संगीतमा अनुपम अटल सार्वजनिक



 

गीतकार अर्जुन थापाको अनुपम अटल शीर्षकको गीति अडियो एल्बम शनिबार राजधानीमा सार्वजनिक गरिएको छ। गीतकार रत्नशमशेर थापा, गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम, गीतकार तथा कवि दिनेश अधिकारी, गीतकार डा. कृष्णहरि बराल, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, विन्ध्यवासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुवास रेग्मीलगायतले एल्बम सार्वजनिक गरेका थिए।

विन्ध्यवासिनी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको एल्बममा ७ गीत संगृहित छन्। सबै गीतमा शब्द अर्जुन थापा र संगीत राजेश थापाले दिएका छन्। एल्बममा रहेको फूलझैं फलोस् भन्छु जीवन बोलको गीतमा रामकृष्ण ढकाल, रहर चढ्यो यो मनमामा मेलिना राई, दोषी हो कि नजर मेरोमा निकिता थापा, छड्के कपाल कोरेकी किनमा सुमन क्षेत्री, चम्किन्छ चन्द्र सूर्यमा सन्तोष लामा र मनिषा राई, सपनीमा आउँछ्यौ तिमीमा राजेशपायल राई र परदेशबाट घरदेश आउँलामा गीतकार थापाकै स्वर रहेको छ।

कार्यक्रममा फूलझैं फुलोस् भन्छु जीवन बोलको गीतको भिडियोसमेत रिलिज गरिएको थियो। युवराज वाइबाले निर्देशन गरेको भिडियोमा रामकृष्ण ढकाल र रीमा विश्वकर्माले अभिनय गरेका छन्।

कार्यक्रममा बोल्दै गीतकार थापाले रोजगारको सिलसिलामा करिब ६ वर्षअघि अमेरिका पुगे पनि आफूभित्रको कला रहिरहेको र एल्बम प्रकाशित गरेको बताए। एल्बमको समीक्षा गर्दै गीतकार कृष्णहरि बरालले माया पिरती, जीवनमा भोगिने तीता पक्ष, देशप्रेमलगायतका भाव बोकेको रहेको चर्चा गरे।

त्यस्तै गीतकार दिनेश अधिकारीले कुनै एउटा स्रष्टाको रचनाले अर्काे स्रष्टालाई प्रभावित पार्दछ भने त्यो रचनालाई राम्रो मान्नुपर्ने तर्क दिए भने संगीतकार दीपक जंगमले कुनै पनि रचना राम्रो र नराम्रो भनेर छुट्याउनुभन्दा पनि परदेशमा रहेर भएको यस्तो प्रयासलाई बधाई दिनुपर्ने धारणा राखे। गायक प्रेमध्वज प्रधानले लय, संगीत र गीतको उचित संयोजनबाट सुगम संगीतमा सो एल्बमले ठूलो योगदान पुर्याउनुपर्ने चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्