वीरगन्ज महानगरपालिकाका मेयर, उद्योगीको समरीदेखि मेयरको पगरीसम्म



कृष्णउदास खनाल, वीरगन्ज

२०७३ साल फागुन ६ गतेभन्दा अगाडि विजय सरावगी वीरगन्जका एक उद्योगीका रूपमा मात्रै परिचित थिए। नेकपा माओवादीनिकट जस्ता देखिने सरावगी राजनीतिमा सक्रिय पनि थिएनन्। वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै नेपाल उद्योग वाणिज्य संघको कार्यकारी सदस्य रहेका सरावगी अकस्मात् २०७३ फागुन ६ गते फोरम नेपालमा प्रवेश गरे।

उद्योगी भएका कारणले राजनीतिमा सरावगीको आगवनलाई अर्थपूर्णरूपमा हेरेको वीरगन्जको समाजले अन्ततः वीरगन्ज महानगरपालिकाको मेयरको पगरी गुथाइदिएका छन्।
फोरममा प्रवेश गरेपछि उनी राजनीतिमा र चुनाव प्रचारप्रसारमा सक्रिय रहेका थिए। वैशाख ३१ गते मात्रै नभई असारको १४ गते पनि चुनाव नहुँदा सरावगीलाई फाइदा भयो। यस बीचमा उनले चुनावी अभियानलाई तीव्र बनाए र अन्ततः असोज २ गतेको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार अजय द्विवेदीलाई पछि पार्दै लगभग आश्चर्यजनक रूपमा वीरगन्जको मेयर भए। जनताको साथ पाएकै कारण वीरगन्जको मेयर बन्न सफल भएको उनी बताउँछन्। वीरगन्जलाई नेपालकै उत्कृष्ट शहर बनाउने उनीसँग योजना छ। भरतपुरकी मेयर रेणु दाहाललाई पनि भेटेर उनले वीरगन्जको विकासको विषयमा छलफल गरेका छन्। सरावगी एक कुशल व्यापारी भएका नाताले उनमा वीरगन्जलाई समृद्ध बनाउन सक्ने आधार आफूले देखेको वीरगन्जका पत्रकार गोविन्द देवकोटा बताउँछन्।

क्षमतावान् र सबैलाई मिलाउन सक्ने भएकै कारण सरावगीले मेयर पद जित्न सफल भएको विश्लेषण देवकोटाको छ। राजनीतिमा दक्ष नभइसकेपछि उद्योग क्षेत्रमा नै सरावगीको नाम काफी छ। वीरगन्ज औद्योगिक नगरी भएका कारण उद्योग क्षेत्रलाई नै बढी प्राथमिकता दिए पनि वीरगन्जको मुहार फेरिने सक्ने सम्भावना रहेको यहाँका बुज्रुकको तर्क छ।

वीरगन्जका सबै समुदायको मत पाएर मेयरको पदमा पुगेका सरावगीले वीरगन्ज महानगरपालिकाबाट पाउने सेवा सुविधा नलिने घोषणा गरिसकेका छन्। सरावगीका लागि महानगरपालिकाको सेवा सुविधामा खासै लालच नभएको उनी निकटका व्यक्तिहरू बताउँछन्। उनी आफै धनाढ्य भएकाले पनि लालच कम भएको तर्क गर्नेहरूको जमात पनि उल्लेख रहेको पाइएको छ। नेपालका महानगरमध्ये उद्योग क्षेत्रबाट मेयर पद हत्याउने सायद सरावगी नै एकमात्र पात्र रहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्