वाम एकतालाई नेप्सेको रेड सिग्नल



 

नेपाल समाचारपत्र
काठमाडौं
वाम एकता भएको भोलिपल्ट बुधबार दिन शेयर बजारले रेड सिग्नल देखाएको छ। न्यून कारोबारको बाबजुद दशैंपछिको पहिलो शेयरबजार सुधारिए पनि त्यसको दोस्रो दिन नै बजार दोहोरो अंकले ओरालो लागेको हो।

नेपालका ठूला कम्युनिस्ट पार्टी एमाले–माओवादी–नयाँ शक्तिलगायतका वामशक्ति एकतामा आएकै भोलिपल्ट पुँजीबजार सूचक ओरालो लागेको हो। मंगलबार बजार परिसूचक ६ दशमलव ८९ अंकले सुधार आए पनि बुधबार भने १३ दशमलव ७ अंकले खस्किएको हो।

बुधबार १ हजार ५ सय ५६ दशमलव ३५ अंकबाट शुरू भएको शेयर बजार १ हजार ५ सय ४२ दशमलव ६५ अंकमा पुगेर रोकिएको छ। बजार कारोबार शुरू भएलगत्तै नेप्से परिसूचक घट्न थालेको थियो। यसक्रममा १ सय ४४ कम्पनीका ६ लाख ६० हजार ४३ कित्ता शेयर २७ करोड ९७ लाख ५२ हजार ८ सय ६० रुपियाँमा किनबेच भए। मंगलबार बजारमा १४ करोड ५२ हजार १ सय ५० रुपियाँको कारोबार भएको थियो।

नेप्से परिसूचक ओरालो लाग्दा बुधबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १४ अंकले घटेर ३ सय २३ दशमलव ८७ अंकमा पुगेको छ।

बुधबार परिसूचक ओरालो लाग्दा कारोबारमा आएका ९ मध्ये ६ वटा समूहका परिसूचक नकारात्मक रहे। घट्नेमा सबैभन्दा धेरै शेयर कारोबारमा सबैभन्दा बढी हिस्सा ओगट्ने बीमा समूह ३५ दशमलव २३ र जलविद्युत् समूह २७ दशमलव ५७ अंकले घटे। त्यस्तै विकास बैंक समूह २२ दशमलव ८, बैंकिङ समूह १७ दशमलव ४७, ट्रेडिङ समूह ३ दशमलव ८८ र वित्त समूह ३ दशमलव ८८ अंकले ओरालो लागे। होटल, उत्पादनमूलक र अन्य समूहले भने क्रमशः ८ दशमलव २८, ९ दशमलव १४ र ६ दशमलव ३६ अंकले बढेर नेप्से परिसूचक वृद्धिमा टेवा दिए।
बुधबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शेयरको भयो। कम्पनीको सबैभन्दा धेरै १ करोड ८२ लाख २४ हजार १ सय ५० रुपियाँँको कारोबार भएको थियो। कारोबार शेयर संख्याको आधारमा जनता बैंक शीर्ष स्थानमा रह्यो।

बुधबार धेरै कमाउनेमा दिव्यश्वरी जलविद्युत् कम्पनीका शेयरधनी रहे। कम्पनीको शेयर मूल्य सर्वाधिक ६ दशमलव शून्य ४ प्रतिशतले बढ्दा नेरुडे लघुवित्त विकास बैंकका शेयरधनीले सर्वाधिक ६ दशमलव ४९ प्रतिशत गुमाए।

चार कम्पनीको मूल्य समायोजन
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ३ वटा कम्पनीको मूल्य समायोजन गरेको छ। नेप्सेले नेपाल इन्भेष्टमेन्ट बैंक, वरुण हाइड्रोपावर, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको मूल्य समायोजन गरेको हो।

प्रतिक्रिया दिनुहोस्