‘निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन’



 

काठमाडौँ, ११ असोज। निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचारसंहिता पालनाप्रति सरकार उदासिन रहेको घटनाका रुपमा लिएको छ ।

निर्वाचन आचारसंहिताको विषयमा उठेका प्रश्नका बारेमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न÷गराउन सरकार र राजनीतिक दलको पुनः ध्यानाकर्षण गराउनुभयो ।

निर्वाचन आयोगले प्राधिकरणका महानिर्देशकलाई फिर्ता बोलाइएको विषयमा मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उहाँले भन्नुभयो, “उच्च तहको कर्मचारीको काज खटाउँदा, फिर्ता बोलाउँदा वा सरुवा गर्दा आयोगसँग सहमतिसम्म माग नगर्ने अभ्यास गम्भीर विषय हो ।”

राजनीतिक दलले आफ्नो पार्टी कार्यालयमा चियापान र शुभकामना आदानप्रदान कार्यक्रम गर्नसक्ने उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन ज्यादै शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै आयुक्त शाहले निर्वाचनमा कुनै पनि हिंसात्मक घटना नभएको उल्लेख गर्नुभयो ।

स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले ३७ वटा आचारसंहिता उल्लंघनका विषयमा स्पष्टीकरण सोधेकामा अब छ वटाको मात्र जवाफ आउन बाँकी रहेको जानकारी सो अवसरमा दिइयो ।

हालसम्म विभिन्न एक हजार ८५५ विषयमा सहमति माग भई आएकामा एक हजार १८५ लाई सहमति प्रदान गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्