वनमन्त्री पाण्डेले कामपालाई फसाए



ईश्वरराज ढकाल, काठमाडौं ।
वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेको निर्माण कम्पनीले तीन वर्षअघि ठेक्का लिएको एउटा बाटो अहिलेसम्म निर्माण हुन सकेको छैन। मन्त्री पाण्डेको स्वामित्वमा रहेको कालिका कन्स्ट्रक्सनले २०७१ सालमा तीन पिप्लेदेखि सिसडोल ल्यान्डफिल साइटसम्मको आठ किलोमिटर बाटो १८ महिनाभित्र निर्माण गर्ने गरी ठेक्का लिएको थियो।

कालिका कन्स्ट्रसनले ठेक्का पाएको सो बाटो हाल दुई किलोमिटर मात्रै पिच भएको छ। काठमाडौं महानगरपालिका स्रोतका अनुसार पाण्डेका ज्वाइँ ठाकुर कँडेलले सो बाटो निर्माण गर्ने जिम्मा लिएका थिए।

सिसडोलवासीले बाटो निर्माण नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान लिएपछि कामपाले मन्त्री पाण्डेसँगै कुरा गरेको थियो। कामपा भौतिक निर्माण विकास विभाग प्रमुख उत्तर रेग्मीले दशैंअघि कुराकानी गर्दा तत्काल निर्माण गर्ने बताउनुभएको थियो। सो निर्माण कम्पनीले केही दिन काम गरेपछि पुनः छाडेको कामपाले दाबी गरेको छ। कामपा सिसडोल ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बाटो निर्माण गर्न पटकपटक ताकेता गर्दासमेत निर्माण कम्पनीले बेवास्ता गरेको बताउन्ुभयो।

उहाँले भन्नुभयो– ‘हामीले पटकपटक अनुरोध गरेका थियौं, ठेकेदारले वास्तै गरेनन्।’ सो निर्माण कम्पनीले १३ करोड रुपियाँमा बाटो ठेक्कामा लिएको थियो। बाटो निर्माण गर्ने जिम्मा लिएका कँडेलले धेरै समस्या आएको कारण निर्माण गर्न नसकिएको बताउनुभयो। बाटो निर्माणमा ढिलाइ भएको बारे जिज्ञाशा राख्दा कँडेलले भन्नुभयो– ‘तपाईं को हो नचिनीकन किन जवाफ दिने? भेटमै गफ गरौंला।’

शक्तिको आडमा काममा लापरवाही गरेपछि सो कम्पनीलाई कामपाले कारबाही प्रक्रिया अघि बढाउने भएको छ। कामपाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो– ‘हामी आएको ४ महिना भयो, यसअघि के भएको थियो थाहा भएन।’ अब बाटो बनाउने जिम्मा लिएका व्यक्तिलाई बोलाएर कारबाही प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो। उहाँले बाटो निर्माण नभएकै कारण पटक पटक फोहोर व्यवस्थापनमा समस्या आउने गरेको बताउनुभयो।

नुवाकोटको ककनी गाउँपालिका ३ का अध्यक्ष घननाथ बजगाईंले अब पनि बाटो निर्माण नभए फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो– ‘जताततै खाल्डाखुल्डी छन्, फोहोर बोक्ने सवारीदेखि स्थानीयवासीलाई मोटरसाइकल चलाउनसमेत समस्या परेको छ। यस्तो अवस्थामा फोहोर व्यवस्थापन गर्न दिँदैनौं।’

उहाँले कामपाको लापरवाहीको कारण ठेकेदारले काम नगरेको आरोप लगाउनुभयो। ठेकेदारलाई कारबाही गर्न नसक्ने कामपाको कमजोरीका कारण समस्या जटिल बन्दै गएको बताउनुभयो। मेयर शाक्यले भने ठेकेदारलाई सबैको सामु उपस्थित गराएर स्पष्टीकरण सोधिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्