नेपाल घुम्ने आफ्ना नागरिकलाई झुक्किएर पनि भारत प्रवेश नगर्न चीनको आग्रह



काठमाडौँमा रमाउँदै चिनियाँ पर्यटक

नेपाल समाचारपत्र, काठमाडौ ।

चीनले नेपालमा घुम्न आउने आफ्ना नागरिकलाई भारत प्रवेश नगर्न आग्रह गरेको छ ।

दोक्लाम विवादपछि पहिलो ‘ट्राभल एड्भाजरी’ जारी गर्दै चीनले आफ्ना नागरिकलाई नेपाल र भारतको सीमा क्षेत्रको यात्रामा सचेत हुन भनेको हो । सीमा क्षेत्रमा खटिने भारतीय सुरक्षाकर्मी, सुरक्षा निकायको भौतिक पूर्वाधार र सवारीको फोटो नखिच्न पनि आग्रह गरेको छ ।

चीनले भारतीय सीमा क्षेत्रका बजार भ्रमणमा रोक लगाउँदै एक देशबाट अर्को देशमा प्रवेश नगर्न निर्देशन दिएको छ ।
चीनले नेपाल घुम्न आउने आफ्ना नागरिकलाई रातको समयमा बाहिर नजान, प्रकृतिक विपत्ति, चोरी, यात्रामा विवाद लगायतका समस्या भएमा नेपाल प्रहरी र काठमाडौंस्थित चिनियाँ दूताबाससँग सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

चिनियाँ पर्यटकहरु नेपाल आउन थालेको १५ वर्ष मात्र भएको छ । १६ अप्रिल २००१ मा चिनियाँहरुलाई नेपाल घुम्न प्रत्सासित गर्ने समझदारी दुई देशबीच भएको थियो । त्यसको झण्डै एक वर्षपछि जुन २००२ बाट चिनियाँ पर्यटक नेपाल आउन थालेका हुन् । यसअघि चिनियाँहरु पर्यटकका रुपमा नेपाल आउन पाउँदैनथे ।

प्रतिक्रिया दिनुहोस्