चर्च ब्वाइज फाइनलमा



 

विर्तामोड, (नेस)
काठमाडौंको चर्च ब्वाइज युनाइटेड झापाको शिवशताक्षी नगरपालिकामा जारी प्रथम दुधे गोल्डकपमा मोरङ–११ माथि सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङ ११ लाई ४–० गोल अन्तरले पाखा लगाउँदै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो। योसँगै चर्च ब्वाइजले कम्तीमा १ लाख ५१ हजार रुपियाँ सुरक्षित गरेको छ। पहिलो हाफको १०औं मिनेटमा अरुण श्रेष्ठले पहिलो गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए।

मोरङका गोलरक्षक सूर्य अधिकारी हिलाम्मे मैदानका कारण लड्दा श्रेष्ठले गोल गरेका हुन्। ३२औं मिनेटमा चर्च ब्वाइजका लागि विदेशी खेलाडी अलिवा मेसीले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले डी–बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

दोस्रो हाफको १४औं मिनेटमा चर्च ब्वाइजका अर्का विदेशी खेलाडी अजय मार्टिनले गोल थप गोल गर्दै चर्च ब्वाइज अग्रता ३–० बनाए। यस्तै, दोस्रो हाफकै २३औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल तथा चर्च ब्वाइजका लागि चौथो गोल गर्दै अन्तरलाई फराकिलो बनाए। उनले डी–बक्स बाहिरबाट गरेको कडा प्रहार गोलरक्षक अधिकारीको हातबाट फुत्किएर जाली चुमेको थियो।

खेलमा २ गोल गरेका चर्च ब्वाइजका अलिबा मेसी म्यान अफ दि म्याच घोषित भए। उनले नगद ५ हजार पाए। सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र विभागीय टोली एपीएफबीच अन्तिम सेमिफाइनल हुनेछ।

प्रतिक्रिया दिनुहोस्