुभयो। मैले प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे। बीचमा परिस्थिति बदलियो। प्रचण्डले मलाई पुनः प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभयो। यी एकताका अभ्यास हुन्। संविधान निर्माणमा कति कुरामा एकरूपता कायम भयो। हामी आत्मगत रूपमा पनि भिन्नताका साथ एकता प्रक्रिया अगाडि बढाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौं। यसकारण एकताबद्ध हुने प्रक्रियामा अग्रसर छौं।

एमाले र माओवादी केन्द्र मिल्नै नसक्ने गरी गालीगलौज र आरोपप्रत्यारोपमा उत्रिएकै अवस्थामा कसरी यो परिस्थिति बन्न सक्यो ?

हो, हाम्रो दुई पार्टीका बीचमा एकरूपता र मतभिन्नतको दुईवटा पक्ष छँदै छन्। यी कुरालाई बुझ्ने, ग्रहण गर्ने, ती कुरालाई विश्लेषण गर्ने, अभिव्यक्त गर्ने कुरा पनि दुई पार्टीका बीचमा पनि मतभिन्नता छन्। हाम्रा कतिपय नेताले माओवादी केन्द्र भनेको कम्युनिस्ट पार्टी नै होइन। यो आतंकवादी र उग्रवामपन्थी पार्टी हो। यो संशोधनवादी र यो विदेशीको इसारामा चल्छ भनेर नथाक्ने नेता पनि हामीसँग हुनुहुन्छ। कुन–कुन नेताले कस्ता–कस्ता अभिव्यक्ति दिए ती कुरा तपाईंहरूलाई कण्ठै होला। तर मचाहिँ त्यस्तो नेता हो, माओवादीले चरम उग्रवामपन्थी गल्ती गरिरहेका बेलामा पनि यो कम्युनिस्ट समूह नै हो। यो पार्टीमा माक्र्सवाद र उग्रवामपन्थ पनि छ। दुवै कुरालाई देख्नुपर्छ। विश्लेषण गर्नुपर्छ। उग्रवामपन्थको विरुद्ध दृढतापूर्वक वैचारिक सैद्धान्तिक संघर्षलाई अगाडि बढाउँदै रूपान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्दै आएको हुँ।

सकारात्मक पक्षसँग एकता कायम गर्दै जानुपर्छ भन्ने पक्षमा सबै रहिरहे। समग्रतामा एमाले पनि यही पक्षमा रह्यो। गलत कुराका विरुद्ध हामीले कहिले पनि सम्झौता गरेनौं बरू संघर्ष गर्यांै। तर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ। साझा सवालमा मिलेर अगाडि बढ्नुपर्छ भन्ने कुरालाई हामीले कहिल्यै छोडेनौं। संविधान निर्माण गर्दा र घोषणाको साथै अहिले कार्यान्वयन गर्ने क्रममा ध्यानमा राखेका छौं। कहिलेकाहीं भुलचुक भएका छन्। यसको बाबजुद दुवै पार्टीलाई एकताबद्ध बनाउने विषयमा लागिरह्यांै। ती प्रयत्नले हिजो तिक्ततापूर्ण र नकारात्मक धारणा राख्ने साथीहरूलाई पनि आज सकारात्मक ढंगले हेर्ने ठाउँमा ल्याई पुर्याएका छौं।

वाम गठबन्धलाई सत्ता स्वार्थसँग केन्द्रित भएको आरोप लागेको छ नि ?

यो आरोपलाई गम्भीर रूपमा लिनुपर्छ। हामीले पनि यस्तो एकता प्रक्रियालाई खास व्यक्तिको कुर्सीको मोहका निम्ति नहोस् भन्ने कुरामा सचेत हुनुपर्छ। सत्ता स्वार्थको निम्ति नहोस्। सिंगो देश र जनताका निम्ति हुनुपर्छ। सम्पूर्ण नेपाली जनताका निम्ति र नेपालको कम्युनिस्ट आन्दोलनको अग्रगतिका निम्ति एवं कम्युनिस्ट आन्दोनलाई एकतबद्ध बनाउने उद्देश्यका निम्ति सिंगो देशलाई समाजवादको लक्ष्यमा अगाडि बढाउनका लागि यो एकता लक्षित हुनुपर्छ। केन्द्रित हुनुपर्छ भन्ने कुरामा हामी एकदम सचेत हुनुपर्छ।

