युवापुस्तामाझ लोकप्रिय बन्दै फुटसल



मनोज रेग्मी ।
सन् १९३० बाट औपचारिक रूपमा ब्राजिलबाट शुरू भएको फुटसल खेल हाल नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ। खुला ठाउँको अभावले गर्दा शारीरिक व्यायाम गर्नबाट वञ्चित बनेका बालबालिका देखि वृद्धवृद्धासम्मका लागि फुटसल खेल अभ्यास उपयुक्त विकल्प बनेको छ। नेपालको सन्दर्भमा भने शुरूमा काठमाडौंमा मात्र केन्द्रित यो खेल अहिले विराटनगर, हेटौंडा, बनेपा, पोखरा, धरान, चितवनलगायतका देशका प्रमुख शहरमा विस्तार भइसकेको छ।

फुटबलकै सानो रूप अर्थात् इन्डोरमा खेलिने फुटसल खेलको इतिहास जति लामो छ, यसमा त्यतिकै रोचक कुराहरु पनि रहेका छन्। उरुग्वेका जुआन कार्लोस सेरिआनी ग्राभियरलाई फुटसलका प्रारम्भकर्ता मानिन्छन्। फुटसल शुरू भएको ३ वर्षपछि अर्थात् सन् १९३३ मा बल्ल यसमा नियम लागू गरिएको थियो। फुटबल ९० मिनेट खेलाइन्छ भने फुटसल ४० मिनेट र ५–५ जना खेलाडीहरु मात्रै खेल्न सक्छन्।

यस खेलका अधिकांश नियम फुटबलसँग मेल खान्छन्। तर एकमात्रै नमिल्ने भनेको यसमा हातले थ्रो हुँदैन। थ्रोलाई खुट्टाले नै प्रहार गरिन्छ। सन् १९३० देखि नै फुटसलको शुरुआत भएको मानिन्छ। ब्राजिलबाट शुरू भएको मानिएको यो खेल दक्षिण अमेरिकामै तीन दशकभन्दा बढी सीमित बनेको थियो। तर सन् २०१७ मा आइपुग्दा फुटसलको विश्वव्यापीकरण नै भइसकेको छ।

वि.सं २०६८ सालदेखि नेपालमा शुरू भएको फुटसल अहिले शहरबासीका लागि अपरिहार्य बनेको देखिएको छ। काठमाडौं उपत्यकामा मात्रै १ सयभन्दा बढी फुटसल कोर्टहरु सञ्चालनमा रहेको अनुमान लगाउन सकिन्छ।

कसरी खेलिन्छ फुटसल ?
अन्तर्राष्ट्रिय स्तरको फुटसल पिचको आकार ४०⁄२० मिटरको हुने गर्दछ। फुटसलमा एक समूहमा ५ जना गरी दुई समूहमा जम्मा १० जनाले खेल्ने गरिन्छ। धेरैजसो कुरा फुटबलसँग मिल्ने यस खेललाई फुटसल पिच र फुटसल बलबाट मात्र खेल्ने गरिन्छ। साथै यस खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भन्ने गरेको पाइएको छ।

विश्वजगतमा केही समय पहिलेदेखि यसको लोकप्रियता बढ्दै गए पनि नेपालमा यो खेल भित्रिएको त्यति धेरै समय भएको छैन। यद्यपि छोटो समयमा नै युवा पुस्ताहरुबीच यसको लोकप्रियता दिनप्रतिदिन चुलिँदो छ। फुटसल सञ्चालक पनि व्यवसाय फस्टाएकोमा दंग छन्। फुटसल खेलमा कुनै पनि उमेर हदको चिन्ता नहुने हुनाले ठूला उमेर समूहदेखि सानासम्म सबैले खेल्न सक्छन्।

फुटसल खेल्दै आएका व्यक्तिहरुको भनाइ

मिलन बम

म सधैँ फुटसल खेल्छु। फुटसल रमाइलो खेल हो। म प्रायः बिजी ब्रदर्स, एक्सल फुटसल र ढुकु फुटसल जाने गर्दछु। म र मेरा साथीहरु मिलेर फुटसल खेल्ने गर्दछौं। दैनिक एक घण्टा फुटसल खेल्दा शरीर तन्दुरुस्त हुने र साथीहरुसँगको जमघटले गर्दा मेरो मन निकै नै प्रफुल्ल हुने गर्दछ।

बिहानको समयमा बाहिर काम गर्न जानेहरुले बुकिङ गरेका हुन्छन्, त्यसैले हामीले पालो पाउनलाई अलिक गाह्रो हुने गर्दछ। दिउँसोको समयमा खेल्ने खेलाडीहरु कम हुन्छन्, त्यसैले हामीले खेल्ने समय धेरै पाउछौँ। दिउँसोको समयमा हामी कलेजका साथीभाइ मिलेर पनि खेल्ने गदर्छौं। धेरैजसो बेलुकाको समयमा फुटसल खेल्नका लागि धेरै मानिसहरुको जमघट हुने गर्दछ। बिहानको समयमा भन्दा बेलुकाको समयमा अलिक धेरै पैसा लाग्ने गर्दछ, किनभने बेलुकाको समयमा लाइट बाल्नुपर्ने हुनाले त्यसो गर्नुपरेको हो।

