नेपाली कांग्रेस र राजा मिल्नुपर्यो



 

अहिले कम्युनिस्टहरु एक भएर राजनीतिमा तरंग ल्याएझैं नेपाली कांग्रेस र राजा मिलेर यो भन्दा ठूलो तरंग नेपालको राजनीतिमा ल्याई देशलाई बचाउने काम कांग्रेसले गर्नुपर्छ। अहिले नेपालको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ। अर्थात् हिजोसम्म काटमारको अवस्थामा रहेका एमाले र माओवादीबीच चुनाव तालमेल मात्र होइन, पार्टी एकतासम्मको घोषणा गरिएको छ। यसले एकातिर कम्युनिस्ट भनाउँदाहरु खुशी देखिएका छन् भने राष्ट्रवादी भनाउँदाहरु दुखी देखिएका छन्। कारण देश साम्यवादी हुने भयो भनेर।

यसरी दुखी हुनेमा सबैभन्दा बढी नेपाली कांग्रेस देखिएको छ। नहुने पनि कसरी, कम्युनिस्टहरु एकढिक्का भए बहुमत यहाँ प्राप्त गर्न सकिन्छ। तसर्थ अब दुखी होइन, आफ्नो गल्तीलाई सच्याउनुपर्दछ कांग्रेसले। बीपीले मेरो घाँटी राजासँग जोडिएको छ र राजतन्त्रविना नेपाल सुरक्षित हुन सक्दैन भनेर आजीवन राजासँग सहकार्य गरे। त्यसै गरी सन्तनेता कृष्णप्रसाद भट्टराईले राजाविनाको देश हुँदैन भनेर पार्टी नै परित्याग गरी आजीवन राजसंस्थाको वकालत गरे। जनआन्दोलनका कमान्डर गणेशमान सिंहले कांग्रेसले आफ्नो सिद्धान्तलाई परित्याग गरे भनेर पार्टी नै परित्याग गरे।

नेपाली कांग्रेसका यी दिग्गज नेताहरुले राजतन्त्रको आजीवन वकालत गरेको किन भनेर अहिले स्पष्ट भएको छ। किनकि देश साम्यवादीहरको कब्जामा नजाओस् र प्रजातन्त्रको रक्षा होस् भनेर नै उनीहरुले राजतन्त्रको वकालत गरेका हुन्। तर अहिले कांग्रेस नेतृत्वले आफ्नो अग्रज तथा महान् नेताहरुलाई अपहेलना तथा पार्टीबाट समेत निस्कन बाध्य बनाएको परिणाम भोग्न बाध्य भएको छ। त्यसैले अहिले पनि समय छ देशलाई साम्यवादको चंगुलबाट बचाउने। त्यसका लागि नेपाली कांग्रेसले विगतमा झैँ राजासहितको व्यवस्थामा गई बृहत् प्रजातान्त्रिक शक्तिको निर्माण गर्नुपर्दछ। यसका लागि आजै राजासँग संवाद, सहकार्य, सहमतिको पहल गर्नुपर्दछ।

होइन भने जनताको नाउँमा १७ हजारको रगतमा खेल्ने र झापा काण्डको नाउँमा हजारौंको रगतसँग खेल्ने जनतामारा पार्टीहरु एकठाँउमा उभिने प्रयास गर्दै छन्। यो देश र जनताको हितकर होइन। एउटा एउटा हुँदा अत्यन्त कठिन भएको समयमा दुबै एक हुनु भनेको देश उत्तरकोरियाझैँ उग्रवामपन्थीको चंगुलमा पुर्याउनु हो।

त्यसैले अहिले कम्युनिस्टहरु एक भएर राजनीतिमा तरंग ल्याएझैँ नेपाली कांग्रेस र राजा मिलेर यो भन्दा ठूलो तरंग नेपालको राजनीतिमा ल्याई देशलाई बचाउने काम कांग्रेसले गर्नुपर्दछ। यसका लागि सबैभन्दा पहिले यो अहिलेको निर्वाचनलाई रद्द गर्नुपर्दछ। किनकि निर्वाचन भएमा देश अब उग्रवामपन्थीको हातमा जाने निश्चित छ।

– विश्वन्तर शाक्य, चल्खु, ललितपुर
सिद्धार्थ राजमार्गमा पहिरोले समस्या
सिद्धार्थ राजमार्गस्थित तानसेन–बुटवल सडकखण्ड अहिले लगातारको पहिरोका कारणले वबरुद्ध बनेको छ। सिद्धबाबानजिकै सडकमाथिबाट ढुंगासहित पहिरो खस्दा बर्सेनि मानिसको ज्यान जाने गरेको छ। पानी परेको बेला होस् या नपरेको बेला, पहिरो त गई नै हाल्छ। यसले गर्दा यात्रुलाई आवतजावतमा निकै समस्या खेप्नुपरेको छ।

हालसालै उक्त सडक खण्डमा तीनजनाको ज्यान गएको र कैयौं घाइते भएको खबर पनि हामीले थाहा पाएकै छौँ। बाटोमा यात्रा गरेकै बेला माथिबाट कति बेला पहिरो जाने हो, पत्तो नै हुँदैन। दशँैदेखि सिद्धबाबाको बीच विद्युत् हेडबक्समाथि ढुंगासहितको ठूलो पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध बन्ने गरेको छ। तर त्यहाँको स्थानीय प्रशासन भने मौन देखिएको छ। पटक–पटक सडक मर्मत गर्ने भनिए पनि सडकमा सामान्य मर्मत गरेर छाडिने गरिएको सबैको गुनासो छ।

हालसालै १० देखि २ बजेसम्म सडक मर्मत गर्ने भनेर यातायात सञ्चालनमा समेत रोक लगाई मर्मत गर्ने गरिएको छ। यसरी मर्मतका नाममा यात्रुलाई दुःख दिने काम नहोस् र मर्मतकार्य छिटोभन्दा छिटो सम्पन्न होस्।
– हरि अधिकारी, बुटबल

प्रतिक्रिया दिनुहोस्