चन्द्रागिरीका समस्या र सम्भावना



 

डा. लोक भट्टराई

आधुनिक नेपाल राज्यको निर्माण र त्यसमा पृथ्वीनारायण शाहको भूमिकाबारे पहिला कहिल्यै नभएको चर्चा–परिचर्चा भएको छ अहिले नेपालमा। यहाँ त्यो विषयमा गहिरिएर जानुको सट्टा पृथ्वीनारायण शाहको भौगोलिक चेत र परखको कुरा उद्धृत गर्दै लेखको खास विषयमा जान खोजिएको छ। ऐतिहासिक कथानकअनुसार ससुराली मकवानपुरबाट आफ्नो राज्य गोर्खातिर जान लाग्दा, काठमाडौँको पनि थप अवलोकन गरी जाने मनसायका साथ पृथ्वीनारायण शाह चन्द्रागिरी पहाड आइपुगेका थिए। पहाडको थाप्लोमा आएपछि जहाँबाट काठमाडौँको व्यापक दृश्य देखियो, उच्च महत्वाकांक्षा भएका पृथ्वीनारायण शाह रोमाञ्चित नभई रहन सकेनन्। उनी अनायासै जुँगामा ताउ लगाउन पुगे र उनको मनमा के कुरो थियो भन्ने बारे उनका साथी भारदारहरुका बीच रोचक छलफल हुन थाल्यो। सम्भवतः उनको मनले ठूलो सपना देख्न थालिसकेको थियो। त्यसअगाडिको कुरा जेसुकै भए पनि केचाहिँ प्रस्ट हो भने, पृथ्वीनारायण शाहले चन्द्रागिरीबाट राम्रोसँग देखेको भूभाग भने चन्द्रागिरी पहाडदेखि हालको कलंकी वरपरसम्म फैलिएको चन्द्रागिरी उपत्यका नै थियो। यसरी पृथ्वीनारायण शाहलाई मुख्य रुपले रोमाञ्चित बनाउने नै मूलत यही चन्द्रागिरी उपत्यकाको फैलिएको फाँट थियो। र, चाख लाग्दो के भने, त्यति बेला पृथ्वीनारायण शाहले के–के सम्भावना देखेथे, त्यो त थाहा भएन। तर, त्यसको साढे २ सय वर्ष भैसकेको आजको दिनसम्म पनि यहाँको धेरै सम्भावनाहरुको समयअनुसारको उपयोग अझै भएको छैन। त्यति बेला उनले देख्दा सम्भवतः वरिपरि हरियो पहाडले घेरिएको र बीचमा मनोरम धान झुलेको फाँट थियो होला। जहाँबाट अहिले भने उजाड हुँदै गएका पाखाहरु, डोजरले सम्याएका थुम्काथुम्कीहरु, जथाभावी बन्दै गरेका बाटोघाटोको जालो, अव्यवस्थित बस्ती र केही छिटफुट धुवाँ फालिरहेका कारखानाहरु देख्न सकिन्छ। यति कुरा गर्नुको मतलब के भने, चन्द्रागिरी उपत्यकाले काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाहरुले जस्तै अव्यवस्थित शहरीकरणको चुनौती व्यहोरिरहेको छ। तर त्यसो भए पनि उपयुक्त योजना, दूरदृष्टि र सहकार्य जुटाउन सकेको खण्डमा नवनिर्वाचित नगरपालिकाले विकासको गतिमा ठूलो फड्को मार्न सक्ने देखिन्छ। तर, जे पर्छ त्यही टर्छको साबिक मान्यतामा चल्ने हो भने यो उपत्यका केही वर्षमै अव्यवस्थाको गतिलो नमुना बन्न जाने निश्चित छ। यो लेख काठमाडौँका नवघोषित चन्द्रागिरी नगरपालिकामा विद्यमान विकासका समस्या, सम्भावना र नयाँ स्थानीय नेतृत्वले चाल्नुपर्ने सिर्जनशील पाइलाका बारेमा केन्द्रित छ।

