दुवै रुकुम जिसस माओवादीको कब्जामा



 

नेपाल समाचारपत्र
रुकुम
रुकुमको पूर्वी र पश्चिम दुवै जिल्लामा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निवार्चित भएका छन्। ६ स्थानीय तह रहेको पश्चिम रुकुम र ३ स्थानीय तह रहेको पूर्वी रुकुममा माओवादी केन्द्रले नै विजय हासिल गरेको थियो। सोहीअनुसार जिल्ला समन्वय समितिको निवार्चनमा पनि माओवादी केन्द्रको मात्र उम्मेदवारी परेपछि ९ गते हुने जिल्ला समन्वय समितिको निर्वाचन नै नभइ ८ गते अर्थात् आइतबार निर्विरोध निवार्चित भएको घोषणा गरिएको हो। दुवै जिल्लाको एकै ठाउँमा शपथ खुवाइएको हो।

सपथ खाएसँगै पश्चिम रुकुमका जिल्ला समन्वय समितिका संयोजक राजकुमार शर्मा र पूर्वी रुकुमका जिल्ला समन्वय समिति संयोजक गजेन्द्र ओलीले एउटै भवनमा छुट्टाछुट्टै कार्यालय स्थापना गरी पदभार संहालेका छन्। उनीहरूले दुवै जिल्लालाई राम्रो बनाउन सबैसँग सहकार्य गरेर काम गर्ने जानकारी दिए।

जिल्ला दुईवटा भए पनि एक आपसमा मिलेर काम गर्ने उनीहरूको भनाइ थियो। पूर्वीरुकुमका जिल्ला समन्वय समितिका संयोजक गजेन्द्रबहादुर ओलीले जिल्लाको समग्र विकासका लागि कुनै पनि दलगत स्वार्थमा नलागेर काम गर्ने बताए।

पूर्वी रुकुमका मुख्य निवार्चन अधिकृत चुडामणि खड्का र पश्चिम रुकुमका मुख्य निर्वाचन अधिकृत डण्डपाणि शर्माले उनीहरूलाई शपथ खुवाएका हुन्। यसै गरी पुर्वी रुकुमको उपसंयोजकमा भीमकुमारी पुन र पश्चिम रुकुमका उपसंयोजकमा इन्दिरा बीएम नाथ निर्विरोध निवार्चित भएका हुन्।

पूर्वी रुकुमको सदस्यमा दयालसिंह पुन, धनीमान बुढा, महेन्द्र मल्ल, आस्था विक, रिता कामी, विष्णु नेपाली र जनक कामी निवार्चित भएका हुन्। यस्तै पश्चिम रुकुमको सदस्यमा धनवीर ओली, टेकबहादुर ओली, अमृत बोहरा, चमेली सुनार, विष्णु सुनार, नउम घर्ती र निर्मला रसाइली निवार्चित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्