कसरी विकास भयो अमेरिका



 

भगवती तिमल्सिना
नर्थक्यारोलिना, अमेरिका

हामी नेपालीहरुले युगौंदेखि मनाउँदै आएको दशैं आम नेपाली तथा हिन्दू धर्मावलम्बीका लागि निकै महत्त्वपूर्ण र ठूलो चाड हो। विशेष गरी दशैंमा देवी–देवताको आराधना, पूजा गर्ने र आफूभन्दा ठूला र मान्यजनसँग आशिर्वाद लिने र सुःख–दुःख साटासाट गर्ने महत्त्वपूर्ण चाड हो। यो चाडमा आ–आफ्ना गच्छेअनुसारको मिष्ठान्न भोजन, सफा र नयाँ कपडा लगाउने सफा र स्वस्थ भएर खुसी साट्ने पर्व हो।

यो पर्व सक्नेहरुका लागि दशैं र नसक्नेका लागि दशा हो भनेर बूढापाकाहरुले भन्ने गरेका कुरालाई ध्यानमा राखी आफ्नो आर्थिक र शारीरिक अवस्थालाई ध्यान दिएर मनाउनाले दशैं कसैका लागि पनि दशा बन्ने छैन। यो पर्वको महत्त्व निकै प्रशंसनीय र आवश्यक छ। हुनेखाने परिवारका लागि सधैं दशैं तर हुँदा खाने परिवार भने सधैं मेसिन जत्तिकै चलेको हुन्छ, कुनै पनि समय आराम र मीठो चोखो खान या सफा कपडा लाउनका लागि विशेष समय कुर्नुपर्ने हुन्छ। यो दशैंको महत्त्व हुनेखाने परिवारका लागि भन्दा हुँदा खाने परिवारका लागि निकै महत्त्व र कठिन हुँदै गएको छ।

हामी नेपालीलाई भए पनि नभए पनि देखासिखी गरेर ऋण काडेर भए पनि अरूले जे गर्छन् त्यस्तै गर्ने बानी छ। तर, विदेशी मुलुकहरुमा त्यस्तो हुँदैन सबैले आ–आफ्नो गच्छेअनुसार चाडपर्व मनाउँछन् र स्वास्थ्यको पनि ख्याल राखेर खानेकुरा तयार पार्छन्। राम्रो कुराको सिको हामी नेपालीले पनि गर्नु राम्रो कुरा हो। त्यसैले दशैंलाई स्वस्थ र स्वच्छ बनाएर मनाऔं सबै स्वस्थ भएर बाचौं।

यतिबेला विदेशी मुलुक अमेरिकामा रहेर नेपालीहरुको महान् चाड दशैंको चहलपहल हेर्दा लाग्छ हामी धेरै पछाडि पर्नुको कारण हाम्रो खानपान, व्यवहार, व्यायामलगायतका कुरामा विशेष ध्यान दिएर सक्रिय हुने हो भने हामी नेपाली पनि स्वस्थ र स्वच्छ भएर बाँच्न सक्नेछौं त्यसैले दशैंलाई देखासिखी हैन हैसियतअनुसारको व्यवहार गरेर अघि बढौं।

हो, विकसित मुलुकमा बसोबास गर्ने हरेक मानिसले पहिलो प्राथमिकता देशको कानुनको पालना गर्ने र त्यसमै रहेर रोजगारी, गाँस, बास र कपासको व्यवस्था गर्दा रहेछन्। विशेष गरी अमेरिकामा धेरै धनी, मध्यम, सामान्य र गरिब मानिस नभएका हैनन् तर यहाँका हरेक मानिस काम गरेर आफ्नो आवश्यकता आफैंले पूर्ति गर्नतर्फ लाग्नुपर्छ भन्ने कुरामा जोड दिँदा रहेछन्। यसो भनेर चाहिँ फट्याइँ नहुने भन्न खोजेको होइन, नेपालमा धेरै मानिस काममा भन्दा चिया पसल, चौतारी, राजनैतिक दलका कार्यालय, सार्वजनिकस्थलमा अनावश्यकरूपमा भेला हुने र एक–अर्काको व्यक्तिगत कुरा गरेर समय कटाउने गरेको पाइन्छ। तर, अमेरिकामा कोही कसैले कसैको कुरा गरेर, चिया पसलमा घण्टौं गफ गरेर, तास, क्यारिमबोर्ड खेलेर, राजनैतिक दलको झण्डा बोकेर समय बेथित गरेको देख्न पाइन्न।

