काठमाडौँमा लागुऔषध बेच्ने योजनामा रहेका ८२ वर्षीय भारतीय वृद्ध हेटौंडामा पक्राउ



हेटौंडा,(नेस) ।
करिब १२ लाख रुपियाँमा कलंकीमा एक व्यक्तिलाई लागुऔषध बेच्ने योजनासाथ हिँडेका ८२ वर्षीय भारतीय एक वृद्ध हेटौंडामा पक्राउ परेका छन् । आइतबार राति करिब सवा १० बजे रातोमाटे चेकपोष्टमा पक्राउ परेका भारत बिहार चम्पारण रक्सौल नांगारोड वडा नम्बर ११ बस्ने विजयकुमार कपुर पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी कलंकीमा लागुऔषध बेच्ने योजनामा रहेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी दिलीपराज झाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा बीरगञ्जबाट हेटौंडाहँुदै काठमाडौं जान लागेको ना. ६ ख ८९६८ नम्बर यात्रुबाहक बस जाँच गर्दा बसका यात्री कपुरको शरीर तथा चिजवस्तु खानतलासी गर्दा ती निषेधित लागुऔषध फेला परेका थिए ।

उनको सुटकेशभित्र २३ वटा पोकामा टेपले बेरी प्लाष्टिकमा लुकाइ ल्याएको नियन्त्रित लागुऔषध डाइजेपाम ८०० एम्पुल, फेनारगन ८०० एम्पुल र ब्युपोनोर्फिन ८०० एम्पुल फेला परेको थियो ।

उनलाई लागुऔषध ऐन, २०३३ बमोजिम म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्