१९५० को सन्धि मुख्य एजेन्डा सहित नेपाल-भारत प्रबुद्ध समूह बैठक सुरू !



नेपाल समाचारपत्र  काठमाडौँ । नेपाल-भारत दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक शनिबार राजधानीमा सुरू भएको छ ।  सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न  दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको बैठक बसेकाे हाे ।

बैठकमा भारतीय प्रबुद्ध समूहका सदस्य जयन्तप्रसादले अघिल्लो बैठकमा प्रस्तुत गर्नुभएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिका विषयमा नेपालले आफ्नो प्रतिक्रियासहित राय पेश गरिरहेको छ ।

बैठकमा नेपाली प्रबुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले नेपाल-भारत जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्ने समूहका एक सदस्यले जानकारी दिए ।

त्यसैगरी बैठकमा सीमा व्यवस्थापनबारेमा पनि छलफल हुने जानकारी दिँदै ती सदस्यले स्थलमार्ग भएर आवातजावत गर्ने दुवै देशका नागरिकमा परिचयपत्र लागू गर्नेबारे छलफल हुने बताए । हाल हवाईजहाजबाट यात्रा गर्ने भारतीय र नेपाली नागरिकलाई मात्र परिचयपत्र अनिवार्य गरिएको छ ।

सतहमार्ग भएर नेपालबाट भारत प्रवेश गर्ने र भारतीय भूमिबाट नेपाल आउनेको अभिलेख राख्ने विषयलाई पनि समूहले छलफलको सूचीमा समावेश गरेको ती सदस्यले बताए ।

बैठकमा भारतीय समूहका संयोजक एवम् भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती हुनुहुन्छ । समूहका एक सदस्य जयन्तप्रसाद भने अनुपस्थित हुनुहुन्छ । उहाँको अनुपस्थितिमा भएको बैठकलार्इ कुटनीतिक वृत्तमा अर्थपूर्णरुपमा लिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्