रोकिएको नवदुर्गा नाच सञ्चालन



नेपाल समाचारपत्र,ललितपुर ।
पाँच वर्षदेखि रोकिएकोे नवदुर्गा नाच यसपटक सञ्चालन भएको छ।

ठेचो नवदुर्गा भवानी देवी गुठी (गथुप्याखँ) र मू छँ आगँ गुठी, यल सांस्कृतिक संरक्षण समितिको संयुक्त पहलले सो नाच कोजाग्रत पूर्णिमा र त्यसको अघिल्लो दिन सञ्चालन गर्न सकेको हो।

धार्मिक र सांस्कृतिक महत्व रहेको सो नाच यसअघि रकम र सरोकारवालाबीच समन्वयको अभावले रोकिएको थियो। गुठीयार, संरक्षण समिति र ललितपुर महानगरपालिकामा लगातार दबाब दिएपछि नाचका लागि २ लाख रुपियाँ बजेट विनियोजित गरिएको थियो। ‘२ लाख रुपियाँ नाच सञ्चालन गर्न पुग्दैन। तैपनि यो शुरुआत भएकाले त्यति रकममा नाच सञ्चालन गर्न गुठीयार राजी भएको हो।’ –भवानीदेवी गुठीका अध्यक्ष भक्तलाल मालीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

लिच्छवीकालीन मू छेँ आगँ गुठीले क्षमा पूजा गर्दै पाटन दरबार क्षेत्रको मूलचोकमा नवदुर्गा नाच देखाइएको थियो। पाँच वर्षपछि देखाइएको नाच हेर्न स्थानीयसँगै विदेशी पर्यटकको घुँइचो लागेको थियो। तान्त्रिक विधिअनुसार निकै साधना गरेका कलाकारहरूले नाच देखाएका थिए।

यस किसिमको नाच विजया दशमी र कोजाग्रत पूर्णिमाको दिन दरबार क्षेत्रको मूलचोकमा देखाउने परम्परा रहेको छ। विजया दशमीको दिन नाच रोकिएको २० वर्ष भइसकेको भवानी गुठीले जनाएको छ। ‘नाच सञ्चालन गर्न पैसा पुग्दैन। विभिन्न गुठीका गुठीयारबीच समन्वय नभएपछि नाच सञ्चालन हुन नसकेको हो।’ –भवानी गुठीका अध्यक्ष मालीले भन्नुभयो। नाच सञ्चालनका लागि जम्माजम्मी ५ लाख रुपियाँ चाहिने बताउँदै अध्यक्ष मालीले रकम दरबन्दीमार्फत दिनुपर्ने माग गर्नुभयो।

सो अवसरमा नाच सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाउन सरोकारवालाबाट प्रतिबद्धता व्यक्त गर्ने कार्य भएको थियो। लोपोन्मुख नाच हेर्न आउनुभएका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नाच सञ्चालनका लागि कम्तीमा २ लाख रुपियाँ दरबन्दीको व्यवस्था गरेर दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुवै नगरपालिकालाई सांस्कृतिक रूपमा जोड्ने नाच भएकाले यसको संरक्षणका लागि स्थानीय तहमा जनप्रतिनिधि आएपछि विशेष पहल गर्ने बताउनुभयो। गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले आगामी वर्षदेखि नाच सञ्चालन गर्न जिन्सीसँगै नगदको अनुदान समयानुकूल परिमार्जन गर्ने वचन दिनुभयो।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहनुभएका यल सांस्कृतिक पर्व संरक्षण समितिका अध्यक्ष सविन श्रेष्ठले धार्मिक र सांस्कृतिक महत्वको नाच र पर्व संरक्षण गर्न पर्याप्त बजेटको व्यवस्था मिलाउन महानगरपालिका र गुठी संस्थानको ध्यानाकर्षण गराउनुभयो।

उहाँले ललितपुरलाई संस्कृतिक तथा पर्यटकीय नगर बनाउने अवधारणाको घोषणालाई व्यावहारिक बनाउन महानगरपालिकाले उचित ध्यान दिनुपर्नेमा जोड दिँदै यस कार्यमा उद्योग व्यवसायीहरूको सक्रिय सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका ललितपुर जिल्ला सचिव राजेश वज्राचार्यले ललितपुरलाई सांस्कृतिक तथा पर्यटकीय नगर बनाउनु नै सही अर्थमा स्मार्ट सिटी हुने धारणा राख्नुभयो।

पाटन दरबारसँग सम्बन्धित लिच्छवीकालिन, मल्लकालीन र शाहकालीन गरी तीनवटा पर्व रहेका छन्। ठेचाको नवदुर्गा नाच पुनः सञ्चालनसँगै पाटन दरबार क्षेत्रसँग सम्बन्धित लोपोन्मुख सातवटा पर्वमध्ये चारवटा पर्व अझै सञ्चालन हुन सकेका छैनन्। सबै खाले पर्वहरू एकआपसमा अन्तरसम्बन्धित देखिन्छन्।

लिच्छवीकालीन मू छेँ आगँ देवता पूजा विधि लोपोन्मुख भएको छ भने नवदुर्गा नाच, खड्ग जात्रा, अष्टमातृका नाच लोपोन्मुख हुँँदै गएको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्