यस नगरपालिकाका केही चाख लाग्दा विशेषताहरु छन्, जसको पूर्ण पारख नगरी यसमा रहेका सम्भावनाहरु पहिल्याउन सकिन्न। पहिलो त यो क्षेत्र हिजोदेखि आजसम्म र भोलिपर्यन्त देशलाई जोड्ने यातायात सञ्जालको नाकाको रुपमा रहेको छ। त्यस्तै गतवर्ष घोषित भएका काठमाडौँका ९ नगरपालिकामध्ये यो मात्र यस्तो नगरपालिका हो, जसमा ११–११ वटा गाउँ विकास समितिलाई एकै ठाउँमा मिलाइएको छ। अन्यत्रचाहिँ के छ, तर यति धेरै गाविस मिलाएरचाहिँ काठमाडौँमा अरु कुनै नगरपालिका बनाइएको थिएन। शंकरपुरा र दक्षिणकालीमा जति कम त होइन, तर जनघनत्वका हिसाबले यो नगरपालिका अरुकै हाराहारीमा आउँछ। साथै विचारणीय कुरा के छ भने, यसको ठूलो भूभाग अर्थात् साबिकको मच्छेगाउँ, मातातिर्थ, महादेवस्थान र थानकोटको ठूलो भूभाग वनक्षेत्रले ढाकेको छ। नयाँ बनेकामध्ये गोकर्णेश्वर र शंकरपुरालाई छोडेर यो तेस्रो ठूलो क्षेत्र ओगट्ने नगरपालिका हो। गहिरो ठाउँ भनेर चिनिने गरी नाम रहेको सतुंगलदेखि लिएर दक्षिणतिर चन्द्रागिरी र उत्तरतिर दहचोक पहाड समेट्ने यस नगरपालिकामा भौगोलिक विभिन्नताबाट जे फाइदा लिन सकिने हो सो लिन सकिने प्रचूर सम्भावना विद्यमान छ। यो छोटो लेखमा सबै कुरा सविस्तार वर्णन गर्न सम्भव नहुने भएकाले यस नगरपालिकाभित्र रहे⁄भएका आर्थिक विकासका सम्भावनाहरुबारे संक्षिप्त संकेत गर्न चाहन्छु।

ड्राइपोर्टः अहिले पनि थानकोट–नागढुंगा नै काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाकाको रुपमा रहेको छ। र, प्रस्तावित खानीखोला–नागढुंगा सुरुङ र यता दोस्रो रिङरोडको योजनालाई विचार गर्दा यस क्षेत्रलाई ड्राइपोर्टका रुपमा विकास गर्न सकिने देखिन्छ। यसो हुन सकेमा यस क्षेत्रमा ढुवानी, वेयरहाउस, प्याकेजिङलगायतका उद्योगहरुको विकास हुन गई उल्लेख्य रोजगारी बढ्न सक्ने देखिन्छ।

औद्योगिक क्षेत्रः अहिले पनि सतु·ल काठमाडौँकै एउटा महत्वपूर्ण औद्योगिक क्लस्टरका रुपमा देखा परिसकेको छ। सतु·लवरपर आवास क्षेत्र र औद्योगिक क्षेत्रको सिमाना खिचेर एउटा निश्चित क्षेत्रलाई औद्योगिक क्षेत्रका रुपमा प्रवद्र्धन गर्न सके यसले पनि यस क्षेत्रलाई कायापलट गराउन ठूलो मद्दत पुर्याउन सक्छ। यसो गर्नका लागि अहिले चलिरहेका मुख्य उद्योगहरु पहिचान गरी तिनसँग सम्बन्धित लिंक उद्योगहरु विकासका लागि प्रोत्साहन दिन सकिन्छ। यो सबै गर्न भनेजत्तिकै सजिलो त छैन र असम्भव पनि छैन। त्यो के–कसरी गर्न सकिन्छ भन्ने कुरामा म मिलेछ भने बेलायत⁄क्यानाडासमेतको अनुभवको आधारमा अरु लेख लेख्ने प्रयास गर्नेछु।

