सरकारी ढुकुटीको दुरुपोग गर्ने स्वास्थ तथा मानवीय सेवा मन्त्रीद्वारा राजिनामा



वासिङ्गटन   ।  अमेरिकाका स्वास्थ तथा मानवीय सेवामन्त्री टम प्राइसले पदबाट राजिनामा दिएको समाचार छ । राष्ट्रपति ट्रम्प प्रशासनबाट राजिनामा दिने वरिष्ठ मन्त्रीहरुमध्ये उनी  पहिलो हुन । उनमाथि सरकारी ढुकुटीको दुरुपोगसम्बन्धी आरोप थियो । सरकारी कामकाजको सिलसिलामा यात्रागर्दा निजी क्षेत्रका अति खर्चिला जेट विमानहरु चार्टर गरी बारम्बार राष्ट्रको ढुकुटी दुरुपयोग गरेको भनी उनको ब्यापक आलोचना भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पबाट  उनको राजिनामा तत्काल स्वीकृत भएको छ । साथै भर्जिनियाका डन जे. राइटलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले कायममुकायम स्वास्थ्यमन्त्रीको रुपमा नियुक्त गरिएको एक विज्ञप्तिमार्फत ह्वाइट हाउसका प्रेस सचिवले जनाएका छन् । डन जे. राइट स्वास्थ उप–सहायक मन्त्री एवम् रोग नियन्त्रण तथा स्वास्थ्य प्रबर्धन निर्देशनालयका निर्देशकको पदमा कार्यरत थिए  ।

मन्त्री पदमा नियुक्त भएपछि गत मे महिनादेखि हालसम्म टम प्राइसले छब्बीस पटक र यस महिनामा एकै हप्ताभित्र पाँच पटकसम्म निजी क्षेत्रका अति खर्चिला जेट विमान चार्टर गरी यात्रा गरेकोमा सबैजसो अमेरिकी सञ्चार माध्यमहरुले तीब्र आलोचना गरेका थिए ।

राजनीतिक समाचारहरु सम्प्रेषण गर्ने वेबसाइट, पोलिटिकोका अनुसार प्राइसले आफ्नो यात्रामा मात्र १० लाख अमेरिकी डलर भन्दा बढी सरकारी रकम खर्च गरेका थिए  ।

यसमध्ये सेना तथा निजी क्षेत्रका जेट बिमान चार्टर गर्दा राष्ट्रको ढुकुटीबाट चार लाख डलरभन्दा बढी रकम खर्च भएको स्वास्थ तथा मानवीय सेवा मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको आरोपमा सञ्चार माध्यमहरुले उनको तीब्र आलोचना गरेपछि प्राइसले नैतिकताको आधारमा राजिनामा दिएको बताइएको छ ।

साथै, निजी क्षेत्रका विमान चार्टर गर्दा लागेको लागत खर्चमध्ये दामासाहीका हिसाबले आफ्नो सीटको अंश, करीब ५२ हजार अमेरिकी डलर बेहोर्ने प्रतिवद्धता समेत उनले जनाएको सो मन्त्रालयका प्रवक्ताले बताएका छन् ।  प्राइसले आफ्नो यात्राको क्रममा यति धेरै रकम खर्च गराइ सकेकोमा राष्ट्रपति ट्रम्पले आफू निराश बनेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी संसदमा आन्तरिक बजेट समिति (हाउस बजेट कमिटी) को अध्यक्षको कार्यभार सम्हालेको अवधि होस वा स्वास्थ्यमन्त्री पदमा नियुक्त  भएपछि होस्, प्राइसले फजूल खर्च गरी सरकारी ढुकुटीको अपब्यय गराएको टिप्पणी हुदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्