दक्षिण अमेरिकी राष्ट्रले दाबी गर्ने



 

ब्युनस आयर्स, (एजेन्सी)
दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजनाको दाबी गर्ने भएका छन्।

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा तीन देशका राष्ट्रपतिले विश्वकप आयोजनाको योजना सार्वजनिक गरेका हुन्। यद्यपि बिडिङ प्रक्रिया शुरू हुन अझै केही वर्ष बाँकी नै छ। सन् २०३० को फिफा विश्वकप प्रतियोगिता शुरू भएको सय वर्ष हुनेछ। विश्वकप सन् १९३० मा पहिलो पटक उरुग्वेले आयोजना गरेको थियो। विश्वकपले एक शताब्दी तय गर्ने अवसरमा उरुग्वेले आयोजनाका लागि बलियो दाबेदारी प्रस्तुत गर्ने बताइएको छ।

तर ३ दशमलव ५ मिलियन जनसंख्या रहेको उरुग्वेले गर्ने भनिएको एकल आयोजनाको समर्थन न्यून रहने सम्भावना छ। अर्जेन्टीना भने उरुग्वेसँग संयुक्त रुपमा आयोजनाका लागि तत्पर रहेको जनाइएको छ। यसअघि पनि अर्जेन्टिना र उरुग्वेले विश्वकप र उमेर समूहको विश्वस्तरीय प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।
विश्वकप आयोजनाका लागि दाबेदारी दिने तरखरमा रहेको अर्को दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले भने अहिलेसम्म फिफाद्वारा प्रायोजित कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गरेको छैन। पाराग्वेका राष्ट्रपति होरोसी कार्टेसले बिडिङ तयारीका लागि आगामी नोभेम्बरको पहिलो साता पहिलो बैठक हुने बताए। उनले भने– ‘अरू देश पनि प्रतियोगिता आयोजना गर्न चाहन्छन्। तर उरुग्वेको दाबेदारी बलियो छ, जसले सय वर्ष मनाउनेछ।’ सन् २०२६ देखि विश्वकपमा ४८ राष्ट्र सम्मिलित हुनेछ।

यदि यी तीनै राष्ट्रले संयुक्त रूपमा सन् २०३० को फिफा विश्वकप गरेमा अर्जेन्टिनाले ६ वटा तथा उरुग्वे र पाराग्वेले समान दुई–दुईवटा स्टेडियममा खेलाउने प्रस्ताव अघि सार्ने बताइएको छ। जसअनुसार उद्घाटन खेल उरुग्वेमा खेलाउने र सेमिफाइनल र फाइनल क्रमशः पाराग्वे र अर्जेन्टिना हुने बताइएको छ। सन् २०३० को जुन र जुलाईमा यी तीन राष्ट्रले विश्वकप आयोजना गरेमा खेलाडीले जाडोको अनुभव गर्नेछन्। दक्षिणी धु्रवनजिकै अवस्थित यी राष्ट्रमा जुन र जुलाई हिउँदको महिना हो।

प्रतिक्रिया दिनुहोस्