व्यापार व्यवसायमा सफलताको रहस्य



 

व्यापार, व्यवसाय, औद्योगिक क्षेत्रमा सफलता हासिल गर्नका लागि विभिन्न तरिकाहरू अपनाउन सकिन्छ। हामी कुनै पनि काम गर्नका लागि उपयुक्त अवसर खोजिरहेका हुन्छौं। तर, कुनै पनि काम गर्नका लागि वा कुनै पनि उत्पादन पस्कनका लागि जहिले पनि अवसरले पर्खिरहेको हुन्छ। बजारमा अरू उत्पादनसँग गुणस्तरमा त प्रतिस्पर्धा गर्नुपर्छ नै, मूल्यसँग पनि।

यदि सोही गुणस्तरको, सोही मात्राका कुनै पनि उत्पादन सस्तो मूल्यमा उपलब्ध हुन्छ भने उपभोक्ताले तपाईंको सामग्री नै खोज्नेछन्। किनभने उपभोक्ताको लागि मूल्यको पनि महत्त्व हुन्छ। ठूला कम्पनीले आफ्नो उत्पादन बजारमा उतारेसँगै विज्ञापनमा अधिक खर्च गर्छ। पेपर एड, ब्रोडकास्ट एडदेखि होर्डिङ बोर्ड राख्नमा समेत लाखौं, करोडौं खर्च गर्छन्।

हामीलाई थाहा भएकै हो, उक्त खर्च उपभोक्ताको खल्तीबाटै पूर्ति गरिने हो। यसका लागि आफ्नो उत्पादनको मूल्यमा नै पब्लिसिटी खर्च पनि जोडिएको हुन्छ। तर, तपाईंले आफ्नो सामग्रीका लागि अनावश्यक विज्ञापन गर्नुभएन भने व्यायभार बढ्दैन। फलतः उचित मूल्यमा आफ्नो उत्पादन उपभोक्तामाझ पुर्याउन सकिन्छ।

तपार्इंले विज्ञापन गर्नु वा मेरो उत्पादन राम्रो छ भन्दै हिँड्नुपर्दैन। तर, यसका लागि तपाईंको उत्पादन गुणस्तरीय हुनुपर्छ। यदि त्यसो भयो भने उक्त उत्पादनको गुणस्तर स्वयंले आफ्नो प्रचार गर्छ। कुनै पनि उत्पादन गुणस्तरीय छ र मूल्य पनि तुलनात्मक रूपमा सस्तो छ भने त्यसलाई उपभोक्ताले खोजेरै खरिद गर्छन् विज्ञापनको जरुरत छैन। आफ्नो उत्पादनको बजारीकरण वा सफलताका लागि तपाई उपभोक्तामैत्री हुनु आवश्यक देखिन्छ।

यदि उपभोत्ताको हित र फाइदा सोच्नुभयो भने स्वतः सफल हुन्छ। उपभोक्ताबाट जति सक्दो लिने होइन, उनीहरूलाई दिने हो। गुणस्तरीय सामग्री उचित मूल्यमा उपलब्ध गराउने हो भने उपभोक्ता मारमा पर्दैनन्। सबै उपभोक्तालाई थाहा हुन्छ कि जहाँ सामानको धेरै प्रचारप्रसार हुन्छ त्यो सामान साँच्चिकै राम्रो हुँदैन भनेर। त्यसैले यदि तपाईंलाई आफ्नो व्यापार व्यवसाय बढाउनु छ भने प्रचार होइन उपभोक्ताको माग र फाइदालाई ध्यानमा राख्नुहोस्। यसो गर्दा तपाईं व्यपारमा सफल बन्न सक्नुहुन्छ।

– अनुपराज पौडेल, कास्की
किसानलाई चुनावभन्दा कामकै रन्को
सरकारले एकै चरणमा सम्पन्न गर्न सकिने स्थानीय निकायको चुनाव पनि पहिलो, दोस्रो, तेस्रो गर्दै तीन चरणमा सम्पन्न गर्यो। चुनाव त सम्पन्न भयो तर मुख्य वर्षायाममा किसानहरूलाई धान रोपाईं गर्न भ्याइनभ्याइ भइरहँदा स्थानीय निर्वाचन भयो। असारसाउनको कामको चटारोका बाबजुद पनि किसान मतदान गर्न सहभागी भएका थिए।
धानको बीउ छर्ने, सिँचाइका लागि कुलो खन्ने, मलको व्यवस्थापन गर्ने काममा किसानहरू ब्यस्त थिए। यद्यपि खेतिपातीको काम हुने बेलामा पनि जनता चुनावमा सहभागी भने भएका थिए। धानको बीउ छर्ने, खेतका गरा बनाउने काममा नलागे वर्षभरि खान धौधौ हुने बेलामा चुनाव भयो। त्यसमा पनि खेतमा व्यस्त हुने समय सरकारले चुनावको मिति सारेर हामी किसानलाई समस्यामा पारेको थियो।

