निर्वाचन आयोगलाई भ्याईनभ्याई



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले मंसिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि व्यवस्थापकीय र प्राविधिक तयारीलाई तीव्रता दिएको छ।

आयोगका अनुसार दुई चरणको निर्वाचनका लागि निर्वाचन तयारीको कार्यतालिका अनुसार जनशक्ति व्यवस्थापन, निर्देशिका तयार गर्ने कार्यअघि बढाएको हो। १० गते हिमाली र उच्च हिमाली भेगका ३२ जिल्लामा र २१ गते पहाडी र तराई–मधेसका ४५ जिल्लामा चुनाव हुने भएको छ।

निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन, तालिम, प्रशिक्षण र खटनपटनलगायत कार्यलाई आयोगले तीव्रता दिएको आयोगका प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। आगामी निर्वाचनमा सुरक्षा फौजबाहेक दुई लाखको हाराहारीमा जनशक्ति परिचालन हुने जनाइएको छ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १ सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० सदस्य गरी जम्मा २ सय ७५ तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० चयन हुनेछन्।

चाडपर्वको अवसरमा राजनीतिक दलहरूले आचारसंहिताविपरीत खुला स्थानमा चियापान तथा शुभकामना गर्ने सक्नेतर्फ आयोगले निगरानी बढाएको छ।आयोग निर्वाचनसँग सम्बन्धित नियमावली र निर्देशिका तर्जुमाको अन्तिम तयारीमा जुटेको छ। आयोगको शुक्रबार बसेको बैठकले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनेसम्बन्धी निर्देशिकाको टुंगो लगाएको थियो।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार संघ र प्रदेशको निर्वाचनका लागि समानुपातिक निर्वाचनतर्फको बन्दसूची असोज २९ गते र प्रत्यक्षतर्फको मनोनयन आगामी कात्तिक ५ गते गर्ने तय गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलसँग घनीभूतरूपमा छलफल गर्ने तयारी पनि गरिरहेको आयोगले जनाएको छ। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १ सय ६५ तथा समानुपातिक निर्वाचन प्रणालीबाट १ सय १० सदस्य गरी जम्मा २ सय ७५ तथा प्रदेशसभामा प्रत्यक्षतर्फ ३ सय ३० चयन हुनेछन्।

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याका आधारमा भूगोल र प्रदेशको सन्तुलनका आधारमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुसलमान र पिछडिएको क्षेत्रसमेतबाट बन्दसूचीका आधारमा प्रतिनिधित्व गराउनुपर्नेछ।

प्रत्येक प्रदेशसभामा प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्यामा हुन आउने सदस्य ३ सय ३० हुनेछन्।

सो प्रणालीमा कायम हुने सदस्य संख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशत अर्थात् २ सय २० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

आयोगका प्रवक्ता ढकालले निश्चित समयसीमा र कार्यतालिका बनाएर निर्वाचन लक्षित काम भइरहेको जानकारी दिनुभयो। प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै आयोगमा निर्वाचन तयारीसम्बन्धी कामको चाप बढेको पनि उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्