बद्मास नै हो त हरिबहादुर ?



चिरञ्जीवी मास्के
पुस्तक कस्तो राम्रो हुन्छ ? यो बिदामा कुन पुस्तक पढ्ने होला ? आमरुपमा यो जिज्ञासा राख्दा धेरै पुस्तकहरुको नाम आए– रजगज, मदनकृष्णको म, चिना हराएको मान्छे आदि। पुस्तक पसलमा गएँ, धेरै पुस्तक र्याकमा सजिएका थिए। विद्वान् मित्रहरुले सुझाएका पुस्तकहरु त छँदै थिए, मेरा आँखा भने हरिबहादुरमा गएर रोकियो। मैले धेरै खलबली र गलफती नगरी हरिवंश आचार्यको हरिबहादुर किनेर ल्याएँ। घटस्थापनाको भोलिपल्टबाट सो पुस्तक पढ्न शुरु गरेकोमा फूलपातीको भोलिपल्ट पढी भ्याएँ।

हरिबहादुर जति बद्मास छ, हरिबहादुरले जति बेइमानी गरेको छ, त्यो भन्दा कैयन् गुणा बढी बेइमानी समयले हरिबहादुरमाथि गरेको छ। र, समाजले मानव जातिमाथि नै गरेको छ। हरिबहादुर त एउटा पात्र न हो यो समाजको, कैयन् हरिबहादुरहरुले समाजको तालमा तरङ्ग पैदा गरिदिएका छन्। समयको छालमा सप्तरङ्ग पैदा गरिदिएका छन्।

हरिबहादुर त बद्मास छँदै थियो। समाउने न टेक्ने, टुहुरो हरिबहादुरको बद्मासी नै सहारा भैदियो जवानीमा। बल्यकालदेखि नै सहारा खोसिँदै गएको हरिबहादुरसँग अधबैंसे उमेरमा पनि त्यही बद्मासीले मात्र साथ दियो। हरिबहादुर पढ्ने हरेकले हरिबहादुरलाई मात्र गाली गर्छौं, बद्मास भयो भनेर। तर कसैले पनि हरिबहादुर बद्मास हुनुको कारण खोज्दैनौं। हरिबहादुरमा असल पात्रहरु पनि त छन्– मदनबहादुर, लाहुरे आदि। खै त तिनीहरुले हरिबहादुरलाई सुधार्न केही प्रयत्न गरे ? हरिबहादुरको हजुरआमा कमली आमाले अलि–अलि सुर्धान प्रयत्न गरेकी हुन् तर पार लागेन। हैन भने हरिबहादुरकै काका पूर्णबहादुरले पनि त बेवास्ता गरेका हुन् नि।

एउटा नेपाली उखान छ– हुनेलाई जहीँ–तहीँ नहुनेलाई कहीँ न कहीँ। बद्मास हरिबहादुरलाई अलैंचीजस्तो श्रीमती पर्नुपथ्र्यो त ? अलि असल, अलि भलाद्मी, अलि पढालेखा श्रीमती हरिबहादुरको भागमा भैदिएको भए तै सुध्रने थियो कि। कमली आमालाई मन नपरेको अलैंची हरिबहादुरलाई एकै नजरमा स्वर्गको अप्सराझैँ लागी। त्यसैले त भनेको बेइमान हरिबहादुरलाई समयले नै बेइमानी गरेको छ। पुस्तक वास्तवमै पुस्तौनी दस्ताबेज हो। हरिबहादुरले यो कुरालाई प्रमाणित गरिदिएको छ। राणाकालबाट शुरु भएको हरिबहादुरले पञ्चायत हुँदै गणतन्त्रमा आएर विश्राम लिएको छ।

नेपालमा एउटा कुरा निकै प्रचलनमा छ। व्यवस्था फेरियो तर नेताहरुको बानी फेरिएन अर्थात् नयाँ सिसीमा पुरानै रक्सी हाल्ने काम भयो। हरिबहादुरले त्यही कुरा बोलेको छ। राणाकालको जर्साबको हैकम, रबाफ र शान जति थियो गणतन्त्रका मन्त्री शेरविक्रम गर्जनको हैकम, रबाफ र शान पनि उस्तै छ।

हरिवंश आचार्यले राजनीतिलाई यति नजिकबाट बुझेका रहेछन् कि उनले राजनीतिको तीन कालखण्डलाई राम्रोसँग केलाउन भ्याएका छन्। राणाकालको रबाफ, जीवनशैली र सामाजिक परिवेश, पञ्चायतकालको परिवेश र प्रजातन्त्र÷गणतन्त्र कालको परिवेश, यी तीन कालखण्डको समय, समाज र स्वरुप हुबहु उतारिएको छन् हरिबहादुरमा।