हामीले एकता प्रक्रियाको नाममा विभिन्न निहित स्वार्थका कुरा आउन सक्छन्। त्यस्ता कुरामा हामीजस्ता सर्वहारा वर्गको अग्रदूत संस्थाका नेताले एकदम सचेत हुनुपर्छ। हामी सचेत भएर गयौं भने यो एकतालाई क्रमिक रूपले एउटा महत्त्वपूर्ण रूपान्तरणमा विकसित गरेर लैजान सकिन्छ। अहिले त अवधारणागत रूपमा हामी एकताबद्ध हुन्छौं भनेका छौं। तर कसरी वैचारिक एकता कायम गर्ने ? कसरी सैद्धान्तिक एकता कायम गर्ने ? कसरी राजनीतिक एकता कायम गर्ने ? कसरी संगठनात्मक एकता कायम गर्ने ? कसरी कार्यशैली एकता कायम गर्ने ? कसरी पद्धतिगत एकता कायम गर्ने ? राष्ट्रिय⁄अन्तर्राष्ट्रिय दृष्टिकोणमा कसरी एकता कायम गर्ने ? यस्ता ठूला चुनौती हाम्रा सामु छन्। यी चुनौतीलाई हामीले ठीक ढंगले सम्पादन गर्नुपर्छ। अत्यन्त गम्भीर भएर लाग्नुपर्छ। यो असम्भव कुरा होइन विल्कुल सम्भव कुरा हो। हामीले यो बीचमा सकारात्मक र नकारात्मक अनुभव पनि हासिल गरेका छौं। ती अनुभवबाट निर्देशित भएर अगाडि बढेको अवस्थामा एकतालाई सम्पादन गर्न सक्छौं।

चुनावी तालमेलसँगै पार्टी एकतासम्मका सहमति गर्ने प्रचण्डको भूमिकालाई कसरी हेर्नुभएको छ ?

प्रचण्डलाई व्यक्तिगत रूपमा मात्र हेर्न चाहन्न। प्रचण्डलाई एउटा सिंगो पार्टीको नेताको रूपमा हेर्न चाहन्छु। माओवादी केन्द्रको नेता। १० वर्षे जनयुद्धका नेता। नेपालको कम्युनिस्ट आन्दोलनको महत्त्वपूर्ण हिस्साको नेता। प्रचण्ड समग्र कम्युनिस्ट आन्दोलनकै एउटा नेताका रूपमा मैले उहाँलाई हेर्ने गरेको छु। उहाँ व्यक्तिगत रूपमा बडो न्यायो र आत्मीय शिल स्वाभाव भएको व्यक्ति हुनुहुन्छ। राम्रो अध्ययन पनि छ। तार्किकता पनि मैले राम्रो पाएको छु। अलि चाँडो–चाँडो उहाँका विचार परिवर्तन हुन्छन्। त्यो कुरामा उहाँले अलि बढी होसियार हुनुपर्छ भन्ने लाग्छ।

तर उहाँले जुन ढंगले पार्टीलाई लिड गरेर आउनुभएको छ। त्यस क्रमममा उहाँले धेरै महत्त्वपूर्ण सकारात्मक नकारात्मक भण्डार जम्मा गर्नुभएको छ। त्यो अनुभवलाई अब नेपाली कम्युनिस्ट आन्दोनलाई एकताबद्ध गरेर लैजान सही ढंगले सदुपयोग गर्न जरुरी छ। त्यसरी अगाडि बढ्दा झन् महत्त्वपूर्ण योगदान पुग्नेछ भन्ने मलाई लागेको छ।

हिजो उहाँहरूबाट अलि नकारात्मक काम भइरहेको बेलामा हाम्रा साथीभाइ पल्लो छेउमा पुगेर आलोचना गर्नुहुन्थ्यो र कम्युनिस्ट भन्न पनि हिचकिचाउनु हुन्थ्यो। तर त्यति बेला एमालेले एउटा माओवादी अध्ययन आयोग बनाएको थियो। जसको म अध्यक्ष थिएँ। आयोगको अध्यक्षको हैसियतमा मैले त्यो प्रतिवेदनमा माओवादीलाई कम्युनिस्ट समूह ठहर गरेको थिएँ।

कुनै बेला तपाईंलाई माओवादी परस्त भएको आरोप पनि पार्टीभित्रैबाट लागेको थियो नि होइन ?

