ट्विटका कारण मिस टर्कीको ताज चट



 

इस्तानबुल, (एजेन्सी)
मिस टर्की–२०१७ का विजेताको शनिबार ताज खोसिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। १८ वर्षीया सुन्दरी इतिर एसेनले विगतमा गरेको एउटा ट्विटका कारण उनीमाथि सो कारबाही भएको बताइएको छ।

उनले गत वर्ष राष्ट्रपति रिसिप तायिप एर्दोगानविरुद्ध भएको असफल सैनिक विद्रोहलाई लिएर आफ्नो मासिक श्रावलाई शहीदहरूको पोखिएको रगतसँग तुलना गरेकी थिइन्। उक्त सौन्दर्य प्रतियोगिताका आयोजकहरूले उनको त्यो ट्विट अस्वीकार्य रहेको र उनले प्रतियोगिता जितेको केही घण्टापछि नै आफूहरूले ताज फिर्ता लिने निर्णय गरेको बताएका छन्।

यस घटनापछि एसेनले भने इन्स्टाग्राममार्फत् आफू राजनीतिज्ञ नभएको मात्र बताएकी छिन्। उनले असफल सैनिक विद्रोहको पहिलो वर्षगाँठ १५ जुलाईमा सो ट्विट गरेकी थिइन्। सैनिक विद्रोहलाई दमन गर्ने क्रममा झण्डै २ सय ५० जनाको ज्यान गएको थियो।

उनले ट्विटमा लेखेकी थिइन्– ‘जुलाई १५ को शहीद दिवस मनाउने क्रममा आज बिहानदेखि रजश्वला शुरू भएको छ। मैले यो दिवसलाई आफ्नो रक्तश्रावलाई शहीदहरूको रगतसँग तुलना गरेर यो दिवस मनाउँदै छु।’ राष्ट्रपति एर्दोगानले पटक–पटक उक्त विद्रोह दबाउने क्रममा ज्यान गुमाउनेहरूलाई शहीदको संज्ञा दिँदै आएका छन्।

सौन्दर्य प्रतियोगिताका आयोजकहरूले गत बिहीबार इस्तानबुलमा कार्यक्रम सकिएपछि मात्र ट्विटबारे जानकारी मिलेको बताएका छन्। एसेनले आफूले पनि मातृभूमिको सम्मान गर्दै आएको र जानी⁄नजानी आफूबाट केही गल्ती भएको खण्डमा माफ गर्न भनेकी छिन्।

अब सो प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने एस्ली समेनले चीनमा आयोजना हुने मिस वल्र्ड प्रतियोगितामा टर्कीको प्रतिनिधित्व गर्ने भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्