हरिबहादुरको मध्यभागतिर अलिकति आश बाँचेका छन् हरिवंश आचार्यले। राजनीतिको आश, परिर्वतनको आश, माओवादीको आश। तर उनको आश पुस्तकको अन्त्यतिर पुग्दा मन्त्री शेरविक्रम गर्जनको व्यवहारसँगै मरिसकेको हुन्छ। बरु क्यान्सरले थला परेकी अलैंचीको पीडा र पीडासँग पौंठेजोरी खेल्न नसक्दा हरिबहादुरले खाएको हारसँगै हरिवंश आर्चायले पनि राजनीतिक हार बेहोरेका छन् शायद।

हरिबहादुर खराबै मात्र हुन् त ? कि खराबै खराबको संगतले झन् खराब भएका हुन् ? कुनै समयको शेरे भालु कसरी मन्त्री शेरविक्रम गर्जन बन्न सके ? अनि किन हरिबहादुरचाहिँ गाविस अध्यक्षसम्म पनि हुन सकेनन् ? अनुत्तरित लाग्छन् यी प्रश्न हरिबहादुरलाई केलाएर हेर्दा। आखिर शेरे भालुलाई त माओवादीको द्वन्द्वले मन्त्री बनाएको हो नि। राजनीतिमा लागेपछि जस्तोसुकै पाप पनि पखालिन सक्छ भन्ने उदाहरण बनेका छन् शेरे भालु।

राजनीति पापी हो कि मानिसले राजनीतिलाई पापी बनाउँदै छ ? थाहा छैन, तर राजनीति पापी हुँदै गएको छ। यथार्थमा कतिले सुनेका छन्, कतिले भोगेका छन्, माओवादीको १० बर्से द्वन्द्वकालमा धेरैको पाप पखाल्ने काम भएको छ। राजनीति पापी हुँदैनथ्यो भने हरिबहादुरले त्यत्रो सेवा गरेको शेरविक्रम गर्जनले क्यान्सर लागेर छट्पटाइरहेकी अलैंचीलाई जसरी पनि ओखती गरिदिन सक्थ्यो नि। खर्चको अभावमा हरिबहादुरले आफ्नो प्राणभन्दा प्यारी अलैंचीको उपचारसम्म गर्न सकेन। क्यान्सरले छट्पटिँदै अलैंचीले ज्यान फालिन् तर विचरा हरिबहादुरले केही गर्न सकेन। अलैंचीको मृत्युपछि पनि दहासंस्कारको पैसा नहुँदा विवश हरिबहादुरले आफ्नो संस्कार, संस्कृतिसमेत थाती राखेर अलैंचीको मृत शरीरलाई बागमतीमा बगाइदिन्छ। त्यति बेला हरिबहादुरसँग दिने केही थिएन भन्ने एउटै वाक्य थियो– अलैंची मलाई माफ गरिदे !

हरिबहादुरले धेरै बद्मासी गर्यो, सुध्रँदै सुध्रेन हरिबहादुर। हरिबहादुरलाई सुर्धान पूर्णबहादुर काका, मदनबहादुर, लाहुरे कसैले पनि प्रयत्न गरेनन्। के हरिबहादुर सुध्रनै नसक्ने हो त ? क्यान्सरले श्रीमतीको मृत्यु भएपछि हरिबहादुरले बगाएको आँसु रङ्गमञ्चमा कलाकारले भिक्स लगाएर निकालेको आँसुजस्तै हो त ? हैन, हरिबहादुर पनि त मानिस नै हो नि।

आँसु त मनबाट नै निस्कन्छ भनेको हैन ? त्यसो भए हरिबहादुरलाई सुधार्न किन प्रयत्न नगर्ने त ? जिम्मा हरिबहादुरका लेखक हरिवंश आचार्यलाई नै। हरिबहादुर–२ मा कमली आमाको सपना पूरा हुनेछ। मदनबहादुरले एउटा असल छिमेकी पाउनेछ। अलैंचीले जस्तो अरु कसैले अकालमै मृत्युवरण गर्नुपर्ने छैन। र, बाबुआमा भईकन पनि कृष्णेजस्तो टुहुरो कसैले हुनुपर्ने छैन।

प्रतिक्रिया दिनुहोस्