दशैंमा दोब्बर भाडा असुल्दै सुमो



 

नेपाल समाचारपत्र
हेटौंडा
दशैं मान्न हेटौंडा आएका यात्रीले काठमाडौं फर्कंदा सुमोले दोब्बर भाडा असुली गर्ने गरेका छन्। हेटौंडामा सञ्चालित आधा दर्जन बढी सुमो काउन्टरबाट नै यात्रीसँग तोकिएभन्दा दोब्बर भाडा असुली गरिएको यात्रीहरूले गुनासो गरको छन्।

सुमो काउन्टरले सुमोको कृत्रिम अभाव सिर्जना गरेर व्रह्मलुट गरेको यात्रीको गुनासो छ। काठमाडौंबाट हेटौंडा आउँदा ४ सय रुपियाँ भाडा भए पनि १ हजार तिरेर आएको र काठमाडौं फर्कंदा पनि ८ सय रुपियाँ भाडा तिर्नुपरेको यात्रीहरू बताउँछन्। हेटौंडाको मेनरोड र बसपार्कमा रहेका सुमोको टिकट काउन्टरबाट सुमोले दशैंको टीकाको भोलिपल्टदेखि नै ८ सयसम्म भाडा असुल थालेका हुन्।

हेटौंडा–काठमाडौं दिनहुँ करिब ५ सय साना सवारीसाधन ओहोर दोहोर गर्छन्। प्रत्येक दिन सुमो काउन्टरमा आउँदा पनि काउन्टरहरूले ‘सुमो छैन’ भन्ने र दोब्बर भाडा असुल्ने गरेको हेटौंडा–४ का श्याम सापकोटाले बताउनुभयो। हेटौंडाबाट काठमाडौं जान यात्रीको काउन्टरमा झिसमिसेदेखि साँझसम्म भिड लाग्ने गरेको छ। ८ सय रुपियाँ तिर्न यात्री तयार भएपछि मात्र सुमोको टिकट दिइने नभए सुमो नभएको जवाफ यात्रीले पाउने गरेका छन्। हेटौंडाबाट काठमाडौं जाने प्रत्येक यात्रीसँग ८ सय रुपियाँसम्म लिने गरेको शुभयात्रा सुमो काउन्टरका कर्मचारी धर्म राजथलाले बताए। सुमोले कम भाडा लिए पनि कहिले पनि काठमाडौं नजाने बस पालुङको बाटो भएर जाँदा १ हजार रुपियाँ लिने गरेको उनले दाबी गरे। हेटौंडाको मेनरोडमा रहेको ओम हरेराम हरेकृष्ण टाटा सुमोले पनि यात्रीसँग दोब्बर भाडा असुल गरिरहेको यात्रीको गुनासो छ। सुमो काउन्टरका कर्मचारी श्रवण गिरी काठमाडौंबाट रित्तै सुमो ल्याउनुपरेकाले यात्रीसँग बढी भाडा लिनुपरेको बताउँछन्।

तोकिएभन्दा बढी भाडा लिने सुमोलाई कानुनअनुसार कारबाही गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको भनाइ छ । बढी भाडा लिइएको विषयमा बुझ्न प्रहरी प्रमुखलाई तत्काल आफूले निर्देशन दिने उहाँले बताउनुभयो। गत वर्ष पनि काठमाडौंबाट हेटौंडा आएका र हेटौंडाबाट काठमाडौं गएका यात्रीसँग बढी भाडा लिए⁄नलिएको विषयमा यात्रीसँग सोधेर भाडा फिर्ता गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्