पर्यटनः नेपालमा अहिले पछिल्लो समयमा आएर पर्यटन के हो, यो कहाँ र कसरी गर्न सकिन्छ, यसका चुनौतिहरु के हुन् भन्ने राम्रो नबुझे पनि जताततै पर्यटन विकासको कुरा गर्ने गरिएको छ। तर चन्द्रागिरीमा भने त्यो सम्भावना अलिक बढी प्रस्ट छ। स्थानीयरुपमा मातातिर्थ र चन्द्रागिरी केबलकारलाई लिंक गराएर कार्यक्रम बनाउन सकिन्छ भने बृहत्रुपमा यतालाई दक्षिणकाली, शेष नारायणदेखि उत्तरतिर स्वयम्भु–बूढानीलकण्ठ हेर्ने अथरिटीसँगको सहकार्यमा एउटा महत्वाकांक्षी योजना अघि बढाउन सकिन्छ।

यी त भए केही मुख्य आर्थिक विकासका सम्भावित क्षेत्रका कुरा। यससँगै अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्नका लागि पनि केही निश्चित कामहरु प्राथमिकतामा राखेर गर्नु अत्यावश्यक छ। २–४ रोपनी जग्गालाई चिर्ने, सानो बाटो राख्ने, अनि प्लटिङका नाममा बेचिएका तिनै घडेरीमा बस्तीहरु थपिँदै छन्। त्यहाँ जग्गा किन्नेले के–कसरी घर बनाउन पाउने, ढल, बत्ती, पानी, बाटोको नियम र प्रक्रिया केही प्रस्ट छैन। हुन त यो चन्द्रागिरीको मात्र समस्या हैन। विदेशको अनुभवलाई विचार गर्दा के देखिन्छ भने, यस क्षेत्रमा पनि प्रत्येक विषयलाई समेटेको स्थानीय कानुन बनाउनु र ‘इन्फोर्स’ गर्नु जरुरी छ। त्यो अधिकार अहिलेको नेपालको संविधानको धारा २२६ ले स्थानीय तहलाई दिएको पनि छ। त्यसको अभावमा बल मिच्याइँ गर्नेले जे गरे पनि हुने स्थिति विद्यमान छ। विकसित देशमा त यतिसम्म कि घरभित्र बिजुलीको प्लग कतातिर राख्न पाइने, चुलो कतिवटा राख्न पाइने, पानीको पाइप कत्रो हुनुपर्ने भन्ने विषयमा समेत किटानी स्थानीय कानुन हुने र त्यसको अक्षरशः पालना हुने गरेको देखियो।

यी लगायत चन्द्रागिरीका लागि यस्ता सम्भावित योजनाको एउटा लामो लिस्ट बनाउन सकिन्छ। तर त्यस्तो धेरै कुरा गर्नुपूर्व एक–दुई योजनाले मात्रै भए पनि आकार लिन थाल्यो भने अनि अरु कुरा गर्नुको सार्थकता रहन्छ। यस लेखमार्फत म चन्द्रागिरीका निर्वाचित पदाधिकारीहरुलाई यी सम्भावना र जनचाहनालाई विचार गरेर प्रभावकारी हिसाबले अघि बढ्न प्रेरणा र हौसला दिन चाहन्छु। यी काममा नगरपालिकाले तत्परता देखाउन थाले जनताले होस्टेमा हैंसे गर्ने निश्चित छ। मुख्य कुरा सर्वप्रथम त दूरदृष्टिसहितको योजना र साथमा व्यावहारिक कार्यान्वयनको कार्ययोजना बनाउनु आवश्यक छ। त्यससँगै योजना र कार्यान्वयनको हरेक चरणमा निष्पक्षता, पारदर्शिता, इमानदारी र अठोट प्रत्याभूत भैरहन अत्यन्त जरुरी छ। त्यसो हुन सक्यो भने चन्द्रागिरी अलकापुरी बन्नेछ।

प्रतिक्रिया दिनुहोस्