फुटसलको यति छोटो समयमा पनि यति धेरै विकास हुनु्मा सबै चकित छन्। शहरी क्षेत्रमा फुटबल जत्रो ठूलो मैदानका लागि खालि जग्गा कम हुने गर्दछ। तैपनि खालि जग्गामा घर निर्माण हुने गरेको पाइन्छ। यसै कारणले सानो घरजतिको क्षेत्रमा यो खेल खेल्न सकिने हुनाले यसको लोकप्रियता झन्झन् बढ्दै गएको हो।आजकल केटाकेटीहरु फुटसल भनेपछि हुरुक्कै हुन्छन्। थोरै समयमा पनि धेरै मज्जा लुट्न सकिने हुनाले फुटसले क्रेज बढ्ने गरेको छ।

पानी पर्दा होस् या घाम लाग्दा, अध्याँरो होस् या उज्यालो, फुटसल खेल्नलाई कसैले पनि रोक्न सक्दैन। फुटबल खेलमा जस्तो ९० मिनेटको समय खर्चिनु नपर्ने हुनाले यो खेल सबैलाई सुहाउँदो छ।

फुटसल निकै सजिलो र रमाइलो भए तापनि केटाकेटीको संगत बिग्रने र बालबालिकाहरुले लागूऔषध प्रयोग गर्नसक्ने पाइएको छ।

यस्तो खालको विकृतिलाई नियन्त्रण गर्न सके फुटसल खेल अझै पनि सबै वर्गका लागि निकै नै रोमाञ्चक खेल बन्न सक्छ।

युनेश अवाले, शंखमुल फुटसल

फुटसलको लोकप्रियता बढ्दै गर्दा विगत ३ वर्षदेखि राजधानीको बानेश्वरमा फुटसल कोर्ट चलाउँदै आएका शंखमुल फुटसलका सञ्चालक युनेश अवालेले आफ्नो फुटसल कोर्टमा दैनिक ८० देखि १०० जना सम्मले फुटसल खेल्ने गरेको बताउँछन्। उनी भन्छन्– ‘हामीले फुटसल खेल खेलेबापत् प्रतिघण्टा १२ सय देखि १५ सय रुपियाँसम्म लिने गरेका छौँ र बिदाको दिनमा भने मानिसहरुको जमघट अलिक बढि हुने हुनाले यसको शुल्क अलि महँगो हुन्छ।’ ३ वर्ष लामो समय फुटसल सञ्चालन गर्ने क्रममा काठमाडौं उपत्यकामा मात्र नभई अन्य क्षेत्रमा पनि फुटसलको तीव्र रूपमा विकास हुँदै गएको उनी बताउँछन्।

फुटसलको इतिहासमा शंखमुल फुटसलले ठूलो सफलता हासिल गर्दै पटक–पटक लिग पनि जित्दै आएको उनले बताएका छन्। लामो समयदेखि फुटसल खेल खेलाएर व्यवसाय धानेका युनेश मासिक १ देखि २ लाख रुपियाँसम्म आम्दानी हुने गरेको बताउँछन्।

यसरी व्यावसायिक सफलता बढ्नु सकारात्मक भए पनि एउटै व्यवसायमा धेरैले लगानी गर्न थालेपछि जोखिम बढेको फुटसल व्यवसायीहरुको भनाइ छ। पछिल्लो समय फुटसल खेल्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपछि काठमाडौंसहित देशका विभिन्न स्थानमा फुटसल कम्पनीहरु दर्ता हुने क्रम बढेको खुल्न आएको छ।

फुटसलमा दैनिक खेल्न जाने व्यक्तिहरु भन्छन् ‘खेलप्रति १६ देखि २० वर्ष उमेर समूहका व्यक्ति बढी आकर्षित भएको पाएका छौँ। ६ देखि ५७ वर्षसम्मका व्यक्तिले फुटसल खेल्ने गरेको देखिएको छ।’

कपडा फेर्ने छुट्टै कोठादेखि लिएर आराम गर्ने सुविधा, क्यान्टिन, साथीभाइ जम्मा हुने ठाउँ र फुटबलमा चाहिने सामग्रीहरु उपलब्ध हुने भएकाले सर्वसाधारणको फुटसलप्रति आकर्षण बढेको हो।

विक्रान्त नरसिंह राणा

म प्रायः जसो फुटसल खेल्न काठमाडौंको एक्सल फुटसल र ढुकु फुटसल जाने गर्दछु। फुटसल खेल मेरो प्यासन नै बनिसकेको छ। फुटसल फुटबलभन्दा भिन्न छ। सानो कोर्ट र थोरै खेलाडी भए पनि खेल्न सकिने यो खेल जसले पनि खेल्न सक्छन्। बृद्धा होस् या युवा फुटसल सबैलाई सुहाउँदो छ।

फुटबलमा धेरै खेलाडी हुन्छन्, सबै आफ्नो–आफ्नो ठाउँबाट खेल्ने गरिन्छ। तर, फुटसलमा त्यस्तो हुँदैन यो खेलमा थोरै खेलाडीहरु हुन्छन् र जसले जस्तो पोजिसनबाट पनि गोल हान्न सक्छन्।

यहाँ फुटबलमा जस्तो चोटपटक लाग्ने धुलो हुने जस्ता कुराको सम्भावनाहरु धेरै नै कम हुन्छ। त्यसैले मलाई यो खेल निकै नै मन पर्छ।

शुलभ वैद्य

नियमित फुटसल खेल्न जाने शुलभ वैद्य भन्छन्, ‘म नियमित फुटसल खेल्न जान्छु। म पहिले शारीरिक रूपमा कमजोर थिएँ, अहिले फुटसल खेलेदेखि शारीरिक व्यायाम भएको महशुस गरेको छु। कीर्तिपुरको ट्याङ्लाफाँटस्थित फुटसलमा जान्छु।’

प्रतिक्रिया दिनुहोस्