डा. केसी १२औं अनशनमा



 

प्रशान्त वली, काठमाडौं
प्राध्यापक डा. गोविन्द केसीले १२औं पटक आमरण अनशन शुरू गर्नुभएको छ। डा. केसीले सोमबार शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षाको विकृति रोक्न अनशन शुरू गरेको बताउनुभएको थियो। यसअघि डा. केसीले असोज २० गतेदेखि अनशन बस्ने बताउँदै आउनुभएको थियो।

राजनीतिक दलका नेतृत्व तहबाटै आन्तरिक चलखेलमार्फत चिकित्सा शिक्षा विधेयक गुपचुपरूपमा पारित गराउने तयारी भएको जानकारी पाएपछि त्यसका विरुद्ध आकस्मिकरूपमा अनशन बस्न बाध्य भएको जानकारी दिनुभयो।
जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको दाबी गर्दै डा. केसीले अनशन थालेको बताउनुभयो। डा. केसी शिक्षण अस्पतालमै अनशन बस्नुहुने भएको छ।

माथेमा प्रतिवेदन परिमार्जन गरी तत्काल चिकित्सा शिक्षा ऐन पारित हुनुपर्ने, सरकारले तोकेकै शुल्कमा एमबीबीएस पढाइ हुनुपर्ने डा. केसीको माग छ। चिकित्सा शिक्षा विधेयकमा पहिले नै आशय–पत्र लिएर भौतिक पूर्वाधार तयार पारिसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने व्यवस्था गरिएको भन्दै डा. केसीले आपत्ति जनाउँदै आउनुभएको छ। संसद्मा विचाराधीन अवस्थामा रहेको चिकित्सा शिक्षा विधेयक अघि बढाउने आन्तरिक तयारी सरकारले गरेको छ।

मेडिकल माफियासँगको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैधरूपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय खारेज गरी सरकारले तोकेबमोजिम काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार, उपत्यकाबाहिर ४२ लाख ४५ हजार तथा बीडीएसका लागि १९ लाख ३२ हजार ६ सय १२ रुपियाँ कायम हुर्नुपर्ने माग उहाँले गर्नुभएको छ। माफियासित मिलेमतो गरेर अर्बौं रुपियाँका चलखेल गर्ने काठमाडौं विश्वविद्यालयका डीन राजेन्द्र कोजुलाई बर्खास्त गरेर कारबाही गर्नुपर्ने डा. केसीले माग गर्नुभएको छ।

यस्तै डा. केसीले आयल निगमका पूर्वप्रमुख गोपाल खड्कामाथि छानबिन गरेर हिनामिना गरेको अर्बौं रुपियाँ असुलेर कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग अपिल गर्नुभएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापन शुरू गर्न डा. केसीले माग गर्नुभएको छ।

साउन अन्तिम साता तराईका विभिन्न जिल्लामा बाढीले विषम परिस्थिति निम्त्याएको भन्दै डा. केसीले ११औं पटकको २३ दिन लामो अनशन गत साउन ३१ गते तोड्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्