जर्मनी र इङ्ल्यान्ड विश्व कपमा छनोट



लण्डन,विश्व कप अन्तर्गत यूरोपेली छनोट चरणको खेलमा जित्दै इङ्ल्यान्ड र जर्मनीले रुस विश्व कपमा स्थान बनाएका छन् । दुवै राष्ट्रले १ खेल बाँकी हुँदै २०१८ को विश्व कपमा स्थान पक्का गरेका हुन् ।

इङ्ल्यान्डले स्लोभेनियालाई वेम्ब्ली मैदानमा १–० ले पराजित गर्यो भने जर्मनीले नर्दर्न आयरल्यान्डलाई १–३ ले हराएको हो ।

घरेलु मैदानमा स्तरिय प्रदर्शन गर्न नसकेपनि ह्यारी केनको इन्जुरी समयको गोलमा इङ्ल्यान्ड एक खेल अघि छनोट भएको हो । समूहको अर्को खेलमा स्कटल्याण्डले स्लोभाकियालाई १–० ले पराजित गर्दै दोस्रो हुने सम्भावना जीवित राखेको छ । समूह ‘एफ’ मा पहिलो स्थानमा रहेको इङ्ल्यान्डको २३ अंक छ भने स्कटल्याण्डको १७ तथा स्लोभाकियाको १५ र स्लोभेनियाको १४ अंक छ ।

समूह ‘सी’ मा भने जर्मनीले नर्दर्न आयरल्यान्डको घरेलु मैदानमा सहज जित हात पार्यो। खेलको दोस्रो मिनेटमा सिबासटियन रुडीको गोलमा अग्रता लिएको जर्मनीले २१ औं मिनेटमा स्याण्ड्रो वेग्नरको गोलमा अग्रता दोब्बर पारेको थियो ।

दोस्रो हाफमा ८६ औं मिनेटमा जोसुवा किम्मीचले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरेपनि इन्जुरी समयमा जोश म्यागेनिसले घरेलु टोलीलाई सान्त्वोना गोल दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्