वामपन्थी एकता कांग्रेसविरुद्ध होइनः एमाले



 

काठमाडौं, (नेस)
नेकपा एमालेले तीन पार्टीबीच भएको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति कांग्रेसेविरुद्ध नभएको बताएको छ। सत्तारूढ दल कांग्रेसले वामपन्थी गठबन्धन ‘अपवित्र’ भन्ने आरोप लगाएपछि प्रमुख प्रतिपक्ष दल एमालेले वापमन्थी एकतालाई लिएर लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न नगर्न कांग्रेसलाई चेतावनी दिएको हो।

शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादीसँग भएको सहमति ऐतिहासिक भएको निष्कर्ष निकाल्दै सहमति कार्यान्वयन गर्न लचिलो हुने निर्णय गरेको छ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वाम एकता र सहमतिलाई लोकतन्त्रमाथिको खतरा, अधिनायकवादको यात्रा, राजनीतिक अस्थिरता निम्त्याउने खेल भन्नु गलत भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो।

उहाँले माओवादी केन्द्रसँगको एकता सरकार ढाल्नका लागि नभएको र यही सरकारले चुनाव गराउने बताउनुभयो। एमालेले वामपन्थी एकताको नाममा सरकार परिवर्तन र सरकार परिवर्तनको नाममा चुनाव सार्ने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिएको छ। वरिष्ठ नेता खनालले निर्वाचन कार्यक्रम शुरू भइसकेको अवस्थामा मन्त्रिपरिषद् हेरफेर स्वीकार्य नहुने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्