विद्यार्थी तोकिएको समयमा विद्यालय जान्छन् नयाँ–नयाँ कुरा सिकेर आउँछन् र घरमा आएर बाबुआमासँग थप कुरा सिक्ने र दिनभरि सिकेका कुराका विषयमा छलफल गर्छन्। काममा जाने मानिस ठीक समयमा काममा जान्छन् र समयमै घर फर्कन्छन् कतै जुवाघर या पसलमा गफियर बस्दैनन्। बिहान उठ्ने, व्यायाम गर्ने, खाने, काममा जाने, कामबाट फर्कने, साँझमा घरपरिवारसँग बस्ने, खाने, हप्ता बिदामा घरको सरसफाइ, खानाको बन्दोबस्ती जस्ता तालिकामा चल्छन् र कसैको बारेमा कुरा गर्ने गर्दैनन्। यतिमात्र नभई यहाँका मानिसको खानपान, सरसफाइ, दिनचर्या सबै व्यवस्थित र मर्यादिन बनाउने बानीकै कारण धेरै स्वस्थ र सफा छन्। आफ्नो काम आफैं गर्ने अरूको मुख नताक्ने र कुनै पनि कामलाई सानो–ठूलो भनेर भेदभाव नगर्ने यहाँको नियमकै कारण पनि सबै मानिस एक–आपसमा श्रद्धापूर्वक बोल्छन् र व्यवहार पनि त्यस्तै गर्छन्।

नेपालको विकास निकै पछि पर्नुमा धेरै राजनैनिक दलहरुको विकास हुनु, कानुनी मान्यतालाई दलकै नेताहरुले मिच्नु, नैतिक जिम्मेवारी कसैले नलिनु, कामलाई सानो र ठूलो भनी फरक ज्याला, फरक व्यवहार गर्नु, आपसी समझदारी नहुनु, एकले अर्काको मर्का नबुझ्नु, अहमको भावना बढी हुनु र राज्य गैरजिम्मेवार बनेर जनताप्रतिको उत्तरदायित्वभन्दा धनाढ्यको पछि लागेर सर्वसाधारणको अधिकारलाई कुण्ठित पार्नुजस्ता क्रियाकलप नै विकासको मूल बाधक भएको छ।

अमेरिकाले करको मूल्यांकन गर्छ र विद्यालय शुल्क तथा बेरोजगार, वृद्धलाई आवश्यकताअनुसार राशन–पानीदेखि स्वास्थ्य उपचारमा समेत सहयोग गर्छ। यहाँ करा बुझाउन हरेक नागरिक बाध्य छन् किनकि हरेक सामानमा खरिद गर्दै ट्याक्स कटाइन्छ भने आयको करको आधारमा भविष्यको सुविधा वृद्धि हुने भएकाले यहाँ पनि ठूला व्यापारीले भन्दा सर्वसाधारणले नै नियमित कर तिर्ने गरेको पाइयो। व्यापारीको काट्रेलिङ यहाँ पनि छ। तर, सरकार तथा राजनैतिक दलहरुले नेपालमा जस्तो कानुनी दायरामा ल्याउने बाटोमा तगारो भने बन्दैनन्। जोसुकै व्यक्तिलाई कानुनीरूपमा कारबाही गर्न हस्तक्षेप नहुने भएकै कारण कोही कसैको आडमा रहेर कानुन मिच्ने काम गर्न हम्मेसी कसैले पनि आँट गर्दैनन्।
यहाँ बच्चा जन्मिएदेखि नै घरबाट नै देशको परिवेशअनुसारको नैतिक शिक्षा सिकाइन्छ र सोही अनुशासनमा रहेर अघि बढ्न कानुनले नै बाध्य बनाउँछ।

नेपालमा घोकन्ते शिक्षा कै कारण यतिबेला शैक्षिक बेरोजगारको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। यसो हुनुमा नेपालीको गलत सोच नै मुख्य दोषी देखिन्छ। तर, अमेरिकामा को पढेको को नपढेको सबैले राज्यको नियम कानुन बुझ्नै पर्छ र सोहीअनुरुपको व्यवहार गर्नैपर्छ। यहाँ कोही कसैले पनि बिनापारिश्रमिक कुनै पनि काम गर्नुपर्दैन। हरेक कामको पारिश्रमिक माग्ने र तोक्ने अधिकार स्वयम व्यक्तिमा पनि हुन्छ र कम्पनीहरुको नियमानुसार पनि हुन्छ। काम गर्नेको हरेक क्षेत्रमा कदर र सम्मान हुन्छ।

