सर्जियोको करङ भाँचियो



 

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुएरोको कार दुर्घटनामा परी करङ भाँचिएको छ।

गत बिहीबार आम्सट्रड्याममा कोलम्बियन गायक मालुमाको सांगीतिक कार्यक्रम हेरेर फर्कने क्रममा उनी चढेको टइक्सी दुर्घटनामा परेपछि उनको करङ भाँचिएको अस्पताल सूत्रले पुष्टि गरेको हो। सांगीतिक कार्यक्रमपछि फर्कने क्रममा उनी चढेको टइक्सी असन्तुलित हुँदै बाटो किनारामा रहेको पोलमा ठोकिएको थियो। घाइते भएका सर्जियो अगुएरो चारदेखि ६ सातासम्म विश्राममा रहने अर्जेन्टिना फुटबल टोलीका चिकित्सक डोनाटो भिलानीले दाबी गरेका छन्। यसै कारण उनी गत शनिबार सिटीले चेल्सीलाई १–० ले हराएको खेलमा अनुपस्थित हुनुपरेको थियो।

उपचारका क्रममा रहेका अगुएरोले ट्विटरमार्फत भावनात्मक रुपमा उनी निकै दुःखी रहेको बताएका छन्। उनले भने– ‘गाडी निक्कै जोडले ठोक्किएको थियो। सिटबेल्ट बाँधिएकोले ठूलो चोटबाट जोगियो।’ उनले आगामी विश्वकपमा संघर्षरत अर्जेन्टिनालाई आफ्नो खाँचो रहेका बेला चोटग्रस्त बनेकाले निक्कै दुखित भएको बताए। दुर्घटनाका कारण अर्जेन्टिनाले खेल्ने आगामी दुवै खेल उनले गुमाउनेछ। अगुएरोले जारी सिजनका आठ खेलमा ७ गोल गरिसकेका छन्। सिटीका तर्फबाट सर्वाधिक गोलकर्ताको बराबरीका लागि उनी एक गोलले मात्र टाढा छन्। सन् १९३९ मा इकिर ब्रुकले सिटीका तर्फबाट सर्वाधिक एक सय ७७ गोलको कीर्तिमान बनाएका थिए।

यसैगरी दक्षिण अमेरिकी विश्वकप छनोटका अन्तिम दुई खेलमध्ये अर्जेन्टिनाले शुक्रबार पेरु र अक्टोबर ११ मा इक्वेडरसँग प्रतिस्पर्धा गर्दै छ। छनोट अंक तालिकाको चौथो स्थानसम्म रहने टोली सोझै विश्वकपका लागि छनोट हुनेछ भने पाँचौं टोलीले ओसिएना क्षेत्रको विजेतासँग प्ले अफ खेल्नुपर्नेछ। छनोटका लागि दुई खेल बाँकी रहँदा अर्जेन्टिना समूहको पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्