टिकट लिन शीर्ष नेताको घर चाहार्नेको भीड



 

मधुसूदन रायमाझी, काठमाडौं
आगामी मंसिर १० र २१ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दलका शीर्ष नेताको घरमा भिड लाग्न थालेको छ। पार्टीमा टिकटका लागि चर्को प्रतिस्पर्धा देखिएको छ।

पार्टीभित्र आन्तरिकरूपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट लिनका लागि निर्वाचन क्षेत्रबाट नै सिफारिस भएर आउनुपर्ने प्रावधान रहेको छ।
सिफारिसमा पर्नका लागि पनि उम्मेदवारका आकांक्षी पार्टीका शीर्ष नेताको घरमा अड्डा जमाउन थालेका छन्।

सत्तारूढ दल नेपाली कांग्रेसका सभपातिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा हुनुहुन्छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालाको निवासमा टिकटका लागि आकांक्षीको भीड लागेको छ। हरेक पार्टीभित्र गुट उप–गुट झाँगिँदै जाँदा टिकट पनि गुटकै आधारमा प्रदान गरिने परम्परा बस्ने खतरा बढ्दै गएको छ।

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ। प्रत्यक्षसँगै समानुपातिक उम्मेदवारका पनि नाम सिफारिस गर्न कांग्रेसले सम्बन्धित निर्वाचन क्षेत्रलाई निर्देशन दिइसकेको छ।
नेकपा एमालेभित्र पनि टिकट पाउनका लागि शीर्ष नेताको निवासमा भिड लागेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल निवासमा टिकटका लागि भिड लागेको छ। एमालेभित्र निर्वाचनपूर्व नै भावी प्रधानमन्त्री र प्रदेशसभाको मुख्यमन्त्री घोषणा गरेर जाने कि नजाने भन्ने विषयमा विवाद उत्पन्न भएको छ।

पार्टीमा योगदान गरेको क्षमता भएको व्यक्तिलाई भन्दा पनि आर्थिकरूपमा बलियो हुनेले पछिल्लो समयमा टिकट पाउने प्रचलन बढेको भन्दै राजनीतिक पार्टीभित्र असन्तुष्टि पनि बढ्दै गएको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’लगायत नेताका निवासमा उम्मेदवारका आकांक्षीको भीड लागेको छ।

माओवादीले केन्द्रले पनि सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठ्ने उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ। माओवादी केन्द्रले कतिपय निर्वाचन क्षेत्र र प्रदेशसभाको मुख्यमन्त्रीको समेत घोषणा गरिसकेको छ।

प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलको ध्यान प्रतिनिधिसभा र प्रदेशसभामा केन्द्रित भएको छ। आगामी निवाचनमा पहिलो पार्टी हुने दाबीसहित तीन ठूला राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन्। राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम नेपाललगायतका पार्टीका नेता पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको निर्वाचनका लागि उम्मेदवार छनोटमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्