हरेक अभिभावकले आफ्नो बच्चाको भविष्य राम्रो होस् भन्ने नै चाहन्छन् र नैतिकवान, मेहनति, क्रियाशील होस् भन्नका लागि जन्मेदेखि नै सुनेर, छोएर, सुघेर, हेरेर सिक्ने कुराहरुमा बढी व्यवहारिक ज्ञानमा जोड दिने गर्दछन्। एउटा बच्चाले तोतेबोली बोल्दादेखि नै यस मुलुकमा पाइने खानेकुरा, सवारीसाधन, पर्यटन क्षेत्र, मनोरञ्जनका क्षेत्र, माध्यम, सरसफाइ, खानपान, दैनिकी, दिनचर्याका बारेमा व्यवहारिकरूपमै बाबुआमाबाट सिक्नै पर्नेरहेछ। नेपालमा जस्तो घोकाएर सिकाउने नभई व्यवहारिक जीवनमा नजानिँदो तरिकाले दैनिक खाने खानाजस्तै गरी नैतिक शिक्षा, आर्थिक अवस्था, व्यवहारिकताका बारेमा सिकाइँदो रहेछ। बच्चालाई स्कुल पठाउन हतार गर्नुभन्दा पनि व्यवहारिक र साँवा अक्षरका बारेमा बच्चाले घरमै सिकोस् भनेर खेलका माध्यमबाट हरेक वस्तुको नाम, अक्षर चित्रांकित खेलौना तथा अडियो, भिडियोका माध्यमबाट खेलमै समावेश गरेर सिकाइन्छ। त्यसैले त पहिलो शिक्षक बाबुआमा, पहिलो विद्यालय घर नै हो भन्नुको सार्थकता यहाँ व्यवहारिकरूपमै देख्न पाइयो।

यहाँ बच्चाले खेल्ने बेलामा अभिभावक पनि सँगै बसेर खेल्ने र खेलको माध्यमबाट शिक्षा दिने गर्दछन्। तर, नेपालको परिवेशमा भने अभिभावकले पढ–पढ भन्दै आफ्नो काममा या गफ गरेरअर्थात् टिभी हेरेर बस्ने गर्छन् भने कतिपयले बच्चालाई पढाउने भनेको किताब घोकाउने मात्र हो भन्ने बुझेका छन्। विद्यालयहरुमा पनि घोकाइमै आधारित शिक्षा भएकाले यो वास्तवमै व्यवहारिक हुन सकेको पाइन्न। अमेरिकामा भने शिक्षा भनेको व्यवहारिक ज्ञान हो र सीप सम्पत्ति हो भनेर हेरिने भएकै कारण सबैले व्यवहारिक ज्ञान र सीपलाई मूल शिक्षाको रूपमा अपनाएकै छन्। यहाँ कति पढाइ छ भनेर सोधिन्न कामको बारेमा ज्ञान छ कि छैन? के काम जानेको छ भन्ने बारेमा सोधिन्छ र सोहीअनुसार काम दिइन्छ। विद्यार्थीलाई विद्यालयमै पैसा कसरी कमाउने भन्ने बारेमा व्यवहारिक शिक्षा दिनलाई सुपरमार्केट या घर–घरमा गएर सामान बेच्न सिकाइन्छ। गाडी कसरी गुडाउने के गर्न हुन्छ के गर्न हुन्न विद्यालय शिक्षामा नै सिकाइन्छ। दैनिक उपभोगका सामान कहाँबाट कसरी किन्ने र कसरी पैसा तिर्ने पनि विद्यालयबाट सुपरमार्केट लगेर सिकाइन्छ। साथै अभिभावकले पनि सिकाउने गर्छन्। यहाँ विद्यालय शिक्षामा होस् या घरमा ज्ञान र सीपलाई नै जोड दिने गरेकै कारण अमेरिका वास्तवमै अमेरिका बनेको हो।

