भारत बिरुद्ध लड्ने तिलाठी नायक देवनारायण र उनका छोरा भारतीय प्रहरीको नियन्त्रणमा, छुटाउन सरकारी पहल



काठमाडाैं । सप्तरीमा सीमा बचाउ अभियानकर्ता देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

हिजो शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका यादवका छोरा सहित तीनजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार आइतबार छोराको रिहाईका लागि सीमापार गएका यादवलाई उताको प्रहरीले नियन्त्रणमा लिएको छ।

एसपी सिंहले भने, ‘मैलेपनि केही समयअघि घटनाका बिषयमा जानकारी पाएको छु । के भएको हो बुझ्ने प्रयास भइरहेको छ ।’
सप्तरीको तिलाठी सीमाको दशगजा र भारतको बिहार राज्यको सुपौलको कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा भारतीय पक्षले एकतर्फी रुपले बाँध बनाएको विरोधमा उनी उत्रिएका थिए।

उनी केही महिनाअघि नेपाली भूमि रक्षाका लागि भारतीयसँग लड्दा सख्त घाइते भएका थिए। यादव सप्तरी तिलाठीका बासिन्दा हुन । भारतीय सीमा सुरक्षा बलसँग नेपाली भूभागका लागि निरन्तर लड्दै आएका यादव भारतीय पक्षको निशानामा थिए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले घटनाका बिषयमा बुझ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको बताए। उनले घटनाका बिषयमा सशस्त्रको बोर्डर आउट पोष्टले जानकारी दिएपछि मात्र घटनाका बिषयमा यथार्थ बाहिर आउने बताए। उनका अनुसार यादवलाई प्रहरीले वीररपुर लगेको छ।

यसैबीच भारतीय प्रहरीले पक्राउ गरि अपहरणको मुद्दा चलाएका सप्तरीको कोइलाडी तिलाठीका देवनारायण यादवलाई छुटाउन सरकारी तवरबाट पहल शुरु भएको छ । गृहमन्त्री जनार्दन शर्माले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई निर्देशन दिँदै यादवलाई छुटाउन पहल गर्न आग्रह गरेका छन । गृहमन्त्रीको निर्देशनसँगै देवनारायण र उनका छोरालाई छुटाउन भारतको सुपोल जिल्लाका समकक्षीसँग कुरा गरिरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन । सुपोलका जिल्ला प्रमुखले आफुले घटनाबारे सबै जानकारी लिएर फेरी कुरा गर्ने बताएको पनि सप्तरीका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्