नेपालका लागि जित आवश्यक



 

नेपाल समाचारपत्र
काठमाडौं
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले छैटौं चरणको खेलमा हङकङविरुद्ध अवे मैदानमा यही अक्टोबरमा खेल्ने भएको छ।

नेपालले अक्टोबर १३ र १५ मा खेल्ने दुवै खेल महत्त्वपूर्ण छ। नेपालले आगामी विश्वकपमा छनोट हुन यो दुवै खेल जित्नै पर्ने आवश्यकसमेत रहेको छ। आजकल नेपाली टोलीले त्रिवि मैदानमा तयारी पनि थालिरहेको छ।

अंक तालिकामा नेपाल १० खेलपछि कुल ८ अंकसहित छैटौं स्थानमा रहेको छ। समूहका शीर्ष चार टोलीले आगामी वर्ष बंगलादेशमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने मौका प्राप्त गर्नेछन्। यसैले नेपालका लागि शीर्ष चारमा उक्लिन यी दुवै खेल जित्नै पर्ने दबाब छ। साथै शीर्ष चारका टोलीले आगामी चार वर्षसम्म एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पनि हासिल गर्नेछन्।

हालको अंकतालिका हेर्दा नेदरल्यान्डस्ले बंगलादेशको टिकट पक्का गरिसकेको छ। त्यस्तै पपुआ न्युगिनी र स्कटल्यान्डले पनि शीर्ष चारलाई निरन्तरता दिने देखिएको छ। हङकङको ११ अंक रहेको छ। यदि नेपालले हङकङविरुद्ध चार अंक जुटाउने हो भने शीर्ष चारमा उक्लिन सक्नेछ। यदि हारेमा भने नेपालको लागि शीर्ष चार असम्भव हुनेछ।

नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले हङकङलाई हल्का लिन नमिल्ने बताए। उनले भने– ‘जित त आवश्यक छ तर पनि अवे मैदानमा हामीले राम्रो खेलेमा जित्न पनि सकिन्छ।’

यसपटक शक्ति गौचन र मेहबुब आलम भने टोलीमा सहभागी छैनन्। शक्ति पायल्सकै कारण खेल्न पाएनन् भने मेहबुब वैकल्पिक सूचीमा परेका छन्। बलरद्वय सुशील कँडेल र ललितसिंह भण्डारी राष्ट्रिय टोलीमा पहिलो पटक समावेश भएका छन्। प्रशिक्षक टमाटाले उनीहरूबाट राम्रो सहयोग मिल्ने आशा राखेका छन्।

नेपाली टोलीः पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद् भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललित भण्डारी, सुसान भारी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने।

प्रतिक्रिया दिनुहोस्