सरकारी जागिरबाट अवकास भएका व्यक्ति हुन् या दैनिकी गरेर जीवनयापन गर्ने हुन् सबैले आ–आफ्नो काम आफैं गर्छन् र राज्यलाई बचाइराख्ने मूल आधार कर तिर्छन्। यहाँको शिक्षा भ्रमण पनि हो। बालबच्चालाई सानैदेखि चिडियाघर लाने, हरेक वस्तु देख्न र सुन्नतर्फ प्रत्यक्ष सहभागी गराउने, पार्क, सिनेमा घर (भुभिथेटर) होटल, रेस्टुरेन्ट, महल, सुपर मार्केट, एयरपोर्ट, रेल, गाडी, किचन, फ्रिज, हवाईजहाज, पाइलट, शिक्षक, कुर्सी, टेबुल, ब्याग, बुकजस्ता हजारौं विषयवस्तुलाई नियाल्न र सिक्न सकून भनेर घरमै खेलौनाका माध्यमबाट सिकाइन्छ। यसो भएकै कारण पनि यहाँका बच्चा राम्रोसँग बोली फुड्दासम्म हरेक वस्तु स्पष्टसँग चिन्न र नाम उच्चारण गर्न सक्ने हुन्छन्। स्वस्थ खानपान, व्यायाम, आफूले सक्ने काम सबैले गर्ने, बच्चादेखि बूढासम्म सबैले सक्ने काम गर्ने हो भने नेपाल वास्तवमै स्वर्ग नै हुने थियो। यसका लागि कामको महत्त्व र पारिश्रमिक व्यवहारिकरूपमै दिने गर्नु अर्को महत्त्वपूर्ण पाटो हुन आउँछ। यस विषयमा हामी नेपालीहरुले पनि हैसियत राख्नका लागि पहिलो त कोर्षबुक नै व्यवहारिक शिक्षा हुनुपर्छ भने सरकारले शिक्षाका माफियाको जालमा फसेर आम नेपालीको भविष्य अन्धकार बनाउने कूबुद्धिलाई त्यागेर व्यवहारिक शिक्षा दिनेतर्फ केन्द्रित हुनुपर्छ।

यतिमात्र हैन अमेरिकामा श्रमको मूल्य राम्रो पाउँछन् र त हरेक व्यक्ति आफ्नो घर कसरी चलाउने बच्चा कसरी पढाउने भन्ने चिन्ता गर्नुपर्ने दंगाफसादमा छैनन् र हुरीबतास, पानी, सामुन्द्रिक आँधी जे–जे भए पनि एकजुट भएर सहयोगमा जुट्छन् र परेको ठाउँमा सहयोग गर्न सक्छन्। यिनै कारणले यहाँ दुःखमा पर्नेले पनि छिटै दुःख बिर्सिएर नियमित काममा निस्कन हिम्मत गर्छन्। नेपालमा त दैवी प्रकोपमा परेकालाई भनेर कसैले दयाँले सहयोग दियो भने पनि हुनेखानेको घरमा पुग्छ। सरकारको कमजोरी र नेताहरुको लालची स्वभावकै कारण नेपाल झन्–झन् पछि पर्दै गइरहेको छ। यहाँबाट नेपालका नेताहरुले कहिले सिक्ने ?

प्रमको अमेरिका भ्रमणले नेपालले के पायो ?
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रभणमा आउँदा देखिएका केही टिठ लाग्दा दृश्यहरु एनआरएनले नेपालमा बसेका नेपालीका लागि भन्दा पनि आफ्नो व्यापार बिजनेसलाई फाइदा पुग्ने कानुन बन्नुपर्ने, मेडिकल कलेज काठमाडौंमै खुल्नुपर्ने, लगानीको मुनाफाका लागि कानुन यस्तो या त्यस्तो बन्नुपर्ने, जस्ता अनगिन्ती प्रस्ताव अघि सार्दै चाकडी गरेका दृश्य निकै लज्जास्पद र घृणित थिए। देशका प्रधानमन्त्री जस्ता व्यक्ति अन्तर्राष्ट्रिय भ्रमणमा आउँदा जुन किसिमको कूटनैतिक सम्बन्ध विस्तार हुनुपर्ने हो त्यस्तो भएको पाइएन्। वरिपरि नेपालमा जस्तै नेपालीले घेरेर यो या त्यो प्रस्ताव र सेल्फी, ग्रुप फोटा खिचाउनमा व्यस्त हुनु, तिनै नेपालीले जता–जता भन्यो उतै–उतै कुद्नुले पनि प्रधानमन्त्रीको मूल्य र मान्यता कति उच्च रह्यो भन्ने स्पष्टै हुन्छ। यस्तै नेताहरु र विदेशमा बसेर ठूलै नेता हुँ भने भ्रममा रहेका मुठ्ठीभर व्यक्तिकै कारण आम नेपाली अवसरबाट वञ्चित हुनुका साथै नेपालको विकासमा पूर्णविराम लागेको हो।

प्रतिक्रिया दिनुहोस्