बल्लतल्ल काम पनि, स्थानीय निर्वाचन पनि सकेका किसानहरू फेरि अन्नबाली थन्क्याउने मुख्य समयमा प्रदेश र संसदीय निर्वाचनमा सहभागी हुनुपर्ने भएको छ। यस्तो किन सरकार ? हामी काम गर्ने कि सधैँ चुनाव–चुनाव भन्ने ? चुनावमा सहभागी भएर आफ्नो अधिकार प्रयोग गर्नु, आफूलाई मन परेको व्यक्तिलाई निर्वाचित गराउनु त निकै राम्रो कुरा हो। तर, हामी बिहानबेलुका खेतबारीमा काम गरेर खाने किसानलाई कामको मुख्य समयमा निर्वाचन गराउनु अलिकति ठीक कुरा होइन सरकार। आगामी मंसिरमा हुन लागेको चुनावमा हामी भोट हाल्न जाने कि अन्नबाली थन्क्याउनेतिर लाग्ने ?

– राजन चौधरी, बर्दिया

स्वास्थ्य सेवामा छुट र निःशुल्क औषधि खोई ?

ज्येष्ठ नागरिकलाई निजी तथा सरकारी अस्पतालले स्वास्थ्य उपचारमा छुट दिनुपर्ने व्यवस्था गरे पनि कतिपय अस्पतालले जेष्ठ नागरिकलाई छुट दिनेबारे कतै पनि कुनै सूचनासमेत टाँस नगरेको पाइएको नेपाल समाचारपत्रमा प्रकाशित समाचारले सरकारको ध्यानाकृष्ट हुनुपर्ने हो।
सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्यमा निःशुल्क भने पनि कार्यान्वयनमा निकै चुनौती देखिएको छ। न त बिरामीले सहज तरिकाले अस्पतालबाट निःशुल्क औषधि पाउँछन्, न त स्वास्थ्य सेवा नै ? अहिले अस्पतालमा छुट र निःशुल्क औषधि पाउन कित आफ्नो मान्छे हुनुपर्यो, कि त भनसुन हुनुपर्यो। सरकारले निःशुल्क स्वास्थ्य सेवा त भन्छ तर नारामा मात्रै सीमित छ। स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकार गम्भीर बन्नै पर्छ।

बिरामी र बिरामीका आफन्तले छुटका लागि भन्नै नपर्ने, स्वतः छुट हुने व्यवस्था मिलाउनुपर्छ। कतिपय बिरामी र आफन्तलाई त निशुल्क औषधि र छुटका बारेमा थाहा नै हुँदैन भने के उनीहरूले यो सुविधा नपाउने त ? उनीहरूको अवस्था र उमेरका आधारमा सुविधा उपलब्ध गराए भैहाल्यो नि। शंका लागे मात्र प्रमाण खोज्नु क्या।

सरकारले केही वर्षअगाडि सरकारी स्वास्थ्य संस्थाबाट ७० प्रकारका औषधि निःशुल्क वितरण गर्ने प्रावधान ल्याएको थियो। यद्यपि ती औषधि अधिकांश स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण हुँदैनन्। सरकारी तथा निजी अस्पतालले जेष्ठ नागरिकलाई बेड र औषधि उपचारमा छुट दिने गरेको पाइँदैन। जसले गर्दा जेष्ठ नागरिकलाई सरकारले दिएको सेवा सुविधा नाम मात्रैको भएको छ। त्यसैले यस विषयमा सरकार कडा बनेर अनुगमन गर्नै पर्छ। र, छुट र निःशुल्क स्वास्थ्य सेवालाई व्यवस्थित बनाउनै पर्छ।
– हरिविनोद साह, कीर्तिपुर

प्रतिक्रिया दिनुहोस्