दुई स्थानीय निकायलाई १/१ करोड



काठमाडौं महानगरपालिकाले दुई स्थानीय निकायलाई स्थानीय विकास रकमबापत १–१ करोड रुपियाँ हस्तान्तरण गरेको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकालाई उक्त रकम हस्तान्तरण गरिएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धुनिबेसीका मेयर बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो।

आर्थिक वर्ष २०७३÷२०७४ मा विनियोजित सो रकम हस्तान्तरण गर्दै कामपाका मेयर शाक्यले अब सहयात्रा गरेर अघि बढ्नुपर्ने बताउनुभयो। ‘हामीले निरन्तर उपलब्ध गराउने रकम कटौती नगरी स्थानीयस्तरमा विकास गर्न सो रकम हस्तान्तरण गरेका हौं।’ –उहाँले भन्नुभयो।

कार्यक्रममा बोल्दै धुनीबेसी नगरपालिकाका मेयर आचार्यले कामपा र फोहोर व्यवस्थापन गर्ने अन्य स्थानीय निकायले विगतमा गरेको सम्झौता पालना नगरेको आरोप लगाउनुभयो।
उहाँले भन्नुभयो– ‘हामी काठमाडौंलाई सहयोग गर्न चाहन्छौं। तर, विगतको सम्झौता कार्यान्वयन गर्नुपर्यो।’ ककनी गाउँपालिकाका अध्यक्ष लामाले रकम उपलब्ध गराउनु भन्दा पनि कामपाले फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।

उहाँले २ वर्षका लागि लिएको सिसडोल ल्यान्डफिल साइटमा १४ वर्षसम्म फोहोर व्यवस्थापन हुँदा समस्या आएको बताउँदै अब काठमाडौंको फोहोर बञ्चरे डाँडामै व्यवस्थापन गरिनुपर्ने बताउनुभयो। ककनी गाउँपालिका–३ का अध्यक्ष धननाथ बजगाईंले यस्तै अवस्थामा फोहोर व्यवस्थापनलाई निरन्तरता दिए पुनः अवरोध गर्ने चेतावनी दिनुभयो। उहाँले विगतमा भएको सहमति तत्काल कार्यान्वयन गर्नसमेत आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्