हामी बिचलित भएका छैनौं ः कांग्रेस



रामकृष्ण चापागाईं, काठमाडौं ।
नेपाली कांग्रेसले नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरी पार्टी एकीकरणसम्म गर्ने भनी सहमति भएपछि विकसित राजनीतिक परिस्थितिबाट बिचलित नभई राष्ट्रिय एकता, लोकतान्त्रिक शासन, शान्ति प्रक्रिया र संविधान कार्यान्वयनमा जिम्मेवारीका साथ अगाडि बढ्ने
जनाएको छ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिसमेत तोकी त्यसलाई आवश्यक पर्ने महŒवपूर्ण कानूनी व्यवस्था सुनिश्चित भइसकेको अवस्थामा नेकपा माओवादी केन्द्र र एमालेबीच भएको चुनावी तालमेल गर्ने निर्णयलाई अस्वाभाविकरूपमा लिएको छ। साथै माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरी सरकारको वर्तमान गठबन्धन निर्माण गर्दा भएको ३ बुँदे सहमति तोडेको ठहर पनि गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले विकसित राजनीतिक घटनक्रमबारे छलफल गर्दै संविधान कार्यान्वयन, राष्ट्रिय एकता र विभिन्न जाति तथा समुदायबीचको सद्भाव र विश्वासका आधारमा देशलाई समृद्धि र विकासको मार्गमा अगाडि बढाउने भन्दा पनि विभाजनको मानसिकतालाई प्रोत्साहन गर्दै लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक सद्भावसमेतलाई कमजोर पार्नेतर्फ उन्मुख हुँदै आएको नेकपा एमालेसँग माओवादी केन्द्रले गरेको सहकार्यले देशलाई अनावश्यकरूपमा धु्रवीकरणतर्फ धकेलेको निष्कर्ष निकालेको छ।

बैठकले लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर पार्दै निरकुंशता र अधिनायकवादलाई प्रोत्साहित गर्ने, सामाजिक सद्भाव र एकतालाई कमजोर गर्दै राष्ट्रिय एकतालाई कमजोर पार्ने, विधिको शासनमा आधारित लोकतान्त्रिक पद्धतिमार्फत देशमा समृद्धि सृजना गर्दै आम जनताको पहुँचमा पुर्याउने सोचलाई कमजोर पार्ने प्रवृत्तिलाई दृढताका साथ नेपाली कांग्रेसले सामना गर्ने र यी प्रवृत्तिलाई पराजित गर्ने निर्णय गरेको छ।

कांग्रेस बैठकले आफ्ना सम्पूर्ण कार्यकर्ता, शुभचिन्तक र समर्थक, भ्रातृ तथा शुभेच्छुक संस्थालाई राष्ट्रियता, लोकतान्त्रिक मूल्य र मान्यतामाथि हुन थालेको आक्रमणलाई दृढताका साथ सामना गर्दै एकताबद्ध भएर उच्च मनोबल र सक्रियताका साथ आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आह्वानसमेत गरेको छ।
बैठकमा बोल्ने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले लोकतान्त्रिक मूल्यमान्यता, राष्ट्रिय एकताका साथै संविधान कार्यान्वयनमा समेत चुनौती पैदा हुने भएकाले आगामी निर्वाचनमा कांग्रेस आन्तरिकरूपमा एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभएको थियो।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आन्तरिकरूपमा पार्टी एकढिक्का हुनुपर्ने भन्दै उम्मेदवार चयनमा पार्टी एकढिक्का भएको व्यवहारमै देखाउनुपर्नेमा जोड दिनुभएको थियो। आन्तरिक गुट उपगुटले स्थानीय निर्वाचनमा अपेक्षित विजय हासिल गर्न नसकेको कांग्रेसले वाम एकतापछि आन्तरिकरूपमा एकढिक्का हुने रणनीति अपनाएको छ।

केन्द्रीय समिति बैठकले कांग्रेसकै नेतृत्वमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराई संविधानको कार्यान्वयन तथा मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउने राष्ट्रिय दायित्व पूरा गर्ने जनाएको छ। बैठकले देशका सबै लोकतान्त्रिक, राष्ट्रवादी र प्रगतिशील राजनीतिक शक्तिबीचमा आपसी सद्भाव कायम राख्दै सहकार्य र आवश्यकताअनुसार चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको छ।

बैठकमा समसामयिक विषयमा धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले विकसित राजनीतिक घटनाप्रति डराउनुपर्ने कुनै कारण नभएको भन्दै आन्तरिक रूपमा एकढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बताएका थिए। बैठक चलिरहेका बेला कांग्रेस नेता महेश आचार्यले शान्ति प्रक्रियाको एउटा पक्ष भएर आएको माओवादी एमालेमा मिसिएपछि शान्ति सम्झौता गरेको पक्षको वारेस को हुने भनी प्रश्न गर्नुभएको थियो।

बैठकमा उम्मेदवार चयनका लागि तुरुन्त संसदीय बोर्ड गठन गर्नुपर्ने धारणा आए पनि सभापति देउवाले दुई÷तीन दिनभित्रै संसदीय बोर्ड गठन गरी उम्मेदवार चयन गरिने बताउनुभएको थियो। उम्मेदवार चयनको सम्बन्धमा नेपाली कांग्रेसले साविक संविधानसभा (हाल व्यवस्थापिका संसद्) को समानुपातिक निर्वाचन प्रणालीबाट सभाषद्÷सांसद बनेका व्यक्तिलाई आसन्न प्रतिनिधिसभाको निर्वाचनमा अपबादबाहेक समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार पुनः नबनाउने निर्णय गरेको छ।

साथै स्थानीय तहको निर्वाचनमा महानगर÷उपमहानगर, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद र अन्य पदमा पार्टीका तर्फबाट उम्मेदवार बनेका व्यक्तिलाई प्रदेशसभा तथा प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवार नबनाउने निर्णय पनि गरेको छ। बैठकले २०७० को आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध उम्मेदवारी दिएका तथा त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेकालाई प्रदेशसभा र प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवार नबनाउने निर्णय गरेको छ।

बैठकले पुनर्संरचित ठूलो भूगोलसहितका निर्वाचन क्षेत्र तथा अत्यन्त कम समयावधि भएका कारण २७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै उम्मेदवारको नाम टुंगो लगाइसक्ने निर्णय गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार चयन गर्न संसदीय समिति गठन गर्न पार्टी सभापतिलाई अधिकार दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्