ईपीजी बैठक काठमाडौंमा शुरू



जयकुमार महर्जन, काठमाडौं

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को पाँचौं बैठक शनिबारदेखि काठमाडौंमा शुरू भएको छ।

बैठकमा नेपालको तर्फबाट संयोजक डा. भेषबहादुर थापा, सदस्यहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई सहभागी छन् भने भारतीय पक्षको तर्फबाट संयोजक भगतसिंह कोसियारी, सदस्यहरू महेन्द्र पी. लामा र डा. बीसी उप्रेती सहभागी भएका छन्। पूर्वराजदूत जयन्त प्रसाद भने अस्वस्थताका कारण बैठकमा उपस्थित हुनुभएको थिएन।

ईपीजीको पाँचौं बैठक गत भदौमै बस्नुपर्ने भए पनि दुवै देशका सदस्यहरूको कार्य व्यस्तताका कारण शनिबारबाट शुरू भएको हो।
बैठकमा नेपालले १९५० को मैत्री सन्धि परिमार्जन गर्नुपर्ने विषयलाई मुख्य एजेन्डा बनाएको छ। त्यसै गरी सीमा सुरक्षा र व्यवस्थापन, डुबान समस्या तथा आप्रवासनको विषयलाई पनि छलफलको विषय बनाइएको छ। भारतीय पक्षले दुई देशको सीमा सुरक्षा र व्यवस्थापनबारे छलफलको एजेन्डा बनाएको बताइएको छ।

बैठकमा भारतीय पक्षले नेपाल–भारतबीचको खुला सीमा व्यवस्थापन र नियमन गर्ने कार्यलाई जोडदार मागका रूपमा पेस गरेको छ। त्यसै गरी स्थलमार्गबाट आवतजावत गर्दा पनि अभिलेख राख्न जोड दिएको छ। उनीहरूले आप्रवासनको विषयमा पनि कुरा उठाएका छन्। भारतीय पक्षले आप्रवासन नागरिकलाई सुविधा दिनुपर्ने कुरा उठाएको छ।

बैठकमा कार्यपत्र प्रस्तुत गर्दै भारतीय पक्षका सदस्य प्राध्यापक उप्रेतीले खुला सीमामा हुने आपराधिक क्रियाकलापको नियन्त्रण, खुला सीमा नियमन, अवैध मुद्रा कारोबार, लागूपदार्थ ओसारपसार, आतंकवादलगायतका विषयमा दुवै देशले विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो।

नेपाल–भारत जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा नेपाली पक्षका सदस्य सूर्यनाथ उपाध्यायले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सीमा क्षेत्रमा भारतले एकतर्फी संचरना निर्माण गरेका कारण वर्षाको समयमा नेपाली भूमि डुबानमा परेको विषयमा छलफल पनि भएको थियो।
सीमा सुरक्षा र व्यवस्थापनका विषयमा दुवै पक्ष सकारात्मक भएको बैठकमा सहभागी एक सदस्यले नेपाल समाचारपत्रलाई बताए। यसपालिको बैठकमा दुवै देशले सीमा सुरक्षा र नियमनलाई मुख्य एजेन्डा बनाएका छन्।

नेपाल–भारत प्रबुद्ध समूह विशेष गरी १९५० को मैत्री सन्धि, व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी विभिन्न सन्धि–सम्झौतामा छलफल गरी दुवै देशको सरकारलाई सुझाव दिन गठन गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्