मैले संयुक्त सरकार निर्माण गर्दा मलाई माओवादी परस्त भन्ने आरोप पनि नलागेको होइन। तर ती आरोप मरो शरीरका रौंभन्दा बाहिर नै लडेर गए। ती आरोपले मलाई छुन सकेन। किनकि म त सिद्धान्तनिष्ठ मान्छे हुँ। नीतिनिष्ठ मान्छे हुँ। म हावाहुण्डरीको भरमा चल्ने मान्छे होइन। हरेक कुरालाई विचार र सिद्धान्तको आधारमा हेर्नुपर्छ। ती आरोप लगाउनेहरू नै अहिले एकताको प्रक्रियामा अगाडि–अगाडि दौडिरहेको देख्छु। त्यसो हुँदा मलाई खुसी लागेको छ।

पार्टी एकताको प्रक्रिया अगाडि बढाउने क्रममा बहुदलीय जनवाद र जनयुद्धको संयोजन कसरी होला ?

हामीले दुवै पार्टीका सैद्धान्तिक भण्डारलाई सम्मान गर्नुपर्छ। ती भण्डारको गहिरिएर अध्ययन र विश्लेषण गर्नुपर्छ। त्यो भण्डारभित्रबाट साझा कुरा के हो ? त्यो पहिल्याउनुपर्छ। कतिपय गलत कुरा दुवै पक्षले छोड्न तयार हुनुपर्छ। कतिपय कुरा दशकांै बहस गर्दा पनि नटुंगिने हुन सक्छन्। साझा कुरालाई अगाडि बढाउनुपर्छ। हामी माक्र्सवाद र लेलिनवादमा कुनै विवाद गर्दैनौं। माक्र्सवाद लेलिनवाद हाम्रो साझा र सार्वभौम सिद्धान्त हो। यसदेखि बाहेकका कुनै पनि कुराको विवादले हाम्रो एकता प्रक्रियालाई रोक्नु हुँदैन। छलफल र बहसको विषय हुनुपर्छ। यसको विधिमार्फत् टुंगो लगाउने आधार तयार पार्नुपर्छ। जो जतिसुकै जटिल र कठिन किन नहुन् ती चीज क्रमशः हल भएर जान्छन्।

चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएलगत्तै एमालेका केही नेताका माओवादी एमालेमा विलय भएको भन्नेजस्ता अभिव्यक्ति आएका छन् नि ?

हामीले फरक–फरक समयमा फरक–फरक समूहसँग एकता प्रक्रिया अगाडि बढाउँदै आएका छांै। सबैको साझा मूल्य माक्र्सवाद र लेनिनवादको हो। यसका आधारमा नेपाली समाजको विकास निर्माणमा एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हो। विभिन्न समयमा कतिपय समूह एमालेमा विलय भएका छन्। अहिले एमाले र माओवादी केन्द्रबीचको एकीकरणको प्रक्रिया छ। उन्नत धरातलमा अलि भिन्न धरातलमा दुवै पार्टीले एकअर्कामा पूर्ण रूपमा सम्मान गर्ने गरीकन दुवैका विचार, अनुभवलाई पनि नीति सिद्धान्त र संगठनलाई पनि सम्मान गर्दै एकता प्रक्रियालाई अगाडि बढाउनुपर्छ। एकले अर्कालाई कतै पनि होच्याउने काम गर्नु हुँदैन। कतै पनि अवमूल्यन गर्नु हुँदैन। दुवैका अनुभव छन्। योगदानको हिस्सामा कसका ढक गहकिला देखा पर्लान्। यो इतिहासले मूल्यांकन गर्छ। अहिले हामीले मूल्यांकन गर्ने बेला भएको छैन।

वाम गठबन्धन बनेलगत्तै कांग्रेसको नेतृत्त्वमा लोकतान्त्रिक गठबन्धन बन्यो नि ?

म त विज्ञानको विद्यार्थी पनि हुँ। न्युटनले एउटा सिद्धान्त अगाडि सार्नुभो। जहाँ एक्सन हुन्छ त्यहाँ रियाक्सन पनि हुन्छ। वामपन्थीले नेपाली समाजलाई अगाडि बढाउन पहलकदमी लिए। वामपन्थीले आफूलाई एकताबद्ध गर्ने गरी पहलकदमी लिए। यो पहलकदमी निकै महत्त्वपूर्ण कदम हो। यसले रियाक्सन जन्माइरहेको छ। देशको पुँजीवादी र यथास्थिति पार्टी जो समाजलाई आमूल परिवर्तन गर्न चाहँदैन वा सक्दैन अथवा उनीहरूको उद्देश्य त्यस्तो छैन। त्यस्ता पार्टी समाजवादको गतिमा यो देशमा तीव्र गतिमा अगाडि बढ्ने भो। आफ्नो स्वार्थका महल भत्किने हो कि भनेर डराइरहेका छन्। ती डरपोकको अहिले प्रतिक्रिया व्यक्त गरिरहेको छ।

