युवाशक्तिको दुरूपयोग भयो



 

नेपालमा रोजगार दिन नसक्ने सरकार र सरकारमा संलग्न दलहरूले युवाशक्तिको दुरूपयोय गर्दै आएका छन्। आफ्नो दलमा झन्डा बोकाउने र उनीहरूलाई आफू अनुकूल प्रयोग गर्न रोजगारीका सम्भावना बन्द गरिएको छ। नेपालमा युवाशक्तिले इतिहासबाटै धेरै काम गरेका छन्। युवा भनेको समाज बदल्ने सकारात्मक ऊर्जाको मुहान हो। समाज विज्ञानको अथाह शक्तिको स्रोत युवा, जसको साहस, जोश अनि बहादुरीले इतिहासको जन्म हुन्छ।

नेपालमा परिवर्तनका लागि भएका हरेक आन्दोलनहरूको अग्रभागमा युवाशक्तिले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। नेपाल र नेपाली जनताको विरुद्धमा उभिनेहरूका विरुद्ध हाम्रा पुर्खाहरूले संघर्ष गरे, आफ्नो रगत सुम्पेर माटोको स्वाभिमान बचाए। आज पनि तिनै वीर नेपाली शहीदहरूका सन्तानले नेपाली जनताको अधिकार र स्वाभिमान लिलाम गर्न तम्सिएका विदेशी शासकका दलालहरूको हर्कतविरुद्ध धावा बोलिरहेका छन्। जनभावनाको सम्मान नगर्ने निरंकुश शासकहरूलाई युवाशक्तिले लाठी र खुकुरीको भरमा सत्ताच्यूत गरेको कसैले बिर्सेका छैनन्। अहिले पनि शासकहरूको विरुद्ध कठिन, लामा मोडेलको संघर्ष युवाहरूद्वारा जारी गरिएको छ। भ्रष्टाचार, गुन्डागर्दी, दलाल, तस्कर अनि देशलाई अन्धकारतिर धकेल्नेहरूविरुद्ध आज हरेक नागरिकहरूले संघर्ष गरिराखेका छन्।

जनताको परिवर्तनको चाहनाका बाधक तत्वको समूल नष्ट गर्ने कामको जिम्मेवारी पनि अहिले युवाहरूकै काँधमा आएको छ। यो काम पक्कै पनि बेरोजगार युवाहरूको लागि चुनोतीपूर्ण नै छ। तर दलाल, तस्करहरूसँग नझुकी नेपाली स्वाभिमानी युवाहरू एक कदम अघि बढिसकेका छन्। यो देशका सचेत युवाहरू योजनाबद्धरूपमा ती प्रवृत्तिका विरुद्ध लडाइँ गर्न तयार भएका छन्। तर ती युवालाई बेरोजगार बनाएर सरकारले निकै ठूलो समस्या निम्त्याउने निश्चित प्रायः छ। सरकारमा कुर्सी टिकाउने मात्रै खेल हुँदा पनि अहिले यो समस्या सिर्जना भएको छ। यसको व्यापकरूपमा विरोध गरेर रोजगारीको अवस्था सिर्जना गर्न युवावर्गले दबाब दिन जरुरी छ।

– सरोज केसी, दाङ
(युवा सञ्जालमा आबद्ध)
फोहोर उठ्दैन ?
राजधानी काठमाडौंको अधिकांश स्थानमा फोहोरको डंगुर छ। नेपालको सबै मन्त्रालय र प्रशासनिक निकाय भएको राजधानी दुर्गन्धित हुँदा पनि सबै मौन छन्। नाला र ढलसमेत व्यवस्थित छैन। आमउपभोक्ता सचेत हुँदाहुँदै पनि सरकारी तवरबाट फोहोर व्यवस्थापनमा हुनुपर्ने जति काम भएको छैन। फोहोर ओसार्ने गाडी पनि हप्तामा एकपटक मात्रै गल्लीमा छिर्ने गरेकोमा आजभोलि आउनै छाडेको छ।

