पदकबाट चुके निकेस



 

फिरोज राजोपाध्याय
अस्गाबाट, तुर्कमेनिस्तान

तुर्कमेनिस्तानको राजधानी अस्गाबातमा जारी पाँचौ एसियन इन्डोर तथा मार्सल आर्ट गेम्समा नेपाली किक बक्सिङको चुनौती समाप्त भएको छ।

सोमबार मुआथाई किक बक्सिङ एरेनामा नेपालका निकेस श्रेष्ठले शानदार खेल प्रदर्शन गरेर पनि हार स्विकार्नु पर्यो। क्वार्टरफाइनलअन्तर्गत पुरुष प्वाइन्ट फाइटिङ ७९ केजीतर्फ दिवस उज्बेकिस्तानका जाखोनगीर खुसानोभसँग पराजित भएका हुन्। उनी १३–१२ को झिनो अंकको अन्तरले पराजित भएका थिए।

निकेसले सानदार शुरुआत गर्ने क्रममा एक मिनेटभित्र २–० को अग्रता लिएका थिए। तर दुई मिनेटको पहिलो राउन्डमा उनी ४–५ ले पछि परे। दोस्रो राउन्डमा भने उनले ८–८ अंकको बराबरीमा टुंग्याउन सफल भएका थिए। तेस्रो तथा अन्तिम राउन्डमा उनी १२–१० ले अगाडि हुँदै अर्को चरणमा पुग्ने पक्कापक्की जस्तो भइसकेका थियो। तर अन्तिममा विपक्षी खेलाडीले तीन अंक जुटाएपछि उनी निरास बने। तर अन्तिम सेकेन्डमा सहायक रेफ्रीले निकेसको पक्षमा अंकको संकेत गरे पनि मुख्य रेफ्रीले समय सकिएको भनेर उनलाई अंक दिन मानेनन्।

निकेसको यो दोस्रो अन्तर्राष्ट्रिय सहभागिता हो। एक अंकको अन्तरले हारेपछि निरास बनेका निकेसले नेपाल समाचारपत्रलाई बताए– ‘नजिक पुगेर हार्नु धेरै निरासजनक कुरा हो। अन्तिममा अंक आएको भए मैले यो खेल जित्ने थियो र पदक पनि पक्का हुने थियो। कस्तो नमज्जा लाग्यो। रेफ्रीको अंक दिने तरिका पनि चित्त बुझ्दो भएन।’

यस्तै किक बक्सिङका प्रशिक्षक राजनकुमार भुजेलले पनि अन्तिममा आएको अंक दिएको भए जित्ने बताए। उनले भने– ‘अन्तिममा अंक दिइएन। अंक दिएको भए टाई हुन्थ्यो र हाम्रै खेलाडीले जित्ने सम्भावना प्रबल थियो। हामी पदक जित्नबाट वञ्चित भयौं।’

प्रशिक्षक भुजेलले पनि रेफ्रीको भूमिका त्यति सन्तोषजनक नभएको बताए। नेपालमा यो खेलका लागि कुनै पनि सम्बन्धित निकायले उल्लेखनीय साथ दिन नसकेको पनि उनले बताए। यसैले पनि किक बक्सिङमा हाम्रा लागि अन्तर्राष्ट्रिय सहभागिता सहभागितामा मात्रै सीमित भएको छ। यदि यसलाई प्रमोट गर्ने हो यसबाट नेपाललाई अन्तर्राष्ट्रिय पदक अवश्य आउने उनको भनाइ रहेको छ। यसअघि नेपालका लागि किक बक्सिङमा सहभागि भएका अर्का खेलाडी दिवस श्रेष्ठले दुईवटै खेल हारेका थिए। दिवसको भने यो चौथो अन्तर्राष्ट्रिय सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्