अवैध बिटक्वाइन कारोबार गर्ने समूह पक्राउ



रोविन पौडेल, काठमाडौं ।
पाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले नेपालमा अवैध क्रिप्टोकरेन्सिको कारोबार गर्ने ७ जनाको समूहलाई पक्राउ गरेको छ ।
सीआईबीले सिन्धुली कल्पवृक्ष घर भई हाल काठमाडौं बानेश्वर बस्ने ज्ञानप्रसाद पौडेल, अर्घाखाँची खन घर भई बानेश्वर नै बस्दै आएका माधब खनाल, काठमाडौं भाटभटेनिका प्रशान्त प्रताप शाह, नुवाकोट बेलटार घर भई कलंकी बस्ने बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ, र रूपन्देहीका मनिषकुमार गिरीलाई पक्राउ गरेको हो।

बिटक्वाइन नामको क्रिप्टोकरेन्सिको कारोबारबाट अभियुक्तले ठूलो मात्रामा कारोबार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाबाट हालसम्म ८ देखि १० लाख रुपियाँको कारोबार भएको देखिएको सीआईबी प्रमुख डीआईजी पुष्कर कार्कीले जानकारी दिनुभयो। बिहीबार सीआईबीद्वारा आयोजित पत्रकार सम्मेलनमा डीआईजी कार्कीले नेपालमा पनि बिटक्वाइनको कारोबार गर्नेको संख्या रहेको र त्यसबारे सचेत रहन नेपाल राष्ट्र बैंकले सूचना जारी गरेपछि सीआईबीले अनुसन्धान शुरू गरेको जानकारी दिनुभयो।

बिटक्वाइनलाई राष्ट्र बैंकले केही वर्षअघि नै गैरकानुनी घोषणा गरिसकेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले पनि यो विश्वव्यापी डिजिटल भुक्तानी प्रणालीलाई अवैध ठहर्छ। यस्तो कारोबार नोट तथा मुद्राको भौतिक कारोबार भने हुँदैन। यस्तो कारोबार कल, मेसेज तथा संकेतको प्रयोग हुने गरेको कार्कीले जानकारी दिनुभयो।यसको कारोबारमा कुनै सेवा शुल्क नलाग्ने, प्रयोगकर्ताको पहिचान नखुल्ने र करको दायराभित्र पनि नपर्ने प्रहरीले बताएको छ।

पक्राउ पर्नेले राष्ट्र बैंकले यस्तो कारोबारलाई पूर्ण रूपमा गैरकानुनी घोषणा गरिसकेको बिटक्वाईन र ग्राभिटि क्वाईन जारी तथा अवैध किनबेच गरी विदेशी विनिमयसमेत कारोबार गर्ने गरेको प्रहरीले बताएको छ। पक्राउ परेका बाट कारोबारका लागि प्रयोग गरिएका मोबाइल तथा ल्यापटप लगायतका उपकरण पनि बरामद गरिएको छ। ती व्यक्तिलाई प्रहरीले बुधबार र बिहीबार काठमाडौं र चितवनबाट पक्राउ गरेको हो।

बिटक्वाइन कारोबार गर्ने अन्य गिरोह पनि नेपालमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको कार्कीको दाबी छ।विकसित देशमा भने बिटक्वाइनलगायतका भुक्तानी वैध रहेको छ। नेपालीले बिटक्वाइन खरिद गरेर विदेशमा कारोबार गर्ने तथा किनबेच गर्ने प्रहरीले जनाएको छ। विदेशमा यस्तो कारोबार एटीएमजस्तै कार्डबाट समेत गर्न मिल्छ। साथै यसैबाट रकम पठाउन र लिन सकिन्छ। बिटक्वाइनको प्रयोग ओपन सोर्स सफ्टवेयरको रूपमा सातोसी नाकामोतोले सन् २००९ मा इन्टरनेटमा शुरू गरेका थिए। क्रिप्टोकरेन्सी एउटा डिजिटल प्रविधिबाट हुने अवैध भुक्तानी प्रणाली हो।

अनलाइनमा क्वाइन खरिद गरी विदेशमा पैसा वा सेवा खरिद गर्ने गरिन्छ।बिटक्वाइन एक नयाँ इनोभेटिभ डिजिटल करेन्सी हो। कम्प्युटर नेटवर्कको माध्यमबाट डिजिटल करेन्सीबिना कुनै मध्यस्थता कारोबार गर्न सकिन्छ। डिजिटल मुद्रामा कुनै पनि देश र सरकारको नियन्त्रण रहँदैन। यो दुनियाको सबैभन्दा पहिलो ओपन पेमेन्ट नेटवर्क हो। बिटक्वाइन चलाउन कुनै पनि संस्था छैन। जुनसुकै व्यक्तिले अर्को व्यक्तिसँगको भरोसाका आधारमा काराबार गर्ने गर्दछन्। यसमा कुनै पनि सरकार या बैंकको ब्याकअप रहँदैन। बिटक्वाइनको कारोबार वान टु वान हुन सक्छ।

नेपालमा यसको प्रयोग सन् २०१३ तिर शुरू भएको बुझिन्छ। सन् २००९ मा १० सेन्टमा शुरू भएको बिटक्वाइनको कारोबार हाल ४ हजार ३ सय ९३ डलरसम्म पुगेको छ। यसको कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ताको आवश्यकता पर्दैन र कारोबार गर्ने व्यक्तिको पहिचान खुलाउन पनि जरुरी हुँदैन।

प्रतिक्रिया दिनुहोस्