राजनीतिक स्थायित्वका लागि बाम एकता आवश्यकः नेता ज्ञवाली



सीताराम चौधरी,कपिलवस्त ।

देशको राजनीतिक स्थायित्वका लागि बाम एकता आवश्यक रहेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बताउनुभएको छ ।

नेकपा एमाले प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ ले पकडीमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव देशको राजनीतिक स्थायित्वको निम्ति निर्णायक हुने सचिव ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो ।

नौ–नौ महिनामा सरकार फेर्ने राजनीतिक संस्कारको अन्त्य गर्न पनि मंसिरमा हुने चुनाव महत्वपूर्ण हुने नेता ज्ञवालीले जिकिर गर्नुभयो ।

नेता ज्ञवालीले गएको केही हप्तादेखि माओवादी केन्द्रसँगको सम्बादले एमाले र माओवादी केन्द्रबीच आउने प्रदेश र संघको निर्वाचनमा तालमेल गरेर बहुमतको सरकार बनाउने बताउनु भएको छ । उहाँले प्रदेश र संघको निर्वाचनमा जाँदा माओवादी केन्द्र पनि सूर्य चिन्ह लिएर चुनाव लडेर देशव्यापी रुपमा केन्द्र र प्रदेशमा बहुमतको सरकार बनाउने घोषणा गर्नुभयो । उहाँले बहुमतका साथ बन्ने सरकारले कुनै व्यक्तिलाई प्रधानमन्त्री र मन्त्री बनाउन नभई जनता र देशको सम्बृद्धिको लागि बन्ने बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका ज्ञवालीले २००७ सालपछि नेपाली कांग्रेसले तीन तीन पटक बहुमत प्राप्त गरेपनि देशको लागि केही गर्न नसकेको आरोप लगाउनुभयो ।

चुनावमा कुनै पनि दलको एकल बहुमत नआउने र सरकार सधैं अस्थिर हुने क्रम बढेको भन्दै प्रगतिशील, बामपन्थी र देशभक्त पार्टीबीच पार्टी एकता र चुनाव तालमेल हुन लागेको स्पष्ट पार्नुभयो ।

नेकपा एमालेका नेता डम्मर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराई, सिराज अहमद फारुकी, जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगायतका नेताको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य तथा पाँच नम्बर प्रदेशका कार्यवाहक अध्यक्ष इसरार अहमद खान, माओवादी केन्द्रका केन्द्रिय सदस्य विनोद चौधरी, राजपाका जिल्ला स्तरका नेता जगन्नाथ कुर्मी, नबिन चौधरी लगायत २ हजार बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्