अव्यवस्थित बन्दै श्रीनगर बजार



 

सरिता चलाउने, सल्यान

मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित सल्यानको सुन्दर नगर श्रीनगरमा जथाभावी गाडी पार्किङ र पशु चौपाया छोड्नाले बजार अव्यवस्थित बन्न थालेको छ भने यसबाट दुर्घटनाको उच्च जोखिम बढ्दै गइरहेको छ।

बजारमा छाडारूपमा छोडिएका पशु चौपाया र अव्यवस्थित गाडी पार्किङका कारण बजारमा दुर्घटनाको जोखिम बढ्दै गएको हो।

यसरी खुलारूपमा पशु चौपाया छोड्दा चाड पर्वको बेलामा मानिसको भिड बढ्ने र विभिन्न सडक दुर्घटनासमेत हुनसक्ने बजार व्यवसायीको चिन्ता रहेको छ।
पशु चौपाया र अव्यवस्थित गाडी पार्किङ गर्नेलाई कारबाही गर्दै आए पनि ठूलाबडाले नै अटेरी गरेको श्रीनगर बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र बुढाको बताउनुभएको छ।

समितिले पटक–पटक आग्रह गर्दा पनि उनीहरूले नै आफूलाई दबाब दिने गरेको बुढाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘सर्वसाधारणलाई कारबाही गर्दा ठूलाबडा खुसी हुन्छन्, ठूलाबडालाई कारबाही गर्न खोज्दा आफूलाई बल प्रयोग गर्न आउँछन्।’

धेरै पटक त प्रतिस्पर्धात्मक तरिकाले घरसमेत घेर्न आएको बजार व्यवस्थापन समितिका अध्यक्ष बुढाको दुःखेसो रहेको छ। यसरी अटेरी गर्ने, अव्यवस्थित तरिकाले पशु चौपाया छोड्ने र गाडी पार्किङ गर्दै गए बजारको कुरुपता अझ बढ्दै जाने उहाँले बताउनुभयो। यसबारेमा शारदा नगरपालिकालाई पटकपटक आग्रह गर्दा पनि नगरपालिकाले कुनै चासो नदिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्