तीन दिनभित्र क्षेत्र बाँडफाँड गर्नेे निर्णय



नेपाल समाचारपत्र
काठमाडौं

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनले तीन दिनभित्र क्षेत्र बाँडफाँड गर्ने निर्णय गरेको छ।

कार्यदलको बैठकले तीन दिनभित्र क्षेत्रको टुंगो लगाउने निर्णय गरेको हो। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले जिल्ला–जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएसँगै तीन दिनभित्र कुन क्षेत्रमा कुन दलले पाउने भन्ने टुंगो लगाउन लागेको हो।

बिहीबार सिंहदरबारमा बसेका दुईवटै कार्यदलको बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनमा आबद्ध सबै राजनीतिक दलको हैसियतअनुसार क्षेत्र तय गर्ने र बाँकी रहेका मध्ये ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्रले उम्मेदवारी दिनेछन्।

चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति गरेका ३ दलले प्रत्यक्षतर्फको उम्मेदवार बनाउँदा एमालेलाई ६० प्रतिशत र माओवादी केन्द्रलाई ४० प्रतिशत दिने सहमति भएको छ। सहमतिलाई मुख्य आधार बनाएर उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण गर्ने सहमति भएको नयाँ शक्ति पार्टी नेपालका नेता गंगानारायण श्रेष्ठले बताउनुभयो।

संविधानसभा निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई पनि आधार बनाउने बताउँदै श्रेष्ठले आर्थिक समृद्धिलाई मुख्य आधार बनाएर चुनावी घोषणा–पत्र मस्यौदा तयार पार्ने बताउनुभयो।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन र चुनावी घोषणा–पत्र निर्माणको काम तत्काल टुंगो लगाउन निर्देशन दिनुभएको थियो।

सहमतिअनुसारको काम अघि बढाउन तीन दलले गठन गरेका दुई कार्यदललाई प्रत्यक्षतर्फको उम्मेदवार चयनका लागि क्षेत्र निर्धारण र चुनावी घोषणा–पत्र निर्माणको आधार र समयसीमा तोकिएको छ। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६५ स्थानमा उम्मेदवार दिन पाउनेछन्। आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि तीन पार्टीबीच चुनावी तालमेलसँगै एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति भएको थियो।

कार्यदलले कुन दलले कहाँबाट टिकट पाउने भन्ने टुंगो लाग्न बाँकी रहेका बेला नेकपा एमालेले भने पार्टीका शीर्ष नेताहरू विभिन्न क्षेत्रबाट निर्वाचनका लागि सिफारिस भइरहेका छन्। माओवादी केन्द्रले भने कुनै पनि क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छैन।

कार्यदलले आजबाट काम थाल्ने
काठमाडौं, (नेस)
नेपाली कांग्रेससहितको ६ दलीय लोकतान्त्रिक गठबन्धनको कार्यदलले आजबाट काम थाल्ने भएको छ। बिहीबारबाट नै काम थाल्ने भनिए पनि सदस्यको नाम सिफारिसमा ढिलाइ भएको थियो। नाम सिफारिस भइसकेका नेताहरू पनि राजधानीबाहिर रहेकाले बिहीबार बैठक बस्न नसकेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँका अनुसार शुक्रबार कार्यदल सदस्यले आ–आफ्नो पार्टीमा छलफल गरेर कार्यदलको बैठक बस्नेछ। पहिलो बैठकमा आ–आफ्नो पार्टीको धारणा राखिने शुक्लाले बताउनुभयो।

बुधबार राति ६ दलबीच भएको सहमतिअनुसार लोकतान्त्रिक गठबन्धनले ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार बिहीबार नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, पूर्णबहादुर खड्को नाम सिफारिस भएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट सर्वेन्द्रनाथ शुक्ला कार्यदल सदस्य रहेका छन्। त्यस्तै, संघीय समाजवादी फोरम नेपालबाट महासचिव रामसहाय यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ कार्यदल सदस्यमा सिफारिस भएका छन्। राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे र नेपाल लोकतान्त्रिक फोरमबाट गोपाल दहित कार्यदल सदस्य भएका छन्।

गठबन्धनमा दुई दलको अडान
लोकतान्त्रिक गठबन्धन निर्माणमा सहमति जनाइसकेका दुई दलले छुट्टाछुट्टै अडान राखेका छन्। गठबन्धनका लागि सहमत भएका संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनसहितको एजेन्डा अगाडि सारेको छ।

फोरम नेपालका नेता अशोक राईले लोकतान्त्रिक गठबन्धनले संविधान संशोधनको एजेन्डालाई प्राथमिकतामा राखे मात्र आफूहरू गठबन्धनमा सहभागी हुने बताउनुभएको छ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा १५ सिटको माग गरेको छ। गठबन्धनका लागि आफूहरूलाई कम्तीमा १५ सिट प्रतिनिधिसभामा दिनुपर्ने राप्रपाका नेताहरूले दाबी गरेका छन्।

कांग्रेस केन्द्रीय
समिति बैठक आज
काठमाडौं, (नेस)
पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा आगामी मंसिर १० र २१ मा हुने निर्वाचनको तयारीका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्दै छ। बैठकमा आगामी निर्वाचनका लागि उम्मेदवार चयनको विषयमा छलफल हुने भएको छ।

एमाले–माओवादीबीच चुनावी तालमेलमा समझदारी भएपछि अन्य दललाई समेटेर लोकतान्त्रिक गठबन्धन बनाएको कांग्रेसले विकसित राजनीतिक घटनाक्रमबारे दुई दिन केन्द्रीय कार्य सम्पादन बैठकमा छलफल गरी केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको हो। केन्द्रीय समिति बैठकमा चुनाव केन्द्रित छलफल हुने कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिनुभएको छ।
समानुपातिकतर्फको सूची असोज २९ गतेभित्र तय गरिसक्नुपर्ने भएकाले केन्द्रीय समिति बैठक उम्मेदवार छनोट गर्ने विषयमा केन्द्रित हुने नेता महतको भनाइ थियो।

कांग्रेसले उम्मेदवार छनोटका बारेमा गाउँबाट क्षेत्र, क्षेत्रबाट जिल्ला हुँदै असोज असोज १७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिए पनि धेरै जिल्लाबाट नाम प्राप्त भएको छैन।

चुनावी तालमेल गर्न लोकतान्त्रिक गठबन्धन निर्माण भएको सन्दर्भमा उम्मेदवारको टुंगो कसरी लगाउने भन्ने प्रश्नमा केन्द्रीय सदस्यसमेत रहनुभएका डा. महतले भन्नुभयो– ‘समानुपातिकका लागि उम्मेदवार चयन गर्न गठबन्धनको मतलव नहुने र पहाडी जिल्लामा प्रत्यक्षतर्फको उम्मेदवार चयनमा पनि गठबन्धनको निर्णय कुर्नुपर्दैन।’

कांग्रेस नेतृत्वमा रहेको गठबन्धनमा राजपा, लोकतान्त्रिक फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम रहेका छन्। यो गठबन्धनको कार्यदलले आगामी निर्वाचनमा कसरी तालमेल गर्ने र सिट संख्या भागवण्डा गर्ने भन्नेबारेमा गृहकार्य गरिरहेको छ।

कांग्रेसको बुधबार र बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख विपक्षी दलसँग तालमेल गरेपछि सो पार्टीका मन्त्रीलाई हटाई लोकतान्त्रिक गठबन्धनबाट मन्त्री बनाउनेबारे चर्चा भएको बताइए पनि कांग्रेस नेता महतले सरकारमा मन्त्री फेर्नेबारे कुनै कुरा नउठेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्