जम्मा भएको फोहोर कुहेर सड्ने हुँदासम्म फोहोर जम्मा गर्ने र ओसार्ने गाडी नआउँदा समस्या भएको छ। दैनिकजसो फोहोर ओसार्ने गरी सम्बन्धित निकायले पहल चालेमा फोहोरको समस्या धेरै हदसम्म समाधान हुने मैले देखेको छु। अर्को समस्या डम्पिङ साइटको होला। यो विषयमा पनि ध्यान दिनु जरुरी छ।
– सुरज सेर्पाइली, भोजपुर
हालः वसन्तपुर, काठमाडौं
जनताको खुन–पसिना सोस्नुहुन्न
संसद्ले आफ्नो कार्यकाल समाप्त हुन लागेको समयमा पूर्वपदाधिकारी र सांसदहरूलाई आकर्षक सुविधा दिने विधेयकमा सहमति जनाइसकेका छन्। यस क्रममा पूर्वराष्ट्रपतिलाई मासिक रू. २ लाख घरभाडा र ५० हजार वृत्ति खर्च दिने तयारी भएको छ। यसै गरी उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई मात्र नभएर पूर्वसांसदहरूलाई पनि पूर्वपदाधिकारीको परिभाषाभित्र पारेर ६०१ सांसदहरूलाई त्यस्तो सुविधा दिने तयारी भएपछि गरिब जनता आश्चर्यमा परेका छन्। दशैँको मुखमा कर्णाली अञ्चलमा चामलको अभाव भएको समाचार कहिले पनि सेलाउँदैन। यता पूर्वपदाधिकारीले पाउने सेवा–सुविधाको फेहरिस्त सार्वजनिक हुन्छ। निकै सरमको कुरा बाहिर आएको छ। नेपालका सांसद सबै उस्तै रहेछन्। कोही पनि जनताप्रति बफादार भएको पाइएन। यसरी सांसदहरूले आफ्नो सुविधा आफैँ बढाउने गृहकार्यसहितको सो विधेयकमा दुई तिहाइभन्दा बढी सांसदहरूले सहमति जुटाउने कुरामा अब कुनै शंका छैन।

संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले पूर्व–भीआईपीहरूको सेवा–सुविधासम्बन्धी विधेयकको मस्यौदा तयार पार्दा गरिब नेपाली जनताको आर्थिक स्तर र क्रयशक्तिको कुनै ख्याल नै गरिएन। राष्ट्रिय ढुकुटीमा हुन लागेको यो ब्रह्मलुटको नग्ननृत्य हेर्न हामी करिब ३ करोड नेपाली जनता बाध्य भएका छौँ। दुई छाक अन्न पेटभरि खान नपाउने सीमान्तकृत जनताका प्रतिनिधिहरूले यसरी आफ्नो पदावधि समाप्त भएपछि प्राप्त हुने सेवा–सुविधाको चिन्ता गरेको देखेपछि उनीहरू हाम्रा जनप्रतिनिधि हुन् भनेर भन्न पनि लाज लागेको छ। महत्वपूर्ण पदमा पुगेका जनप्रतिनिधिहरूले जनताको लागि नभएर आफ्नो मात्र चिन्ता गरेपछि उनीहरूको सक्कली पहिचान सार्वजनिक भएको छ।

नेपाल प्राकृतिक स्रोत, साधन र सम्पदा पर्याप्त मात्रामा हुँदाहुँदै पनि त्यसको उचित प्रयोग र परिचालन हुन नसक्दा गरिब हुनुपरेको देश हो नेपाल। देश विकासका पूर्वाधारहरू तयार पार्न र वैदेशिक लगानी भित्र्याएर औद्योगिक मुलुक बनाउनेतर्फ अग्रसर हुनुपर्ने हाम्रा नेताहरू अहिले ‘मै खाऊँ मै लाऊँको चरित्र चित्रण गरिरहेका छन्। यो आफैँमा एउटा घिनलाग्दो कर्तुत हो। आमजनताको आर्थिक हैसियतभन्दा बीसौँ गुणा बढी रकम राष्ट्रिय ढुकुटीबाट लिन कानुनी आधार तयार पार्नु आफैँमा अत्यन्त अशोभनीय कार्य हो। महिनामा २ लाख घरभाडा लिने खालका व्यक्ति हाम्रा राष्ट्रपति हुन सक्तैनन्। उनले पनि नेपाली जनताको मलीन अनुहार हेरेर ‘म यति धेरै सुविधा लिन्न’ भन्न सक्नुपर्दछ। नेपाली जनताले खाई–नखाई जम्मा गरेको करको पैसाको लुट गर्ने सांसद चाकिँदैन।
देशको उन्नति गरे सबैको आर्थिक अवस्था मजबुद हुन्छ। यसमा कसैको ध्यान छैन। यदि कुनै भीआईपीले छिमेकी मुलुक भारतका महान् त्यागी नेता गान्धीजस्तै एउटा धोतीको भरमा जीवन बिताउनेछु भनेर अहिले किन भन्न सकिरहेको छैन ? यहाँ सबै कमाउनका लागि राजनीति गर्नेको ताँती छ त्यही भएर। गणतन्त्रलाई नै बदनाम हुने गरी हुन लागेको यो सुविधा वृद्धिले तमाम नेपालीको शिर झुकाएको छ। कोही सच्चा देशभक्त र जनताका लागि राजनीति गरिरहनुभएका दल र सांसद हुनुहुन्छ भने मैले समाचारपत्रको यस पाठकपत्रमार्फत अनुरोध गर्न चाहन्छु कि अब जनताका लागि राजनीति गर्नुस्।
– विनोदप्रसाद पाठक, मध्यपुर ठिमी, भक्तपुर

प्रतिक्रिया दिनुहोस्