१८४८ मा माक्र्स र एङगेलसले कम्युनिस्ट घोषणा–पत्र जारी गर्नुभयो। त्यो कम्युनिस्ट घोषणा पत्रमा एउटा कुरा जारी भएको थियो, कम्युनिस्टको भूत। त्यति बेला युरोपका बुर्जवाहरूको बीचमा कम्युनिजमको भूत सवार भयो। कम्युनिजम भन्नेबित्तिकै आतंकित हुन्थे। अहिले कम्युनिस्टहरू मिल्नेबित्तिकै नेपालका बुर्जुवा र पुँजीवादी पार्टीहरू नेपालका यथास्थितिवादी पार्टीभित्र भूत आतंक सिर्जना भएको छ। उनीहरू रातारात गठबन्धन बनाउन लागेका छन्। ती गठबन्धन टिकाउ हुँदैनन्।

उनीहरूले बनाइरहेका गठबन्धन भनेको आवेशको कुरा हो। घर भत्किछ कि दरबार भत्किन थाल्छ कि ? भन्ने डरले बनाउन खोजिएका सानातिना झुपडीजस्तै कुरा हुन्। त्यसले उनीहरूलाई बचाउन सक्दैन। अब संविधानले समाजवादीतर्फ अगाडि बढ भनिसक्यो। समाजवादको बाटोमा जो ठीक ढंगले अगाडि बढ्छ त्यो मात्र टिक्छ। जो समाजवादको बाटोबाट विमुख हुन्छ उनीहरू इतिहासबाट अस्वथ्य हुन्छन्। राणाशासन अन्त्य भयो उसले युगको आवाज सुन्न युगको आवाज नसुन्दा पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्य भयो। अब यथास्थितिवाद र पुँजीवाद नेपालको धर्तीबाट बिदा हुँदैछ। परिवर्तनको हुरी बबरमण्ड ढंगले जारी रहन्छन्। यथास्थितिवादी शक्ति भुइँ छोडेर उफ्रिन सक्छन्। ती दृश्यहरू हेर्न लायकका हुन्छन्।

विगतमा पनि सहमति हुने तर पालना नहुने नजिर छ। यसपटक पालना होला ?

केही समयअगाडि हामीले निकै ठूलो मोर्चा निर्माण गर्यांै। ओलीलाई प्रधानमन्त्री बनायौं। एउटा महत्त्वपूर्ण मोर्चा थियो। त्यो मोर्चा जुनसकै मूल्यमा पनि जोगाउनु थियो। तर चारै महिनामा टुट्न लागेको थियो। तर हामीले प्रचण्डसँग कुराकानी गर्यांै। यो मोर्चा नटुटाऊ भनेर आग्रह गर्यौं। बरू आलोपालो गरेर सरकार चलाऔं भनेर सहमति भयो। तर त्यति बेला हाम्रा कतिपय नेताले त्यस्तो सहमति कहाँ भयो ? भएकै थिएन भन्ने कुरा गर्नुभो। त्यो मोर्चा नटुटाई अगाडि बढेको भए अहिलेसम्म एकीकरणको कुरा धेरै अगाडि बढिसक्थ्यो। त्यो टुटाउने कुरा धेरै ठूलो ‘ब्रलन्डर’ हो। त्यसले गर्दा धेरै लस भयो। त्यसको कारण धेरै ठूलो क्षति व्यहार्नु पर्यो। अहिले २ वटा पार्टी एकताबद्ध नभएसम्म समाजवादको बाटोमा अगाडि बढाउन नसकिने ऐतिहासिक आवश्यता बोधको साथ एकता प्रक्रिया अगाडि बढेको छ। यो एकता प्रक्रिया अगाडि बढाउन ठूलो मूल्य चुकाइएको छ। यो प्रक्रिया टुंगो लगाउन धेरै गम्भीर भएर अगाडि बढ्नुपर्छ। यद्यपि यो धेरै हतारपतारमा शुरू गरिएको छ। तर जति हतार भए पनि होसियारीपूर्वक व्यवस्थिति रूपले योजनाबद्धताको साथ अगाडि बढाउनुपर्ने आवश्यकता छ।

