वाम गठबन्धनले बनायो उम्मेदवार र घोषणापत्रका लागि कार्यदल



नेपाल समाचारपत्र, काठमाडौ ।

चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणा गरेको भोलिपल्ट नै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको गठबन्धनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र तयार गर्न र उम्मेदवार चयन गर्नका लागि कार्यदल गठन गरेको छ।

बुधबार एमाले नेता वामदेव गौतमको निवासमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले ३ वटै पार्टी सम्मिलित ७ सदस्यीय निर्वाचन क्षेत्र उमेदवार निर्धारण कार्यदल बनाएको हो।

तीनवटै पार्टीका अध्यक्ष सहभागी हुने कार्यदलमा एमालेका महासचिव ईश्वर पोखरेल, नेताहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा, नेताहरु वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठ रहेका छन्।

कार्यदललाई ६० प्रतिशत एमाले, ४० प्रतिशत माओवादी केन्द्र हुने गरी प्रत्यक्षतर्फको उमेदवार तय गर्ने जिम्मेवारी दिइएको छ। एमाले नेता गौतमका अनुसार पार्टी एकता संयोजन समितिले समानुपातिकतर्फको उमेदवारी भने आ– आफ्नै दलको तर्फबाट दिने निर्णय गरेको छ। असोज २९ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फका उमेदवारी निर्वाचन आयोगमा बुझाइस्क्नु पर्नेछ।

संयुक्त चुनाव घोषणा पत्र मस्यौदा कार्यदलमा एमालेबाट उपाध्यक्ष बामदेव गौतम, भीम रावल र प्रदिप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ र विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टी नेपालबाट डम्बर खतिवडा र डा। लक्ष्मी देवकोटा रहेका छन्।

तीन पार्टीले मंगलबार पत्रकार सम्मेलन गरी आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने र त्यसपछि पार्टी एकता गर्ने सहमति भएको घोषणा गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्