एन्फा र थ्री स्टारबीच सम्झौता



 

काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ र थ्रीस्टार क्लबबीच राष्ट्रिय खेलकुद परिषद्को पहलमा एक सम्झौता भएको छ।

एन्फाको गैरजिम्मेवारीका कारण थ्री स्टार क्लबले एएफसी कप प्रतियोगितामा सहभागिता जनाउन नपाएकाले उक्त कार्यको छानविन गरी क्षतिपूर्ति उपलब्ध गराउनुका साथै एन्फालाई कारबाही गर्न थ्री स्टार क्लबले राखेपमा दिएको निवेदन उपर कारबाही हुँदाको आधारमा उक्त चार बुँदे सम्झौता भएको हो।

बुधबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टको उपस्थितिमा एन्फाका तर्फबाट अध्यक्ष नरेन्द्र श्रेष्ठ तथा थ्री स्टार क्लबका तर्फबाट कार्यबाहक अध्यक्ष अरुणमान जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

चार बुँदे सम्झौतापत्रमा एएफसी प्रतियोगितामा थ्री स्टारले खेल्न नपाएकामा क्षतिपूर्ति माग गरी परिषद्लाई पहल गर्न निवेदन दिएकोमा परिषद्बाट अखिल नेपाल फुटबल संघलाई समेत आपसी समझदारीमा क्षतिपूर्ति लिने⁄दिने तथा सुझाव⁄निर्देशन समेतलाई दृष्टिगत गर्दै तपसिलका बुँदा परिपालन गर्न सहमत भएको उल्लेख गरिएको छ।
सम्झौतापत्रअनुसार एन्फाले थ्री स्टारलाई २०७४ मंसिर १० गतेसम्म तीन किस्तामा रु. १ करोड ५० लाख दिने, एन्फाले थ्रीस्टारलाई तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने, थ्री स्टारले एन्फाको आयोजना तथा सहकार्यमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने र उक्त सम्झौता एन्फाको विशेष साधारणसभाबाट पारित गराउने रहेको छ।

प्रतिक्रिया दिनुहोस्