कुनै पनि सहमति कति गम्भीर छ ? कति दूरगामी छ। कति ठूलो प्रभाव दिन्छ। त्यस आधारमा सहमतिप्रति गम्भीर हुनुपर्ने आवश्यता छ। दीर्घकालीन दृष्टिले पनि प्रभाव पार्न सक्नेछ भने नेताको सनकको आधारमा तलमाथि हुन दिनु हुँदैन। कहिलेकाहीं सहमति हुन्छन्। नेताको सनकका आधारमा ती असफल हुन्छन्। कार्यान्वयन नै हुँदैनन्। हामीले माओवादी केन्द्रसँग मोर्चा बनाएका थियौं। तर पछि गएर सनककै आधारमा मोर्चा विघटित भयो। सनकले ठूला क्षति हुने गरेका छन्। एउटा व्यक्ति र नेताको इच्छाको आधारमा होइन। कम्युनिस्ट पार्टीको नेतत्त्व प्रणाली भनेको सामूहिक नेतत्त्व प्रणाली हो। संस्थागत निर्णय बढी टिकाउ हुन्छन्। एक प्रक्रियामा पार्टीले स्वामित्व लिन सक्नुपर्छ। यो एकाध मानिसले अँध्यारो कुनामा बसेर गर्ने होइन।

यो खुलेआम राष्ट्र र जनतालाई साक्षी राखेर गर्ने कुरा हो। अँध्यारो कुनामा बसेर खुसुखुसु सम्झौता गर्न खोजे भने टिकाउ हुँदैन। हाम्रो पार्टी र माओवादी केन्द्रका नेतासँग मेरो के आग्रह छ भने यसलाई सम्पूर्ण राष्ट्रको स्वामित्व हुने गरी, आम जनताको स्वामित्व हुने गरी र कम्युनिस्ट आन्दोलनको स्वामित्व हुने गरी एकता प्रक्रियालाई अगाडि बढाउनुपर्छ। संस्थागत रूपमा अगाडि बढ्नुपर्छ। पद्धतिसम्मत रूपमा अगाडि बढ्नुपर्छ। विधिसम्वत ढंगले अगाडि बढाउनुपर्छ। अँध्यारो कोठोमा बसेर होइन। सिंगो विश्वले थाहा पाउने गरी यो प्रक्रिया अगाडि बढाउनुपर्छ।

बाम गठबन्धन निर्माणसँग के अब नयाँ सरकार गठन हुन्छ कि हुँदैन ?

हामी सत्ता परिवर्तनलाई रुचि राख्दैनांै। निर्वाचनको मुखमा सरकार परिवर्तन गर्नु सान्दर्भिक पनि हुँदैन। तर हामी के भन्छौं भने, सरकारले संविधानको पालना गर्नुपर्छ। ऐन कानुनको पालना हुनुपर्छ। निर्वाचन आयोगको निर्देशन पालना हुनुपर्छ। आचारसंहिताको पालना हुनुपर्छ।

समयमा नै निर्वाचन हुनुपर्छ। निर्वाचनलाई तलमाथि पार्ने कुनै पनि षड्यन्त्र गरियो भने त्यो हाम्रा लागि मान्य हुने छैनन्। यो चेतावनी नै हो।

एमाले र माओवादी केन्द्रले सार्वभौम ढंगले रोजेको बाटो हो। यो अपवित्र कुरा होइन। कम्युनिस्ट कम्युनिस्ट मिलेर निर्वाचनमा जान्छौं भने कसरी अपवित्र हुन्छ? भाइभाइ मिल्दै छन्। बन्धु, वर्गीय शक्ति र सिद्धान्तनिष्ठ शक्तिहरू मिल्दै छन्। यो सरकारमा जुन ढंगको गठबन्धन थियो त्यो अपवित्र थियो। कहाँ आमूल परिवर्तनकामी माओवादी, कहाँ यथास्थिवादी कांगेस ? यो सुहाइरहेको थिएन। समयमा नै टुट्यो राम्रो भयो। यसलाई जनताले ताली बजाएर स्वागत गर्नुपर्छ।

वाम गठन्धलाई छिमेकीले पनि चासोको साथ हेरिरहेका छन् भन्छन् नि ?

कुनै पनि देशको आन्तरिक मामिलाम जतिसुकै घनिष्ट सम्बन्ध भए पनि हात हाल्ने र चासो राख्ने काम गर्नु हुँदैन। नेपालमा वाम एकता हुन्छ कि हुँदैन ? नेपालको आन्तरिक कुरा हो। छिमेकी देश भारत र चीन कसैले पनि नेपालको आन्तरिक मामिलामा चासो राख्नुपर्ने जरुरी छैन। नेपालको भाग्य र भविष्यको निर्णय हामी आफैं गर्छाैं। वाम गठबन्धनमा विदेशीको चाल देख्ने अत्यन्त गलत चस्माधारी नजरियाहरू पनि छन्। ती नजरियाको अदूरदर्शिता असक्षमताप्रति म टिठ व्यक्त गर्दछु।

 

LEAVE A REPLY